मुस्ताङको दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

समाधान संवाददाता २०७९ मंसिर २ गते १६:१७
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ समरको समर आधारभुत मतदान केन्द्रमा खटिएका महिला कर्मचारी तस्विर: सकुन्तला अधिकारी

जोमसोम ।
मुस्ताङका दुई मतदान केन्द्रमा पुरै महिला कर्मचारी खटिएका छन् । मुस्ताङको वारागुङ मुक्ति क्षेत्रको दुई मतदान केन्द्रमा पुरै महिला कर्मचारी नियुक्त भई कार्यस्थलमा खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जनाएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ लुप्राको लुप्रा आधारभुत मतदान केन्द्र र वारागुङ मुक्तिक्षेत्र–३ समरको समर आधारभुत मतदान केन्द्रमा पुरै महिला कर्मचारी खटाईएको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले जानकारी दिए । उनका अनुसार वारागुङ मुक्तिक्षेत्र–१२ को लुप्रा आधारभुत विद्यालय र वारागुङ मुक्तिक्षेत्र–३ को समर आधारभुत विद्यालयमा ७÷७ जना महिला कर्मचारी खटाईएको हो ।

मुस्ताङको लुप्रा आधारभुत मतदान अधिकृतको रुपमा लुप्रामा वीणा श्रेष्ठ र सहायक मतदान अधिकृतको रुपमा सरस्वती थापा रोक्कासहित अन्य महिला कर्मचारी खटाईएको छ । वारागुङ मुक्तिक्षेत्र–३ को समर आधारभुत मतदान केन्द्रमा सकुन्तला अधिकारीलाई मतदान अधिकृत र कल्पना गुरुङलाई सहायक मतदान अधिकृतको रुपमा निर्वाचन गराउन पठाईएको मुख्य निर्वाचन अधिकृत पराजलीले उल्लेख गरे ।

Advertisement

मुख्य निर्वाचन अधिकृत पराजुलीले मुस्ताङमा पर्याप्त महिला कर्मचारी रहेको हुँदा उनीहरुले निर्वाचन गराउन जिम्मेवारी दिइएको बताए । महिला कर्मचारीले मात्रै गराउने निर्वाचन अन्तर्गत समर मतदान केन्द्रमा ३४ जना र लुप्रा मतदान केन्द्रमा ६३ जना मतदाता छन् ।

मुस्ताङको ३९ वटै मतदान केन्द्र मध्ये समर आधारभुत मतदान केन्द्रमा सबैभन्दा कम मतदाता रहेको निर्वाचनमा खटिएकी मतदान अधिकृत सकुन्तला अधिकारीले जानकारी दिईन् । हामी ‘बिहीबारनै मुख्य निर्वाचन कार्यालयबाट मतपत्रसहित मतदान सामाग्री लिएर यहाँ मतदान केन्द्रमा आईपुग्यौं,’ उनले भनिन्,‘ यहाँ आएर सर्वदलीय र सर्वपक्षिय बैठक सम्पन्न गर्‍यौं, अब हामी बिस्तारै निर्वाचनका लागि मतदान स्थल लगायतको पुर्वाधार निमार्ण गर्दैछौं ।’

Advertisement

मुस्ताङको दुई मतदान केन्द्रमा खटाईएका महिला कर्मचारीसंगै सुरक्षाकर्मी पनि अधिकाँश महिला सुरक्षाकर्मीनै रहेको लुप्रा मतदान केन्द्रकी मतदान अधिकृत वीणा श्रेष्ठले जानकारी दिईन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङका अधिकाँश मतदान केन्द्रहरुमा पुरुषसंगै महिलाकर्मी खटिएको जनाईएको छ ।

मुस्ताङका एक अस्थायी मतदान केन्द्र र ३८ मतदान केन्द्रमा खटिने मतदान अधिकृतहरुलाई मतपत्रसहित मतदान सामाग्री दिएर बिहीबारै सम्वन्धित मतदान केन्द्रमा पठाईएको हो । मुस्ताङको एक मतदान केन्द्रमा भने सडकमा हिउँ जमेर बसेकाले शुक्रबार बिहान मात्रै सो स्थानमा पठाईएको हो । मुस्ताङको सांङता मतदान केन्द्रमा मतदान सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पठाउन गाउँपालिकाले डोजर परिचालन गरी सडक क्रस गराईएको थियो ।

अहिले मुस्ताङका एक अस्थायीसहित ४० वटै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी सम्वन्धित केन्द्रमा पुगेर निर्वाचनको तयारी सुरु गरिसकेको जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए । सांङताको हिमाली आधारभुत मतदान केन्द्रमा ३५ जना मतदाता छन् । यो मतदान केन्द्र मुस्ताङकै दोश्रो थोरै मतदान केन्द्र हो ।

मुस्ताङको ३९ मतदान केन्द्र मध्ये सबैभन्दा मतदाता थासाङ–२ कोवाङको जनआर्दश माविमा छन् जहाँ कुल ६४९ मतदाता छन् । यस्तै, मुस्ताङको दोश्रो बढी मतदाता घरपझोङ गाउँपालिका–४ जोमसोमको जनहित माविमा ६२५ जना मतदाता छन् ।

मुस्ताङका ५ स्थानीय तहमा कुल १०९५७ जना मतदाता छन् । जसमध्ये मुस्ताङ प्रदेश ‘क’मा ३५४१ जना र मुस्ताङ प्रदेश ‘ख’ मा कुल ७४१६ जना मतदाता छन् ।

तपाईको प्रतिक्रिया