जयरानीको जादु

रिखिराम जिसी २०७९ कार्तिक ३ गते १०:२१

रिखिराम जिसी पोखरा ।
गएको ४ दिनमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सका ४ विधामा ४ स्वर्ण एउटै खेलाडीको नाममा रह्यो । स्वर्णमात्र रहेन ३ इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमानसमेत कायम भयो । त्यस्तो कीर्तिमानी कायम गर्ने खेलाडी हुन् त्रिभुवन आर्मी क्लबकी जयरानी थारु ।

आर्मीमा आवद्ध भएपछि पहिलोपटक राष्ट्रिय खेलकुदमा सहभागी भएकी जयरानीले नवौं खेलकुदमा सनसनी मच्चाइन् । उनले सहभागिता जनाएका ४ वटै इभेन्टमा स्वर्ण पदक जित्न सफल भइन् । ३ वटा इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । जयरानीले महिला ४०० मिटर हडल्स, महिला एक सय मिटर हडल्स र महिला लङजम्पमा स्वर्ण पदकसहित नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । ४ गुणा १०० मिटर रिलेमा जयरानी सहितको आर्मी टिमले स्वर्ण जित्यो ।

उनले सहभागिता जनाएका ४ वटै इभेन्टमा स्वर्ण पदक जित्न सफल भइन् । ३ वटा इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्

Advertisement


उक्त सफलता जयरानी आफ्नो कडा मिहेनेतबाट सम्भव भएको बताउँछिन् । उनी भन्छिन्, ‘मेरो कडा परिश्रम र मिहेनतले यो सम्भव भएको हो ।’ खेलमा सोचेभन्दा राम्रो नजिता भएको जयरानी बताउँछिन् । ‘आफूले सोचेभन्दा राम्रो गरे भनम् । धेरै नै खुसी छ । ३ वटैमा कीर्तिमान गर्छु भनेर सोचेकी थिइनँ । तर भाग्य भनम् कि के भनम् भयो भनम्,’ उनले भनिन् ।

३ वटामा कीर्तिमान कायम गरेकी जयरानी लङजम्पमा रेकर्ड तोड्दा आफै अचम्मित छिन् । बिनाअभ्यास नै कीर्तिमान कायम गर्दा उनले झनै खुसी व्यक्त गरिन् । अभ्यास नगरे पनि लङजम्पमा राम्रो नतिजा आएको जयरानी बताउँछिन् । ‘त्यो मेरो एक्स्ट्रा गेम हो । बिना प्राक्टिस नगरी रेकर्ड तोडेँ । प्राय प्राक्टिस गर्दिनँ । नतिजा राम्रो आयो, एकदम खुसी छु,’ उनले भनिन् ।

Advertisement

४०० हडल्स र १०० हडल्समा अभ्यास गरे पनि लङजम्पका लागि अभ्यास नै नगरेको जयरानी बताउँछिन् । ‘४०० हडल्स र १०० हडल्समा कीर्तिमान गर्छु भनेर त्यही अनुसार नै गरेकी थिएँ । लङजम्पको कहिल्यै पनि प्राक्टिस गर्दिन,’ उनले भनिन्, ‘लङजम्पमा पनि मेडल त लाग्छ तर जित्छु नै लाग्छ भन्ने चाहिँ १ प्रतिशत पनि थिएन, दोस्रो, तेस्रो चाहिँ आउँछ भन्ने थियो ।’ ४०० हडल्स र १०० हडल्समा कीर्तिमान राख्ने गरी नै तयारी गरेको जयरानी बताउँछिन् ।

जयरानी ३ वर्षअघि आर्मीमा जोडिएकी थिइन् । खेलकै माध्यमदेखि आर्मीमा जोडिएकी हुन् । अन्यबाट समेत अफर आएको भएपनि बाबाको चाहना अनुसार आर्मीमा गएको जयरानीले सुनाइन् । पहिलेदेखि नै मेरो गेमचाहिँ राम्रो थियो । एपिएफ, प्रहरीहरुले यता जागिर खानुपर्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘मेरोचाहिँ बाबाको चाहना नै आर्मीमा जागिर खानु थियोे । आर्मीले नै गेम कोटा पठाएर भर्ना भएँ ।’

‘प्रदेशबाट भन्दा विभागबाट धेरै एक्स्पोजर पाएँ’
प्रदेशभन्दा विभागमा धेरै अवसर तथा एक्स्पोजर पाउने तथा खेलकुदको स्तर माथि उठ्नेमा जयरानी सहमत छिन् । आर्मीबाट खेल्न थालेपछि आफ्नो खेलको स्तर धेरै सुध्रिएको जयरानी बताउँछिन् । सुविधा राम्रो छ भनौं विभागीय एपिएफमा होस् या आर्मीमा, बाहिर भएको भए यस्तो गर्न सक्थिनँ जस्तो लाग्छ । भित्र आएर धेरै नै सजिलो भयो भनौं,’ जयरानीले भनिन् ।

प्रदेशबाट खेल्दा र विभागबाट खेल्दा धेरै फरक हुने जयरानी बताउँछिन् । ‘प्रदेशबाट खेल्दा र विभागीयबाट खेल्दा धेरै नै फरक पाउँछु म त । पहिले यसरी ट्रेनिङ कसैले पनि दिएन विभागमा गएपछि सजिलो भयो,’ उनले भनिन् ।

विभागमा बाहिरभन्दा ट्रेनिङ, इकुप्मेन्ट तथा सुविधाहरु धेरै हुने गरेको जयरानी सुनाउँछिन् । ‘मलाई ट्रेनिङहरु गराउनु या खेल क्षेत्रमै ल्याउने भनेको सुमित्रा चौधरी र विश्वराज चौधरीले हो । उहाँले गरे जति या थाहा पाएजति ट्रेनिङहरु दिनुहुन्थ्यो तर इकुप्मेन्ट केही नभएको कारणले खासै राम्रो भएन,’ उनले भनिन्, ‘विभागीय भएपछि, आर्मीमा जागिर खाएपछि अब प्राय बाहिरको भन्दा पनि धेरै नै सुविधा छ भनौं ।’

मावि भएपछि सुरु खेलकुद जीवन
बर्दियाको मधुवन नगरपालिका–२ सुन्दरपुरको स्थानीय विद्यालयमा पढ्ने जयरानीको विद्यालय त्यतिबेला निम्न माध्यमिक थियो । जसका कारण खेलकुद गतिविधिमा भाग लिन पाउँथिनन् । जयरानी कक्षा ८ मा पढ्दा विद्यालय माध्यमिक भयो । त्यसपछि पहिलोपटक रनिङ सिल्डका लागि विद्यालयलाई चिठी आयो ।

त्यस दिन उनी विद्यालय गएकी थिइनन् । उनी र उनको दाइ एउटै कक्षामा पढ्ने हुँदा दाइले घर गएर भनेपछि आफूलाई आफूले जित्न सक्ने आभास भयो । ‘जब दाइले भनेपछि म पनि दौड छु नि । म सबैलाई जित्दिन्छु नि जस्तो लाग्थ्यो,’ उनले भनिन् ।

अर्काे दिन विद्यालय जाँदा खेल्न कोको इच्छुक छ भन्दा उनले म खेल्छु भनिन् र सहभागी भइन् । ‘अर्काे दिन स्कुल जाँदा खेल्न कोको इच्छुक छ भन्दाखेरि म खेल्छु भनेर गए र सबैलाई जिते स्कुलमा,’ उनले भनिन् । त्यसपछि उनको खेलकुद यात्रा सुरु भयो ।

उनले राष्ट्रिय खेलकुदमा सातौं राष्ट्रिय खेलकुदमा मध्यपश्चिम र आठौंमा प्रदेश नम्बर ५ बाट सहभागी बनिन् । सातौंमा अनुभव बटुलेका उनले आठौंमा ३ रजत पदक जित्न सफल भइन् । नवौं खेलकुदमा भने ४ स्वर्णसहित ३ कीर्तिमान कायम गर्न सफल भइन् । बाँकी यात्रा पनि खेललाई निरन्तरता दिने सोचमा जयरानी छिन् । उनी भन्छिन्, ‘स्वास्थ्यले दिएसम्म गेममा नै रहने इच्छा छ भनम् ।’

‘पैसा नहुँदा च्यापियनसिप गुमाएँ’
२०७२ सालदेखि खेल्न सुरुआत गरेकी जयरानी थारुसँग घरको आर्थिक अवस्था कमजोर हुँदा प्रतियोगिता गुमाएको अनुभव छ । ‘घरको आर्थिक अवस्था कमजोर, पैसा नहुने । मेरो मात्र होइन अरु प्रदेशका खेलाडीको पनि त्यस्तै हुन्छ । सबै धनी त हुँदैन नि त पैसा नभएर कतिपय खेलाडीहरु आउँदैनन्,’ उनले भनिन्, ‘पैसा नभएर मैले पनि गुमाएँ । एउटा च्याम्पियनसिप गुमाएँ ।’

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया