संसदमा प्रभावशाली: उम्मेदवारीमा हात खाली

अब पार्टी संगठन बनाउन लाग्छु

सञ्जय रानाभाट २०७९ कार्तिक ५ गते १२:२२

सञ्जय रानाभाट पोखरा ।
गण्डकी प्रदेश सभाले ५ वर्ष पूरा गरेपछि प्रदेश सभा सदस्यहरु बिदा भइसके । अब मंसिर ४ को निर्वाचनपछि नयाँ सदस्य आउने छन् । २०७२ मा ‘नेपालको संविधान’ बनेपछि ०७४ मा भएको निर्वाचनबाट गण्डकी प्रदेश सभामा ६० सदस्य निर्वाचित भएका थिए । कार्यकालको अन्त्यसम्म प्रदेश सभामा ५८ सदस्य कायम रहे ।

संघीयता कार्यान्वयनपछि स्थापित प्रदेश सभाको पहिलो कार्यकाल अनुभव र अभ्यासका हिसाबले नयाँ थियो । तर कतिपय प्रदेश सभा सदस्यले सांसदमा प्रभावशाली भूमिका निर्वाह गरे ।

संसदीय अभ्यास कानुन र विधिका आधारमा चल्छ । कतिपय अवस्थामा परम्परालाई पछ्याइन्छ । प्रदेश सभा मूलतः कानुन निर्माणको थलो हो । जनताको आवाज उठाउने ठाउँ हो । मुख्य काम कानुन निर्माण हुँदाहुँदै यसमा पटक्कै ध्यान नदिने रोग गण्डकीमा पनि देखा पर्‍यो ।

Advertisement

कानुन बनाउँदा के कस्ता प्रावधान राख्ने, के कस्ता कानुन बनाउने र त्यसमा के कस्ता प्रबन्ध गर्न सकिन्छ भन्नेतिर कमै प्रदेश सभा सदस्यले ध्यान दिएका थिए । तर केही प्रदेशसभा सदस्य थिए, जसले विधि र कानुनमा पनि ध्यान पुर्‍याए, जनताको आवाज पनि उठाए र प्रदेश स्तरमा संसदीय अभ्यास गरे ।

तर तीमध्ये कतिपयले दोहोरिएर प्रदेश सभा सदस्य बन्न आआफ्ना पार्टीबाट टिकट पाएनन् । प्रदेश सभामा प्रभावशाली उपस्थिति जनाएकामध्य एक प्रतिनिधि प्रदेश सभा सदस्य धनञ्जय दवाडीबारे समाधनकर्मी सञ्जय रानाभाटले यहाँ समेट्ने जमर्काे गरेका छन् ।

Advertisement

धनञ्जय दवाडी
०७४ को निर्वाचनमा लमजुङ प्रदेश सभा ‘क’बाट गण्डकी प्रदेशमा निर्वाचित सांसद दवाडीले जनताका आवाज संसदसम्म पुर्‍याउन भूमिका खेले । प्रदेशसभा स्थापनाको वर्ष सांसदलाई नीति, नियम सिकाउन उनको भूमिका महत्वपूर्ण रह्यो ।

सांसदहरुले कुन विषयमा कुन नियमावली अनुसार नियमापत्ति गर्ने भन्ने थाहा नहुँदा उनी नियमावलीको धारासहित सुनाइदिन्थे । भन्छन्, ‘प्रदेश सांसदहरु कस्तो स्थितिमा थियौं भन्ने कुरा संसदको सुरुवाती वर्ष हेर्दा हुन्छ । कुन नियमापत्ति गर्दा कुन नियममा आपति ग¥यौं भन्ने कुरा नै थाहा थिएन । यत्तिकै आपत्ति कसरी गर्ने भन्ने थियो ।’

दलले आफ्ना प्रदेश सांसदलाई कुनै प्रशिक्षण दिएनन् । दवाडी भन्छन्, ‘जानिएन, जति सांसदले सिके, सिकाएर सिकेका होइन् । उनीहरु आफैंले सिकेका हुन् । सामान्यभन्दा पनि सामान्य कुरा पनि थाहा नभएको अवस्था थियो । नयाँ संसदमा दलले आफ्ना मान्नेलाई सिकाएर पठाउनुपर्छ ।’

मन्त्री वा कुनै संसदीय समितिको सभापति नभएका दवाडी ५ वर्ष विधायन समितिको सदस्यचाहिँ थिए । ‘प्रदेशसभाबाट जति कानुन बने, विधायन समितिमा बसेर काम गरें, यसमा धेरथोर योगदान गरें,’ उनले भने ।

सांसद दवाडी प्रदेशको नामाकरण र प्रदेश राजधानी तोक्ने कुरामा पनि आफ्नो महत्वपूर्ण भूमिका रहेको सुनाउँछन् । ‘नामकरण र राजधानी तोक्नमा हामी अरु प्रदेशभन्दा अगाडि नै भयौं । ‘यसमा मैले नामकारण र राजधानी तोक्ने समितिको सदस्य भएर काम गरेँ । हामी यसमा सफल पनि भयौं,’ उनले भने ।

एमाले गण्डकी संसदीय दलको बोर्डको सचिवको भूमिकामा दवाडी रहे । मत माग्दै आफू जनताको पक्षमा काम गर्ने, झुटो आश्वासन नदिने भन्दै उनले घोषणापत्र बनाएनन् । ‘मलाई जिताएर पठाउनुस् शिर ननिहुरिने गरी काम गर्छु भनेको थिएँ ।

उहाँहरुको शिर ननिहुरिने गरी काम गरें,’ उनले भने, ‘८ वटा मोटेरेबल पुल, ३० किलोमिटर बाटो कालोपत्रे, पर्यटन, पूर्वधार, होमस्टेका, सिँचाइ मेरो निर्वाचन क्षेत्रमा गरें, अस्पताल पनि सुरुवात हुने अवस्थामा छ । संसदमा आफूले जनताका कुरा पुर्‍याएँ ।’

प्रदेशसभामा दोहोरिन चाहे पनि पार्टीले टिकट नदिएकाले अब संगठनमा लाग्ने उनी बताउँछन् । ‘प्रदेशमा दोहोरिने चाहना थियो । यो भएर नै प्रदेशसभामा मेरो क्षेत्रबाट आकांक्षी देखिएको थिएँ,’ उनले भने, ‘पार्टीको प्रदेश कमिटी सचिवको जिम्मेवारीमा छु ।

यो जिम्मेवारी पूरा गर्छु ।’ पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेर गठबन्धनको सरकार बनेपछि एमालेले छायाँ सरकार गठन गर्दा ऊर्जा, खानेपानी समूहमा बसेर दवाडीले काम गरेका थिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया