माधव वियोगी पुरस्कार उपाध्यायलाई

समाधान संवाददाता २०७९ मंसिर २ गते १५:५९

पोखरा ।
महाकाव्यकार माधव वियोगीको नाममा स्थापित माधव वियोगी साहित्य पुरस्कार कविवर मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिएको छ । मंगलबार छोरेपाटनस्थित बेलघारी बहुउद्देश्यीय भवनको सभाहलमा भएको समारोहमा उपाध्यायलाई पुरस्कार प्रदान गरिएको हो ।

नेपाली कविता लेखनका साथै भाषा र व्याकरणको सही रूप पहिचानका लागि अभियानात्मक कार्यमा संलग्न भएको भन्दै उनलाई १५ हजार एक रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि प्रदान गर्न गरिएको हो । उपाध्याय प्राकृतिक पोखरा काव्यका लागि सन् २०२१ सालको मदन पुरस्कार विजेता हुन् ।

प्रमुख अतिथी साहित्यकार सरुभक्तले आफ्ना शैक्षिक गुरु मुकुन्दशरणलाई पुरस्कार अर्पण गर्न पाउँदा खुसी लागेको बताए । वियोगीको ६२ औं जन्मोत्सवका अवसरमा हरिकाजीको चिहान, आदर्श गोकर्ण, म, लोहापुरुष र उषासन्देश नामक कृतिको लोकार्पण गरिएको थियो ।

Advertisement

विशेष अतिथि समाजसेवी विष्णुप्रसाद पौडेलले पुरस्कारका निम्ति असल पात्र चयन भएकामा प्रसन्नता व्यक्त गर्दै माधव वियोगी बाङ्मय प्रतिष्ठान नेपाललाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरे ।

पुरस्कृत व्यक्ति उपाध्यायले आफ्नो संस्कृतिको कदर गरेकोमा धन्यवाद प्रकट गर्दै आफ्नो भाषिक आन्दोलनको चर्चा गरे । पोखरेली साहित्यकारहरूले आफ्नो नाममा संस्था स्थापना गर्नु, रथारोहण सहित अभिनन्दन गर्नु ,पुरस्कार स्थापना गर्नु, र जन्मदिवस मनाउनुले राष्ट्र र समाजका लागि केही गर्न आफूलाई ऊर्जा थपिएको उनले बताए ।

Advertisement

डा तुलसी प्रवास, खगराज शर्मा आचार्यले वियोगीको व्यक्तित्वका बारेमा भनाई राखेका थिए । प्रतिष्ठानकी संरक्षक सरिता घिमिरे, पूर्वध्यक्ष कृष्णप्रसाद बास्तोला, कोषाध्यक्ष छन्दिका त्रिपाठी, महाकाव्यकार जनार्दनशरण त्रिपाठी र समाजसेवी इन्द्र खत्रीले पनि मन्तव्य राखेका थिए ।

शिव त्रिपाठी, निर्मला अर्याल, वसन्त चालिसे, लक्ष्मण गौतम हिमालीलगायतले कविता वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष रामनाथ अधिकारी सँगीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष नवराज बराल र सञ्चालन सचिव छन्दमणि त्रिपाठीले गरेका थिए ।

तपाईको प्रतिक्रिया