कास्कीका ८२ बालबालिका अपांगता प्रमाणित

समाधान संवाददाता २०७९ कार्तिक ४ गते १७:१४

पोखरा ।
स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराले प्रारम्भिक रुपमा पहिचान गर्दा कास्कीका ८२ बालबालिकामा अपांगता भएको पाइएको छ । अपांगता भएका बालबालिकाको पढाइ सुधार गर्न सञ्चालित सबैका लागि पढाइ कार्यक्रमको अन्तर्गत स्वास्थ्यमा समस्या देखिएका ६ सय ७९ मध्ये ती बालबालिका अपांगता पहिचान भएको संस्थाका अध्यक्ष हेमबहादुर गुरुङले जानकारी दिए ।

पढाइ कार्यक्रम परियोजनाको समापन समारोहमा अध्यक्ष गुरुङले पालिकाका प्रारम्भिक बाल कक्षादेखि कक्षा ३ सम्मका ११ हजार ६ सय ९१ बालबालिकालाई प्रारम्भिक पहिचान कार्यक्रममा समेटेको बताए । ‘अपांगता पहिचानको क्रममा सम्बन्धित बालबालिकाका लागि ५ वटा स्वास्थ्य शिविर गरिएको थियो ।

अपांग भएको शंका लागेका ६ सय ७९ मध्ये अपांगता प्रमाणित भएका बाल बालिकामा दृश्य, सुनाई, शारीरिक, र स्वरबोलाइको समस्या पाइएको छ,’ अध्यक्ष गुरुङले भने, ‘बालबालिकालाई आवश्यकताका आधारमा स्वास्थ्य समस्या अनुसारको उपचारका लागि सिफारिस गरिएको छ । अहिलेसम्म ३ सय १० बाल बालिकाले विभिन्न खालका सेवा पाएका छन् ।’

Advertisement

उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, हिमालय आँखा अस्पताल र हरियोखर्क अस्पताल तथा पुनस्थापना केन्द्रमा स्वास्थ्य परीक्षणपश्चात २ जनाले अपांगता परिचयपत्र पाएको र १३ जनाले छात्रवृत्ति पाएको जानकारी दिए । अध्यक्ष गुरुङले २ बालबालिकालाई दृष्टिविहीन स्रोत कक्षामा भर्ना गरेको बताए । उनले संस्थाले कास्कीमा आवश्यकता अनुसार ३२ बालबालिकालाई चस्मा, श्रवणयन्त्र, विशेष ज्याकेट सहितका सहायक सामग्री वितरण गरेको जानकारी दिए ।

संस्थाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)ले ह्यान्डिक्याप इन्टरनेसनल, विश्व शिक्षासँगको साझेदारीमा विगत ४ वर्षदेखि कास्कीका सबै पालिकामा सबैका लागि पढाइ कार्यक्रम सञ्चालन गरेको थियो । अध्यक्ष गुरुङले अपांगता भएका बालबालिकाको तथ्यांक पहिचान, शिक्षामा पहुँच, पठन पाठन तथा सीप सुधारका लागि सहयोगी बनेको बताए ।

Advertisement

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अपांगमैत्री भौतिक पूर्वाधार निर्माणमा ध्यान दिने बताए । उनले महानगरले अपांगमैत्री सवारी साधनको व्यवस्था गरेको उल्लेख गरे । उनले अपांगता दोष नभएर परिस्थिति र बाध्यता भएको चर्चा गरे । संस्थाका महासचिव अञ्जना केसीले परियोजनाको असल अभ्यासलाई स्थानीय तहले अनुशरण गर्नुपर्ने बताइन् ।

कार्यक्रममा परियोजनाको सञ्चालन व्यवस्थापनका लागि सहयोग गर्ने पोखरा महानगरपालिका शिक्षा महाशाखा, मादी, अन्नपूर्ण, रुपा तथा माछापुच्छे« गाउँपालिकाको शिक्षा शाखालाई कदरपत्र प्रदान गरिएको छ ।स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराले सबैको लागि पढाइ कार्यक्रम अन्तर्गत सिर्जना बहिरा माध्यमिक विद्यालयलाई ४० थान ट्याब्लेट प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया