प्रतिनिधि र प्रदेशसभा निर्वाचन

उपल्लो मुस्ताङमा मतदान स्थलको निरीक्षण तीव्र

समाधान संवाददाता २०७९ कार्तिक १६ गते २०:५८
मुस्ताङको उत्तरी सीमावर्तीको मतदान स्थलको निरीक्षण गर्दै सुरक्षाकर्मी ।

जोमसोम–मंसिर ४ गते एकैसाथ हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुस्ताङको सीमावर्ती क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्रको निरीक्षण गर्ने काम भईरहेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायको टोलीले मुस्ताङको सीमावर्ती क्षेत्रका दुईपालिकामा मतदान स्थल तथा मतदान केन्द्रको निरीक्षण गरेको हो ।

भौगोलिक रुपले विकट मानिएको उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा पर्ने मतदान स्थल र मतदान केन्द्रको अनुमगन गरिएको हो । मतदान स्थल र मतदानकेन्द्रको भौगोलिक अवस्था, सुरक्षा चुनौती,यातायातको पहुँच, मतदातालाई मतदान केन्द्र सम्म आएर सहज रुपमा मतदान गर्न सकिने वा कठिनाई र अन्य वस्तुगत अवस्थाको अध्ययन गर्न प्रजिअसहितको टोली उपल्लो मुस्ताङ पुगेको हो ।

टोलीमा मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुली, नारायण दल गणका प्रमुख सेनानी ईश्वराज गुरुङ,सशस्त्र प्रहरी नायव उपरिक्षक यज्ञमान सावत,प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेल र अनुसन्धान प्रमुख प्रचण्ड डंगोल लगायतको सुरक्षा टोली सीमावर्ती क्षेत्रका मतदान स्थलमा पुगेको हो ।

Advertisement

मुस्ताङका ५ स्थानीय तहमा कुल ३९ मतदान केन्द्र छन् । जसमध्ये सीमावर्ती क्षेत्रको डेढ दर्जन मतदानस्थल तथा मतदान केन्द्रको निरीक्षण भईसकेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनले सीमावर्ती क्षेत्रका अधिकाँश मतदान केन्द्रमा सडकको पहुँच पुगिसकेकाले मतदानकार्यमा सुरक्षा चुनौती नहुने बताए ।

मुस्ताङको उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको लोमान्थाङको छोसेर,छोनुप,सम्जुङ,चुमजुङ र लोघेकर दामोदकुण्डको यारा,घारा,ढि र सुर्खाङ लगायतका मतदान स्थलको निरीक्षण भएको प्रजिअ शर्माले उल्लेख गरे ।‘ दुईदिनसम्म निरन्तर मतदान स्थलको निरीक्षण गरिरहेका छौं ,बिहिबारसम्ममा दुईपालिकामा सकिन्छ होला, प्रजिअ शर्माले भने, ‘ मतदान स्थल र केन्द्रमा मतदाताको सहज उपस्थितीको वातावरण मिलाउदैछौं, सुरक्षा चुनौती र व्यवस्थापनको गृहकार्य भईरहेको छ ।’
मंसिर ४ गते हुने निर्वाचन मिति नजिकिएसंगै राजनितिक दल र उम्मेदवारहरु घरदैलो एवं मतदाता भेटघाटमा व्यस्त भईरहदा सुरक्षा निकायको टोली मतदान स्थल र मतदान केन्द्र निरीक्षणको कामलाई तीव्रता दिएका हुन् ।

Advertisement

यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र सुरक्षा निकायको टोली मुस्ताङको थासाङ गाउँपालिकाको विभिन्न मतदान केन्द्रको निरीक्षण गर्ने काम सम्पन्न गरिसकेको छ । घरपझोङ र वारागुङ मुक्तिक्षेत्रको केही मतदान स्थलको निरीक्षण भईससकेको छ भने केही मतदान स्थलको निरीक्षण गर्न बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए ।

भौगोलिक रुपले विटक मुस्ताङ र डोल्पाको सीमाना पर्ने वारागुङ मुक्तिक्षेत्र–५ शान्ता गाउँको मतदान स्थलको निरीक्षण गर्न बाँकी रहेको निर्वाचन अधिकारी अर्यालले बताए ।

मुस्ताङका ५ स्थानीय तहमा कुल १०९५७ जना मतदाता छन् । जसमध्ये मुस्ताङ प्रदेश १ मा ३५४१ मतदाता छन् भने प्रदेश २ मा ७४१६ जना मतदाता छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मुस्ताङमा १०४८५ जना मतदाता रहेका थिए ।
मुस्ताङमा एक प्रतिनिधि र दुई प्रदेश निर्वाचन क्षेत्र छन् ।

तपाईको प्रतिक्रिया