मुस्ताङमा मतदान अधिकृतलाई तालिम

समाधान संवाददाता २०७९ कार्तिक २८ गते १३:०२

जोमसोम ।
निर्वाचनको पूर्व तयारीका लागि मुस्ताङमा निर्वाचन अभियानलाई तीव्रता दिइएको छ । भूगोलका हिसाबले ठूलो तर थोरै मतदाता रहेको मुस्ताङमा आसन्न निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सम्बन्धित मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतदानअघि मतदान प्रक्रिया र त्यसपछिका विभिन्न प्रक्रियाबारे तालिम दिइएको छ ।

जिल्ला निर्वाचन कार्यालय मुस्ताङको आयोजनामा भएको तालिममा जिल्लाका ५ वटै स्थानीय तहका ३९ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्रमा खटाइने कर्मचारी सहभागी थिए ।

तालिममा मतदान पूर्वका व्यवस्थापकीय पक्ष र मतदान प्रक्रिया, प्रतिनिधि र प्रदेशसभा निर्वाचन, मतदान सामग्री, सुरक्षा योजना, मतगणना, निर्वाचन लेखा आदि विषयम प्रकाश पारिएको छ ।

Advertisement

जिल्ला न्यायधिवक्ता लालप्रसाद लामिछानेले मतदान पूर्वको व्यवस्थापकीय पक्ष र मतदान प्रक्रिया, सिडिओ नेत्रप्रसाद शर्माले प्रतिनिधि र प्रदेशसभा निर्वाचन, जिल्ला निर्वाचन कार्यालय अधिकारी मदन अर्यालले मतदान सामग्री, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलबाट निर्वाचन सुरक्षा व्यवस्थापन र जिल्ला निर्वाचन अधिकारी ईश्वर पराजुलीले मतगणनाबारे प्रस्तुतिकरण गरेका थिए ।

सिडिओ शर्माले कर्मचारीले राज्यले सुम्पिएको अभिभारा पूरा गर्नुपर्ने बताए । मतदान कार्यमा खटिने कर्मचारीले स्थानीय जनप्रतिनिधि, सरोकारवाला राजनीतिक दल र स्थानीयबासीको सहयोग समन्वय उपयोग गर्दै निर्वाचन प्रक्रिया सफल बनाउन आग्रह गरे ।

Advertisement

मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सबै तयारी पूरा भइसकेको जानकारी दिए । जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले सम्पूर्ण मतदान प्रक्रियाका बारेमा आयोगको निर्देशनमा कार्यक्रम गरिएको बताए ।

मुस्ताङका ५ स्थानीय तहका ३९ मतदान केन्द्रमा १० हजार ९ सय ५७ मतदाता छन् । यहाँका ३९ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्रमा करिब ४ कर्मचारी खटाइने भएको छ ।

तपाईको प्रतिक्रिया