एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन

समाधान संवाददाता २०८१ वैशाख १७ गते १५:२७

पोखरा ।
पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर विद्यालय पोखरामा शैक्षिक वर्ष २०८१ का लागि विद्यार्थी परिषद् गठनसँगै पदस्थापन गरिएको छ । प्रजातान्त्रिक पद्धतिबाट विद्यार्थीद्वारा मतदान गरेर निर्वाचित भएको परिषद्को सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी पदस्थापन गरिएको विद्यालयका नेपाली शिक्षक अमृत घिमिरेले जानकारी दिए ।


पदस्थापन कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य फुर्बु ठिन्लेले परिषद्को सफल कार्यकालको शुभकामना व्यक्त गरे । विद्यार्थीको गहना अनुशासन भएको उल्लेख गर्दै उनले शैक्षिक र सहक्रियाकलापसँगै विद्यालयमा सुन्दर वातावरण सिर्जना गर्न परिषद्को महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिए । विजयीलाई बधाई दिँदै उनले सहकार्य र समूहगत सहभागिताले विद्यालयको शैक्षिक विकासमा उल्लेखनीय भूमिका रहने बताए ।


विद्यार्थीबाट निर्वाचित भएका स्कुल क्याप्टेन लोब्साङ छिरिङ र केल्साङ ल्हामो गुरुङले प्रतिबद्धता जनाउँदै आफ्नो भनाइ राखेका थिए । मतदानबाट चयन भएका स्कुल प्रिफेक्टहरूमा छात्रतर्फ यासी दोर्जे, तेन्जिन छिरिङ, छिरिङ दोर्जे र सोनाम साङ्पो छन् । त्यसैगरी छात्रातर्फ ल्हामो छिरिङ, दावा नाम्डु शेर्पा, कृषला राना र पासाङ डोल्मा गुरुङ चयन भएका छन् ।

Advertisement

परिषद्का सदस्यहरूले प्रतिबद्धता वचन वाचन गर्दै विद्यालयको गरिमा र इज्जत उँचो राख्न हरसम्भव प्रयास गर्नेमा जोड दिए । त्यस अवसरमा उनीहरूले एसओएसको शैक्षिक गुणस्तर कायम राख्न लगनशील भएर हर सम्भव प्रयास गरिरहने प्रतिबद्धता जनाए ।


पदस्थापन कार्यक्रममा विद्यालयका हरेक कक्षाका छात्र/छात्रा मनिटर, होस्टल प्रिफेक्ट, हाउस क्याप्टेनलाई व्याच र खादाले स्वागत तथा सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । विद्यालयका शिक्षक को–अर्डिनेटरद्वय गोविन केसी र उर्गेन दावाले मन्तव्य राखेको कार्यक्रम शिक्षिक छिरिङ युडोनले सञ्चालन गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया