बगरमा लोभलाग्दो स्याउ बगैंचा

सुन्दरकुमार थकाली २०७९ असोज २४ गते ११:४५

जोमसोम ।
जलवायु परिवर्तनले विस्थापित भएका मुस्ताङको ‘ध्ये’ गाउँका किसान अहिले कालिगण्डकी नदीको तटीय क्षेत्र ध्ये खोलाको किनारामा स्याउ खेती गरिरहेका छन् । उनीहरुले त्यहाँ ०६४ देखि स्याउ खेती गर्न थालेका हुन् । समुन्द्री सतहदेखि झन्डै ४ हजार मिटर उचाईमा अवस्थित लोघेकर दामोदरकुण्ड गाउँपालिका ध्ये गाउँमा जलवायु परिवर्तन असर पर्दा त्यहाँ स्थानीय किसानको जीविकोपार्जन समस्या परेको थियो ।

Advertisement

करिब १५ वर्षअघि जलवायु परिवर्तनको असरले त्यहाँको खेतीयोग्य जमिनमा पानीको अभाव र खानेपानीको समस्या हुँदा त्यहाँ कृषि र पशुपालन व्यवसाय संकटमा परेको थियो । ध्ये गाउँमा ३ दर्जन घरधुरीको बसोबास थियो । जलवायु परिवर्तनको असरले जमिनको तापमान वृद्धिसँगै खानेपानी र सिंचाईको स्रोत सुक्दै गएपछि किसान ध्ये को पुरानो गाउँ छोड्न बाध्य भएका हुन् ।

जलवायु परिवर्तन भएपछि गाउँबाट विस्थापित भएकाहरुले ध्ये खोलाको किनारामा लोभलाग्दो अर्गानिक स्याउ बगैंचा बनाएका छन्

त्यहाँका कतिपय मानिस जीविकोपार्जनका लागि तल झरेका छन् भने कतिपय अझै ध्ये खोलाको नजिक बस्ती स्थानान्तरण गरेका छन् । ध्ये गाउँबाट २६ घरधुरी तल आएका छन् । ध्येको शिरबाट ध्ये गाउँको बेसी झरेकाले झन्डै डेढ दशकदेखि कालिगण्डकी बगरमा स्याउ खेती गरिरहेका छन् ।

लेंकको खेतीयोग्य जमिन सिंचाई अभावमा बाँझो हुँदै गएपछि वैकल्पिक खेती गर्न उनीहरु करिव ४ हजार मिटर माथिबाट तल करिब ३ हजार मिटरको फेंदमा आएका हुन् । जलवायु परिवर्तनको प्रभाव मुस्ताङको ध्ये गाउँमा प्रत्यक्ष देखिएको हो । ध्ये गाउँबाट बस्ती बिस्थापित भएको पुरानो स्थान पुग्न करिब १६ किमी उकालो हिड्नु पर्छ । ध्ये गाउँबाट विस्थापित भई कालिगण्डकी किनाराको छेउमा झरेका ध्ये गाउँबासीले ध्ये गाउँको पञ्चिमतर्फ कालिगण्डकी किनाराको खेर गएको बगरलाई बगैचा बनाएका हुन् ।

Advertisement

कालिगण्डकी बगरमा करिव १२ सय रोपनी पर्ति जग्गामा उनीहरुले स्याउ लगाएका छ् । ध्ये खोला नजिक स्थानीयले जग्गा सम्याएर गे्रड मिलाएका थिए । उनीहरुले खेतीका लागि माटो अन्यत्रबाट ल्याएर स्याउ फल्न योग्य बनाएका हुन् ।
‘जलवायुको असरले पानीका मुहान सुक्दै गएपछि कालिगण्डकी तिरमा बस्ती सर्न बाध्य भयौं, गुजारा गर्न खेती गर्नैपर्ने थियो,’ वडाध्यक्ष एवं ध्ये थाङसुङ कृषि सहकारी संस्थाका अध्यक्ष पासाङ गुरुङले भने, ‘बगरलाई खेत बनाउन धेरै श्रम र पैसा खर्च गर्‍यौं, अहिले क्रमिक रुपमा स्याउ फल्न थालेकाले केही आशावादी भएका छौं ।’

ध्येबासीले १२ हजार रोपनीमध्ये ८ सय रोपनीमा १२ सय बोट परम्परागत जातका स्याउ बिरुवा लगाएका थिए । अहिले ती स्याउ बोटले बिस्तारै फल दिन सुरु गरेको वडाध्यक्ष गुरुङले बताए । बर्सेनि ध्ये गाउँका किसान स्याउ टिप्ने बेला प्रकृति पूजा गर्छन् । स्थानीय बौद्ध परम्परा अनुसार स्याउ खेतमा लामा राखेर पूजाआजा गर्ने गरेको वडाध्यक्ष गुरुङले सुनाए । यसरी पूजा गर्दा स्याउ खेती राम्रो हुने विश्वाश ध्येबासीको छ ।

बगरमा स्याउ खेती फस्टाउँदै गएपछि ध्येबासीमा आशाको सञ्चार पलाएको छ । तर,स्थान्तरित बस्तीबाट चरन क्षेत्र टाढा हुँदा पशुपालन व्यवसायमा केही समस्या रहेको वडाध्यक्ष गुरुङको भनाइ छ । ध्ये गाउँका किसानले ध्ये बगरमा यस पटक करिब १० ट्रक स्याउ फलाएका छन् । सदरमुकामदेखि सो स्थानसम्म पुग्न धेरै टाढा पर्ने भएकाले स्याउ ढुवानी महंगो पर्ने गरेको वडाध्यक्ष गुरुङले बताए ।

ध्येबासीले अर्गानिक स्याउ उत्पादन गरेका छन् । उनीहरुले स्याउ बगैचामा पशुचौपायाको मल प्रयोग गर्ने गरेका छन् । उनीहरुले यसपटक बगरमा फलाएको स्याउ खुद्रा बिक्रेतालाई बिक्री गरेका छन् । ढुवानी महंगो पर्ने र अपायक भएकाले ध्ये गाउँको स्याउ बजारिकरणमा समस्या भएको वडाध्यक्ष गुरुङले उल्लेख गरे । उनले कालीगण्डकीको बगरमा स्याउ खेती गरेर वातावरण संरक्षणमा योगदान र जीविकोपार्जनका लागि मार्ग प्रशस्त गरेको जनाए ।

तस्बिर: पासाङ गुरुङ

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया