विदेशबाट सामान आयात गर्दा देशको अर्थतन्त्र कमजोर भयोः मन्त्री बराल

समाधान संवाददाता २०७९ भदौ २३ गते १५:४७

पोखरा ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले नेपालमा उत्पादनको प्रवल सम्भावना हुदाँ हुदैं करिब ४ खर्ब भन्दा बढीको खाद्य पदार्थ विदेशबाट भित्राउनु परेकाले नेपालको अर्थतन्त्रलाई कमजोर बनाएको बताएका छन् । पोखरा २ को समदर्शी महिला बचत तथा ऋण सहकारी संस्था विहिबार पोखरामा सम्पन्न भएको १३ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै ‘नेपालमा कुनै पनि ठाँउमा मरुभूमि त छैन नी, यहाँ जहाँ जे रोपे पनि फल्छ,’ उनले भने ।


मन्त्री बरालले सहकारीहरुलाई उत्पादन सहित कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । सहकारीले आफ्नो उद्धेश्य अनुरुप काम कमैले गरेको उल्लेख गर्दै उत्पादन सहित कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । उनले महिलाको जीवन माथी उठाउन उत्पादन र उद्यमशीलतातर्फ केन्द्रित हुदैं कृषि क्षेत्रलाई प्रथामिकता दिएमा राज्यले सहयोग गर्ने बताए ।


उपभोक्ता सहकारी संघकी केन्द्रिय सदस्य चन्द्रकुमारी ढकाल (पराजुली) ले एक सहकारी एक उत्पादन अभियान सफल पार्न सबै लाग्न आग्रह गरिन् । आम्दानीसँगै बचत गर्न उनको सुझाव थियो । राष्ट्रिय सहकारी बैंक पोखरा न्यूरोड शाखाका गणेश पाण्डेले सहकारीहरुमा कम उद्यमशिलता भएको र सरकारबाट सहकारीमा हुने अनुदान उचित ढंगले प्रयोग नभएको दाबी गरे । जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेले उत्पाादनशिल उद्योग समेत स्थापना गर्न आग्रह गरे । संस्थाका उपाध्यक्ष प्रमिला तुलाचनले महिलाहरुको जीवनस्त उकास्न यस सहकारीले महत्वपुर्ण भुमिका खेलेको दाबी गरिन् ।

Advertisement


संस्थाका अध्यक्ष मैनादेवि रावलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लेखा समितिका संयोजक पिमला शर्मा, सचिब रिक माया गुरुङ, सदस्य मिना कुमारी ढकाल लगायतले बोलेका थिए । उक्त अवसरमा उत्कृष्ट कारोवार गर्ने सिता भुजेल, उत्कृष्ट बचत कर्तामा लक्ष्मि अधिकारी दाहाल, उत्कृष्ट कर्जा तर्फ यूनिका तामाङ र बिषेश बचत कर्तामा विनिता भट्टचन गौचन घोषित भएका छन् ।


४ सय ९० जना शेयर सदस्य रहेको उक्त सहकारीमा शेयर पूंजि भने २ करोड ३५ लाख ५८ हजार रहेको छ । त्यसै गरी सहकारीले ४ करोड ९७ लाख ५ हजार ९ सय ८२ रुपैया ऋण लगानी गरेको छ । पोखरा २ मा कार्यालय रहेको उक्त सहकारीको पोखरा २, ३, ४, ५, ६, ७, ८, ९ र १७ वडाहरुमा कार्य क्षेत्र रहेको छ । १३ बर्ष अघि २८ जना शेयर सदस्यबाट उक्त सहकारी सुरु भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया