फुटपाथ पसल व्यवस्थापन गर्न माग

समाधान संवाददाता २०७९ कार्तिक ५ गते १४:०४

पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले पोखराको महत्वपूर्ण चोक तथा सडकमा जथाभावी राखिएका फुटपाथका पसललाई व्यवस्थापन गर्न पोखरा महानगरसँग माग गरेको छ ।

चेम्बरले मेयर धनराज आचार्यलाई ध्यानाकर्षणपत्र बुझाउँदै चाडपर्व र सार्वजनिक बिदाको मौका छोपेर महत्वपूर्ण चोकको फुटपाथमा आवतजावत गर्नसमेत अवरोध हुनेगरी राखिएका पसलले बजारको शौन्दर्यता बिगारेको अध्यक्ष यमनाथ पौडेलले दाबी गरे ।

‘सडक पेटीमा आवतजावत गर्ने यात्रुलाई अवरोध हुने गरी अवैध रुपमा बाटो बाटोमा कपडा तथा अन्य वस्तु फिजारेर बजारको सौन्दर्य नै बिगारी व्यवसाय गरेको जन मानस तथा व्यवसायी समेतबाट चेम्बरमा गुनासो आएको छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘त्यस्तो कार्यले नेपाल सरकारका निकायमा दर्ता भएर वैध रुपमा चलेका तथा विभिन्न क्षेत्रमा कर तथा राजस्व तिरेका व्यवसायका पेशा, व्यवसायमा असर परेको छ ।’

Advertisement

ध्यानाकर्षणपत्रमा अवैध रुपमा जथाभावी राखिएका फुटपाथ व्यवसायीलाई हटाई बाटोमा सहज रुपमा आवतजावत गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

फुटपाथ व्यवसायीलाई हटाएर बजारको सौन्दर्य कायम गर्न महानगरको ध्यानाकर्षण गर्दै चेम्बरले सबै वैधानिक रुपमा सटर व्यवसाय गर्ने व्यवसायीको हकहित हुने गरी तथा व्यवसाय बृद्धि हुने कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया