मानव बेचबिखनको स्वरुप बद्लियो

समाधान संवाददाता २०७९ कार्तिक ४ गते १७:२३

पोखरा ।
मानव बेच बिखनबाट प्रभावितहरुबाट खोलिएको संस्था शक्ति समूहले बुधबार मानव बेच बिखनको बदलिदो स्वरुप, बाल यौन शोषण तथा मनोरञ्जन क्षेत्रहरुको व्यवस्थापन विषयक अन्तक्र्रिया गरेको छ ।

कार्यक्रममा शक्ति समूहका अध्यक्ष चरिमाया तामाङले नेपालमा अहिले नेपालमा मानव बेचबिखनको स्वरुप बदलिएको बताइन् । उनले पहिला जस्तो अहिले मानिसलाई भारतमा लगेर बिक्री गर्नै नपर्ने उल्लेख गरिन् । ‘म आफैं बेचबिखनको घटनामा परेको हो ।

अहिले भारतीय सहर मुम्बई, दिल्ली, कोलकत्ताको कोठीमा लगेर बेच्न पर्दैन,’ उनले भनिन्, ‘विगत २ दशकअघिको अवस्था अहिले रहेन । शैक्षिक परामर्श, वैदेशिक रोजगारीका नाममा मानव बेच विखनका घटना बढेका छन् ।’

Advertisement

उनले शैक्षिक परामर्शको माध्यमबाट विदेश पढ्न जाँदा पनि महिला समस्या परेको जानकारी दिइन् । उनले विदेशी नागरिकसँग विवाह गर्दासमेत ठगी तथा बेच विखनमा परेको उल्लेख गरिन् ।

उनका अनुसार नेपाली महिला वैदेशिक रोजगारी लगायतका बाहानामा दक्षिण अफ्रिका लगायतका तेस्रो मुलुकमा महिला बेचबिखन गरिएको छ । त्यस्तो कार्यका लागि दलाल एजेन्टहरुले नेपाललाई ट्रान्जिटको रुपमा प्रयोग गरेको उनले बताइन् ।

Advertisement

महिलालाई आफ्नै देशमा बेचबिखन हुन नदिन सबै सरोकारवालाले आवाज उठाउनुपर्ने बताइन् । उनले दलाल एजेन्टले नेपाललाई ट्रान्जिटको रुपमा प्रयोग गरेर श्रीलंका बंगलादेश लगायत दोस्रो देशका नागरिकलाई बन्धक बनाएर क्यानडा पुर्‍याएको घटना सार्वजनिक भएको जानकारी दिइन् ।

उनले डान्सबार, दोहोरी साँझ, मसाज, पार्लर र स्पा लगायतका काम गर्ने किशोरी तथा महिलामा हुने मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरीहरु यौन शोषण तथा बेच विखनको दृष्टिले जोखिममा रहेको दाबी गरिन् । उनले त्यस्ता मनोरञ्जन क्षेत्रमा बालिकालाई काममा लगाउन नहुने उल्लेख गरिन् । उनले यौन शोषणमा परेका किशोरीलाई उजुरी गर्न कठिनाई भएको बताइन् ।

शक्ति समूह पोखराका परियोजना संयोजक सरिता पौडेलले मानव बेचबिखनको दृष्टिले गण्डकी वागमती प्रदेशपछि दोस्रो उच्च जोखिममा रहेको जानकारी दिइन् । उनले वागमतीमा ३८ प्रतिशत र गण्डकीमा १९ प्रतिशत मानव बेचविखनको दृष्टिले जोखिममा रहेको बताइन् । उनले पछिल्लो ९ महिनाको अवधिमा शक्ति समूहको स्रोत केन्द्रमार्फत २ सय ३० जनालाई सेवा दिएको उल्लेख गरिन् ।

संस्थाले सिलाइकटाइ ब्युटीपार्लर, भोकेसनल ट्रेनिङ लगायत आय आर्जनमा सहयोग गरेको जानकारी दिँदै उनले पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहकार्यमा २५ जना जोखिममा परेका बालिकालाई शैक्षिक सहयोग गरेको बताइन् ।

श्रम ता रोजगार कार्यालय गण्डकी प्रदेशका प्रमुख सुरेश ढकालले सरकार रोजगारदाता र श्रमिकको त्रिपक्षीय समन्वयबाट मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकको समस्यालाई हल गर्न सकिने बताए । उनले १८ वर्ष मुनिका बाल बालिकालाई कुनै पनि श्रममा लगाउन नपाउने जानकारी दिए ।

नियुक्तिपत्र, रोजगार सम्झौता बिना कसैलाई श्रममा लगाउन नपाउने उल्लेख गर्दै उनले हरेक कामदारलाई सञ्चयकोष, उपदान, विमा तथा योगदानमा आधारित सामाजिक सुरक्षाका योजनामा जोड्नुपर्ने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराई, वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली, पोखरा महानगरपालिका न्यायिक समितिका सदस्य भावना श्रेष्ठ, राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले, शक्ति समूहका प्रोग्राम म्यानेजर मिरा दुलाल लगायतले मानव बेच विखनले पारेको प्रभावबारे प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया