अन्नपूर्ण केबल कार चढेर पञ्चमुखी गणेशको दर्शन

समाधान संवाददाता २०७९ भदौ २४ गते १६:२९

पोखरा ।
फेवातालको किनारबाट सराङकोटको डाँडासम्म अचेल १० मिनेटभन्दा कमै समयमा पुगिन्छ । अन्नपूर्ण केबल कार बनेपछि पर्यटकलाई सराङकोट पुगेर झुल्के घाम र सूर्यास्त हेर्न जान आउन सजिलो भएको छ । सराङकोट अन्नपूर्ण हिमशृंखला र फेवातालको दृश्य पनि हेर्न जाने गन्तव्य हो । त्यतिमात्रै होइन अन्नपूर्ण केबल कार चढेर जाँदा अब भने पञ्चमुखी गणेशको दर्शन पनि गर्न पाइने भएको छ ।


सराङकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिले डाँडाको टाकुरामै पञ्चमुखी गणेश मूर्ति स्थापना गर्न लागेको छ । अन्नपूर्ण केबल कार प्रालिका अध्यक्ष कालु गुरुङको अध्यक्षतामा मूर्ति निर्माण उपसमिति गठन भएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बुधबार मूर्ति स्थापनाका लागि शिलान्यास तथा भूमिपूजा गरे ।


त्यस अवसरमा मेयर आचार्यले पञ्चमुखी गणेश मूर्ति बनेपछि सराङकोटमा पर्यटकको बसाइ लम्बिने विश्वास व्यक्त गरे । उनले पर्यटकीय विकासका लागि महानगरको सहयोग हुने आश्वासनसमेत दिए । अन्नपूर्ण केबल कारका निर्देशक तीर्थराज त्रिपाठीले गणेशको मूर्ति निर्माण आउँदो शिवरात्रिभित्रै पूरा गरिने जानकारी दिए । ‘द्रुत गतिका काम गर्ने हो,’ उनले भने । केबल कारका अध्यक्ष गुरुङको उपसमितिले निर्माण पूरा गरेपछि सराङकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिलाई हस्तान्तरण गरिने बताए । मूर्ति निर्माण गर्न ५ देखि ९ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

Advertisement


समितिका अध्यक्ष प्रेमबहादुर जिसीले गणेश मूर्ति ६१ फिट अग्लो हुने जानकारी दिए । ‘सराङकोटको डाँडाको टावरभन्दा केही होचो हुनेछ,’ उनले भने । पञ्चमुखी गणेशको मूर्ति नेपालमै पहिलोपटक निर्माण गर्न लागिएको उनले सुनाए । दक्षिण भारतमा मात्रै यस्तो मूर्ति रहेको उनको भनाइ थियो । पञ्चमुखी गणेश मूर्ति दर्शनका साथै पोखराको दृश्यावलोकनको स्थान पनि यो परियोजनामा समेटिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया