बन्दीपुरमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

समाधान संवाददाता २०७९ कार्तिक ५ गते ११:२५

पोखरा ।
तनहुँको बन्दीपुर गाउँपालिका ३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान साढे ६ बजे चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो ।

‘घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ’, उनले भने । बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा पढ्थिन् ।

Advertisement

पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको थियो भने २ घाइते भएका थिए ।

चितुवाको आक्रमणबाट बन्दीपुर–१ का ५ वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका ४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

Advertisement

पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो ५ वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

तपाईको प्रतिक्रिया