हिउँ पन्छाउँदै मतदान केन्द

समाधान संवाददाता २०७९ कार्तिक २२ गते १३:४८

जोमसोम ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुस्ताङका मतदान केन्द्रमा तयारी जारी छ । आइतबार प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहितको सुरक्षाकर्मी टोलीले मुस्ताङको मुक्तिक्षेत्र ५ मा पर्ने शान्ता गाउँको मतदान स्थल निरीक्षण गरेको छ ।

मुस्ताङ र डोल्पाको सीमावर्ती क्षेत्र शान्ता गाउँमा पर्ने हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको शर्मासहित मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुली, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरी लगायतको टोलीले निरीक्षण गरेका हुन् । हिमाली आधारभूत मुस्ताङका ३९ मतदान केन्द्रमध्ये सबैभन्दा विकटमा पर्छ ।

टोलीले शान्ता जोड्ने सडकको हिउँ पन्छाउँदै मतदान केन्द्र अवलोकन गरेको हो । दसैंअघिको प्रतिकूल मौसम र उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढेसँगै मुस्ताङ डोल्पा जोड्ने निर्माणाधीन कच्ची सडकमा दुई फिट हिउँ जमेको थियो । जोमसोमबाट सवारी साधन लिएर मतदान केन्द्र निरीक्षण गर्न शान्ता गएको टोली सडकको हिउँ हटाउँदै पुगेको प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।

Advertisement

‘प्रजिअ शर्मा र मुख्य निर्वाचन अधिकृत ज्युसहित हामी शान्ता गाउँको मतदान केन्द्र निरीक्षण गर्न गएका थियौं,’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘बाटोमा हिउँ पन्छाउँदै शान्ता गाउँको मतदान केन्द्रमा पुग्यौं ।’

जोमसोम–कोरला सडकदेखि पञ्चिम कालिगण्डकी नदीको पुल पार गर्दै गर्दा मुस्ताङ–डोल्पा सडक सुरु हुन्छ । कालिगण्डकी नदीको पुलदेखि करिब २०/२५ किलोमिटर तय गरेपछि मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ डोल्पा पुग्न सकिन्छ । समुन्द्री सतहदेखि करिब ४५ सय मिटरको सडक तय गरेपछि शान्ता पुग्न सकिन्छ ।

Advertisement

वारागुङ मुक्तिक्षेत्र ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले सडकको हिउँ पन्छाउँदै टोली मतदान केन्द्र निरीक्षण गर्न आएको जानकारी दिए । उच्च स्थानबाट सडक मार्ग विस्तार भएकाले मुस्ताङ डोल्पा सडकमा बरफ जम्न सुरु भइसकेको वडाध्यक्ष गुरुङले उल्लेख गरे ।

शान्ता गाउँमा १३ घरधुरीका ३४ मतदाता छन् । भौगोलिक रुपले विकट शान्ता गाउँ आर्थिक र भौतिक विकासका हिसाबले समेत निकै पछि छ । त्यहाँ सहज सञ्चार र जिद्युतको समस्या छ । निर्वाचन र विशेष प्रयोजनबाहेक शान्ता गाउँमा सरकार र जनप्रतिनिधिको उपस्थितिसमेत हुँदैन ।

सिडिओ शर्माले चुनावअघि फेरि हिउँ नपरे सडक सहज तुल्याएको बताए । ‘अहिलेलाई हिउँ पन्छाएर ठीक बनाएका छौं,’ उनले भने, ‘हामी पुग्दा स्थानीय उत्साहित भए, हामीले मुखिया र गाउँलेसँग छलफल गर्‍यौं ।’

शुक्रबार प्रजिअ शर्मा, मुख्य निर्वाचन अधिकृत पराजुलीसहितको टोलीले चीनसँग सीमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न मतदान केन्द्र निरीक्षण गरेको थियो । मतदान केन्द्र निरीक्षण गर्न गएको टोलीले मतदान स्थल, मतदान केन्द्रको भौगोलिक अवस्था, सुरक्षा चुनौती, यातायातको पहुँच, मतपेटिका ढुवानीमा पर्ने बाधा, अवरोध र मतदातालाई सहज रुपमा मतदान केन्द्रमा पुगेर मतदान गर्न सक्ने अवस्था लगायतका बिषय जानकारी लिएको छ ।

तपाईको प्रतिक्रिया