मनाङ र मुस्ताङको निर्वाचनमा ‘एन्टी इन्कम्बेन्सी फ्याक्टर’

उम्मेदवार दोहोर्‍याउँदा एमाले दुवै जिल्लामा क्लिन स्विप हुनुपरेको छ

रिखिराम जिसी २०७९ मंसिर ७ गते ११:३४

पोखरा ।
राजनीतिमा एउटा भनाइ छ—जनताको मनोविज्ञान सधैं सत्ताको विपक्षमा हुन्छ । त्यस्तो भावना सरकार र सत्ताका हकमा मात्रै लागु हुन्न । जो पदमा छ, त्यसका विपक्षमा पनि विरोधी जनभावना हुन्छ । त्यस्तो भावनालाई राजनीतिमा एन्टी इन्कम्बेन्सी भनिन्छ ।

निर्वाचनमा हुने हार र जित कतिपय अवस्थामा त्यस्तै एन्टी इन्कम्बेन्सी फ्याक्टर महत्वपूर्ण हुन्छ । मनाङ र मुस्ताङको प्रदेश सभा प्रतिनिधि सभा निर्वाचनमा भएको हारजितले पनि त्यस्तै देखाउँछ, जो यसअघि नै सांसद थिए तिनले पराजय व्यहोरेका छन् र जो थिएनन् तिनले जिते ।

मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा पराजित एमालेका प्रेम तुलाचन दोहोरिएका उम्मेदवार हुन् । उनी २०७४ मा निर्वाचित भएका थिए । मनाङमा पनि एमालेका निवर्तमान सांसद पोल्देन छोपाल गुरुङको दोहोरिने चाहनामा उनकै पुराना प्रतिस्पर्धी कांग्रेसका टेकबहादुर गुरुङले ब्रेक लगाइदिए ।

Advertisement

निर्वाचन बिदाइ समारोह पनि हो, स्वागत गेट पनि हो
योगराज लामिछाने

प्रेम तुलाचन (मुस्ताङ) २०७४ विजयी । २०७९ पराजय
पोल्देन छोपाङ गुरुङ (मनाङ) २०७४ मा विजयी । २०७९ मा पराजय
ईन्द्रधारा विष्ट मुस्ताङ (२) २०७४ मा विजयी । २०७९ मा पराजय
चन्द्रमोहन गौचन मुस्ताङ (१) २०७४ मा समानुपातिक सांसद । २०७९ पराजय
टेकबहादुर गुरुङ (मनाङ) २०७४ मा पराजय । २०७९ मा विजयी

Advertisement

मुस्ताङको प्रदेश सभा ‘क’ र ‘ख’ मा एमाले उम्मेदवार पनि गण्डकी प्रदेश सभाका निवर्तमान सांसद हुन् । तर दोहोरिने चाहनासहित चुनावी मैदानमा होमिएका दुवै उम्मेदवार यसपालिको निर्वाचनमा पराजित हुन पुगे ।

प्रतिनिधि सभामा तुलाचन योगेश गौचनसँग ९ सय १४ मतान्तरले पराजित भए । ७ हजार २ सय ३० मत खसेको मुस्ताङमा योगेशले ३ हजार ९ सय ९२ मत र एमालेका तुलाचनले ३ हजार ७८ मत ल्याए । २९ वर्षीय गौचन कांग्रेसको सबैभन्दा कान्छा सांसद हुन् । २०७४ सालको निर्वाचनमा मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका एमालेका तुलाचनले त्यो चुनावमा कांग्रेसका रोमी गौचनलाई पराजित गरेका थिए ।

रोमी योगेशका बाबु हुन् । वाम गठबन्धनका संयुक्त उम्मेदवार बनेका एमालेका तुलाचन ३ हजार ३ सय १७ र रोमीले २ हजार ८ सय ३२ मत प्राप्त गरेका थिए । २०७० सालमा चुनाव जितेर मन्त्री भइसकेका रोमी दोहोरिन खोज्दा एन्टी इन्कम्बेन्सी फ्याक्टरका कारण पराजित हुन पुगे ।

प्रतिनिधि सभा सदस्यका लागि मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङले अघिल्लो निर्वाचनको बदला लिए । २०७४ को निर्वाचनमा पोल्देन छोपाङ गुरुङसँग पराजित भएका टेकबहादुर यसपालि उनैलाई हराएर प्रतिनिधि सभा सदस्य भएका छन् । उनले २ हजार ५ सय ७५ र एमालेका पोल्देनले २ हजार २ सय ४७ मत लिए ।

पराजित भएका पोल्देन यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै सांसद बनेका थिए । उनले २०७४ को निर्वाचनमा २ हजार १ सय ६७ र पराजित भएका टेकबहादुरले १ हजार ९ सय १९ मत प्राप्त गरेका थिए । ५ वर्षे कार्यकाल सकेर दोहोरिने सोचसहित चुनावी मैदानमा होमिएका पोल्देन पराजित हुन पुगे ।

मुस्ताङको प्रदेश सभा ‘क’ र ‘ख’ पनि ‘एन्टी इन्कम्बेन्सी फ्याक्टर’ का कारण २ निवर्तमान सांसद पराजित भए । दुवै उम्मेदवारलाई कांग्रेसका युवा उम्मेदवारले पराजित गरे । प्रदेश सभामा ‘क’ मा ३५ वर्षीय नम्डु गुरुङ र प्रदेश सभा ‘ख’ बाट ३८ वर्षीय विकल शेरचनले निवर्तमान सांसदलाई पराजित गर्दै सांसद बने । गुरुङले १ हजार ४८ मत ल्याएर विजयी भए ।

उनका प्रतिस्पर्धी एमालेका इन्द्रधारा ढाडु विष्टले ७ सय ९३ मत ल्याए । विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए । उनले १ हजार १ सय ६७ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । कांग्रेसका मिम्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका थिए ।

कांग्रेसका विकल शेरचन एमालेका चन्द्रमोहन गौचनलाई १ सय ५८ मतले पराजित प्रदेश सभा सदस्यमा विजयी भएका हुन् । शेरचनले २ हजार ७ सय २३ मत र एमालेका गौचनले २ हजार ५ सय ६५ मत पाए । गौचन एमाले जिल्ला अध्यक्ष र २०७४ को निर्वाचनमा समानुपातिकतर्फ प्रदेश सांसद थिए ।

विजयी भएका नम्डु र विकल निर्वाचनमा नयाँ अनुहार हुन् । युवा, लामो राजनीतिक अनुभव नभएको, जनतासँग राम्रोसँग नभिजेको भन्दै एमालेलाई जितका लागि सहज हुने अनुमान थियो । तर त्यसको ठीक विपरीत एमाले उम्मेदवार पराजित हुन पुगे । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएर ५ वर्षको कार्यकाल पूरा गरेर पुनः चुवानी मैदानमा फर्किएका उम्मेदवार ‘एन्टी इन्कम्बेन्सी फ्याक्टर’ का कारण पराजित हुन पुगेका हुन सक्छन् ।

यतिमात्रै होइन, मतगणना जारी रहेका अधिकांश क्षेत्रहरुको प्रारम्भिक नजिता पनि दोहोरिन चाहेका उम्मेदवारको पक्षमा आएको छैन । एक पटक निर्वाचित भएर पनि जनताका लागि महत्वपूर्ण काम गर्न नसकेकालाई बिदाइ गर्ने भनेकै आवधिक निर्वाचन भएकाले विदाई गर्नु स्वाभाविक रहेको पूर्व विद्यार्थी नेतासमेत रहेका पोखरा विश्वविद्यालयका प्राध्यापक योगराज लामिछानेले बताए ।

‘आवधिक निर्वाचन भनेर जुन हामीले लोकतन्त्रमा जुन विश्वास गछौैँ । आवधिक निर्वाचन ५ वर्षमा गर्नुको औचित्य नै पदमा गएर पनि केही निकास दिन नसक्ने, कुनै योजना दिन नसक्ने, महत्वपूर्ण जनतालाई अनुभूति गराउने काम गर्न नसक्नेहरुलाई बिदाइ गर्नका लागि आयोजना गरिएको विवाद समारोह पनि हो । उनीहरु बिदाइ हुनु स्वभाविक हो,’ लामिछानेले भने ।

निर्वाचन निर्वाचन स्वागत गेट र बिदाइ समारोह दुवै प्रक्रिया भएको प्राध्यापक लामिछानेले बताए । ‘निर्वाचन बिदाइ समारोह पनि हो, स्वागत गेट पनि हो । योजना अनुभव भरोसा भएका मान्छेहरुलाई स्वागत गर्छ, जनतालाई परिवर्तनको अनुभूति गराउन नसक्नेलाई विदाइ पनि गर्छ,’ उनले भने, ‘यो स्वाभाविक प्रक्रिया हो ।’

केही जनताका लागि महत्वपूर्ण योगदान दिएकाहरु पुनः निर्वाचित भइरहेको प्राध्यापक लामिछानेले सुनाए । ‘एक पटक अवसर पाएर त्यसबाट आउटपुट दिन सकेका मान्छेहरु त्यसैको जगबाट पुनः निर्वाचित पनि भएका छन्,’ उनले भने ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया