मेयरसँग पाेखरेलीकाे गुनासोः फोहोर र पार्किङ

सञ्जय रानाभाट २०७९ भदौ ३१ गते १०:५८

सञ्जय रानाभाट ।
पोखरा
पोखरा महानगरले भदौ ११ गतेबाट सुरु गरेको हेल्लो मेयर कार्यक्रममा प्रत्येक दिन केही न केही गुनासा टिपाइन्छन् । गत बुधबार एक उपभोक्ताले फोन गरे । मालेपाटन विद्युत कार्यालयमा पार्किङ गर्न नपाएको भन्दै हेल्लो मेयर कक्षका कर्मचारीलाई उनले सबै विवरण सुनाए ।

‘पोखरा मालेपाटनमा रहेको बिजुली अफिसमा महशुल तिर्न जाँदा पार्किङ गर्न पाइनँ । बिजुली अफिसभित्र पार्किङ गर्ने ठाउँ भए पनि भित्र सवारी लैजानै दिँदैन । लौ न हजुर, मैले के गरौं ? मेयरलाई भनेर सहज पार्किङ गर्न मिल्ने व्यवस्था गरिदिनुपर्‍यो,’ टेलिफोनमा उनले भने ।

बिजुली अफिस जस्तो महिनामा १ पटक जाने ठाउँमा पनि पार्किङ नपाएका यी पात्र प्रतिनिधिमात्रै हुन् । पोखराका मुख्य बजार, चोकमा सवारीको चाप उच्च हुन्छ । दुई पांग्रे सवारी नै पार्किङ गर्ने ठाउँ भेट्न मुस्किल पर्छ । मुख्य चोकहरु महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, नयाँबजार, अमरसिंहचोक, लेकसाइड र पृथ्वीचोकमा सवारी साधन पार्किङ गर्न हत्तपत्त ठाउँ पाइन्न ।

Advertisement

अफिस समयमा चार पांग्रे सवारी पार्किङ गर्न पनि उस्तै धौ छ । चार पांग्रे सवारी धनीले दुई पांग्रे सवारी लिएर बजार डुल्नुपर्ने अवस्था छ । पार्किङ गर्न अर्को व्यक्तिले कुन बेला सवारी साधन निकाल्छ, हेरेर बस्नुपर्छ । कुनै बेला त्यो पनि पाइँदैन ।
हेलो मेयरमा आउने अरु गुनासा सडक, पानी, बिजुली र फोहोरका छन् । धेरै जस्तो जग्गा विवादका पनि छन् । कतिपयले नक्सा पास नगरी संरचना बनाएको गुनासो पनि सुनाउने गरेको हेल्लो मेयर कक्षकी कर्मचारी माया गुरुङले बताइन् ।

उनका अनुसार हेल्लो मेयरमा जिल्ला प्रहरी कार्यालयबाट समेत गुनासो आएको बताइन् । ‘सृजना चोकको पुलमुनि सानो खाल्टो परेपछि प्रहरीको कन्ट्रोल रुमबाट महानगरलाई जानकारी गराउनुभएको थियो । अहिले महानगरले त्यहाँ काम गरिसकेको अवस्था छ,’ उनले भनिन् । बत्ती नआएको विषय पनि गुनासोको रुपमा महानगरमा आएको उनले सुनाइन् । भन्छिन्, ‘लामाचौरमा २ घन्टा बत्ती गएको रैछ । उहाँहरुले किन लोडसेडिङ भयो भनेर हेल्लो मेयरमा गुनासो टिपाउनुभएको छ ।’

Advertisement

पोखरा २५ हेमजा मसिना बगरमा मंगलबार फोहोर उठाउन महानगरको गाडी नआएको भन्दै फोन आयो । ती व्यक्तिले २ महिनादेखि घरमा फोहोर थुप्रिएर बसेको महानगरमा गुनासो टिपाएका छन् । मंगलबार नै पोखरा अघौंचोकको एक पार्टी प्यालेसले नक्सा पास नगरी संरचना बनाएको भन्दै गुनासो महानगरमा आएको छ ।

२६ गते पोखरा–तालचोकको बाटोमा खाल्डाखुल्डी छिटो पुरिदिन अनुरोध गर्दै फोन आएको थियो । खाल्डाखुल्डीले दुर्घटना बढ्दै गएकाले महानगरलाई यथाशीघ्र सडक मर्मत गर्न अनुरोध गर्दै फोन गरेको कर्मचारी गुरुङले बताइन् । गुरुङका अनुसार २३ गते पोखरा २५ हेमजाको स्वास्थ्य चौकीभन्दा माथिल्लो बस्तीमा खानेपानी नदिएको भन्दै गुनासो आएको बताइन् । वडाध्यक्षले यस विषयमा चासो नदिएपछि महानगरमा सम्पर्क गर्नुपरेको ती व्यक्तिको दुखेसो थियो ।

हेल्लो मेयरमा धेरैले कुशासन, अव्यवस्थाबारे गुनासो पोखेका छन् । कतिपयले सन्देशमा समाचार, सुझाव र व्यक्तिगतदेखि सार्वजनिक चासोका गुनासा टिपाएका छन् । ‘दैनिक केही न केही गुनासा आइरहेका छन् । अहिले हेल्लो मेयरमा सुनाएपछि महानगरले काम गर्छ भन्ने सन्देश जनतामा छ,’ गुरुङले भनिन् । महानगरको कुनै सेवामा गुनासो भए ११८१ मा फोन गरेर टिपाउन सकिन्छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया