काे हाेला वर्ष खेलाडी महिला ?

समाधान संवाददाता २०८१ वैशाख २६ गते ९:५३

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २८ गते हुँदै छ । अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका ३ खेलाडीको नामसमेत सार्वजानिक भएको छ । वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मीता थापामगर परेका छन् ।


अनुस्का शेरचन (आर्चरी)
अनुस्का बल्ल १७ वर्ष पुगिन् । ११ वर्ष हुँदा आर्चरीमा प्रवेश गरेकी उनी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भइन् भने नवौँमा पदक हाँसिल गरिन् । आर्चरीप्रति इच्छा जाहेर गरेपछि परिवारले उनलाई समर्थन गर्दै प्रशिक्षणको वातावरण बनाएको छ ।


२०८० मा अनुस्काले इराकको बागदादमा भएको एसिया आर्चरी कपमा उनी दोस्रो चरणसम्म पुगिन् । उनको ०८० को मुख्य उपलब्धि पोखरामा भएको ११ औं राष्ट्रिय च्याम्पियनसिपमा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण र मिक्स टिममा स्वर्ण पदक हो ।

Advertisement


अरुणा शाही (भलिबल)
म्याग्दीको रघुगँगा गाउँपालिकाकी अरुणा शाही नेपाली महिला राष्ट्रिय टिम कप्तान हुन् । विद्यालयबाट खेल जीवनको सुरु गर्दा१३ वर्षकी थिइन् । अरुणाले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरिन् ।

त्यसयता नियमित राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाइराख्न सफल अरुणाले भारतसँगको मैत्रीपूर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्दै भलिबलमा जमेकी छन् ।

Advertisement


अरुणा सन् २०१९ मा राष्ट्रिय टोलीको कप्तानमा नियुक्त भइन् । अरुणाको कप्तानीमा नेपालले सन् २०१९ मा बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप खेल्दै २० वर्षपछि अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताको उपाधि जितेको थियो ।

उनकै कप्तानीमा रहेको टोलीले ०८० मा चीनमा भएको १९ औं एसियाडमा पहिलो पटक सहभागिता जनायो । ०८० मै काभा कपमा कास्य पदक जित्यो । उनको कप्तानीमा गण्डकी प्रदेशको टोलीले टाइगर कप, अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा रजत र पाल्पामा भएको महिला राष्ट्रिय भलिबल प्रतियोगिता सहभागी भएको थियो ।


सुस्मिता थापामगर (आइटिएफ तेक्वान्दो)
बागलुङको बडिगाड गाउँपालिका वडा नं १० को साधारण परिवारमा जन्मिएकी सुस्मिता थापामगर आएटिएफ तेक्वान्दो खेलाडी हुन् । कक्षा ६ मा पढ्दा भलिबल खेलेकी उनी २०७४ कात्तिमा भानु निम्न माध्यामिक विद्यालयमा रवीन्द्र बुढामगरले आइटिएफ तेक्वान्दो दोजाङ सञ्चालन गरेपछि यसतर्फ आकर्षित भएकी हुन् । २०७४ मंसिर १६ देखि उनले औपचारिक रुपमा गुरुबाट आइटिएफ तेक्वान्दो सिक्न सुरु गरिन्, जुन बेला उनी कक्षा ८ मा पढ्थिन् ।


निगलापनी आइटिएफ तेक्वान्दो डोजाङकै उत्कृष्ट खेलाडी बनेकी उनले आठाैं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक हासिल गरिन् । उनले १ स्वर्ण र २ रजत पदक जितेकी थिईन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीलाई २ पदक दिलाउन सफल रहिन् । उनले एक स्वर्ण र एक रजत पाइन् ।


०८० मा उनी खर्च जुटाएरै काजकिस्तानमा भएको २२ औं वल्र्ड आइटिएफ च्याम्पियनसिपमा सहभागी भइन् । ११ औं नेसनल जेनेरल चोइ आइटिएफ तेक्वान्दो डो च्याम्पियनसिप एकलतर्फ १ स्वर्ण, टिम प्यार्टन १ स्वर्ण, व्यक्तिगत १ कास्य हासिल गरिन् भने ८ औँ नेसनल प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिपमा व्यक्तिगततर्फ १ स्वर्ण प्राप्त गरिन् ।

तपाईको प्रतिक्रिया