मतगणना सुस्त, अझै लाग्न सक्छ ७ दिन

रिखिराम जिसी २०७९ मंसिर ७ गते १२:०५

पोखरा ।
निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा ८ दिनभित्र अर्थात मंसिर १२ गतेसम्म सार्वजनिक गर्ने दाबी गरेको छ । देशका धेरै जसो क्षेत्रमा अहिले मतगणना जारी छ । केही स्थानको अन्तिम नतिजा आइसकेको छ भने केही स्थानमा मत गणना सुरु हुनै बाँकी छ ।

कास्कीका प्रतिनिधि सभा र प्रदेश सभाका ३/३ क्षेत्रको मतगणना जारी छ । अहिलेकै गतिमा गणना हुने हो भने कास्कीमा निर्वाचन आयोगले तोकेको मितिमा मतगणना सकिन कठिन हुने देखिन्छ । कास्कीको क्षेत्र नम्बर २ प्रतिनिधि सभा प्रत्यक्षतर्फ सबैभन्दा पहिले मतगणना सुरु भएको थियो ।

जहाँ मंसिर ४ गते राति १२ बजेबाट मत गणना सुरु भएको थियो । तर मतगणना सुरु भएको ४२ घन्टासम्म १५ हजार मतमात्र गणना भएको छ । मंगलबार साँझ ६ बजेसम्म १५ हजार ८१ मत गणना भएको तथ्यांक छ । यसलाई हिसाब गर्ने हो भने १ घन्टामा करिब ३ सय ५९ मत गणना भएको देखिन्छ ।

Advertisement

कास्की २ नम्बर क्षेत्रमा मंसिर ४ को निर्वाचनमा ७९ हजार १ सय ३८ मत खसेको थियो । यस अनुसार नै गणना गर्ने हो भने अझै १ सय ७८ घन्टा अर्थात ७ दिन ६ घन्टा लाग्नेछ । यसो त अन्य निर्वाचन क्षेत्रमा पनि मत गणना छरितो हुन सकेको छैन ।

अहिलेको मतपत्र स्थानीय तह निर्वाचनभन्दा छरितो छ । उम्मेदवार नभएको पार्टीका चिन्ह मतपत्रमा छैनन् । स्थानीय तहको निर्वाचनमा एउटा मतपत्रमा वडा सदस्यदेखि मेयर, उपमेयरसम्मको मत गणना गर्नुपथ्र्यो तर अहिलेको मतपत्रमा एउटामात्र छाप लगाउने अवस्था छ । त्यस कारण पनि मत गणना गर्न सहज हुन्छ । तर पनि मत गणनामा छरितो हुन सकेको छैन ।

Advertisement

कास्कीका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले सबै प्रकारका मत एकै पटक गणना गर्दा गणना ढिलाइ भएको तर्क गरे । ‘४ वटा मतपत्रसँगै गणना गर्नुपर्‍यो । हामीले के अनुुमान गरेका थियौं भने प्रत्यक्षको सानो मतपत्र छ, छिट्टै गन्छौ, प्रत्यक्ष सकेर समानुपातिक गर्ने योजना थियो । तर सँगै गन्ने भएपछि प्रत्यक्षको छिटो सकिए पनि समानुपातिकलाई पर्खनुपर्‍यो,’ उनले भने ।

फरक ब्यालेट बक्समा मतपत्रको भेटिँदा पनि मत गणनामा ढिलाइ भएको उनको भनाइ छ । ‘यताको मतपत्र उता छ, उताको मतपत्र यता छ । सबैलाई सदर गर्नका लागि सँगै नगनी नहुने परिस्थिति भयो,’ खरेलले भने ।

सबै मतपत्रको अभिलेख राख्नुपर्ने खरेलले बताए । ‘काउन्टिङकै क्रममा कहिले समानुपातिकको मतपत्र प्रत्यक्षमा भइदिन्छ, कहिले प्रदेश सभाको समानुपातिकको प्रतिनिधि सभाको समानुपातिक तिर भइदिन्छ । त्यसको सबै अभिलेख राख्नुपर्‍यो,’ उनले भने, ‘एकापसमा परिवर्तन गर्नुपर्‍यो ।’

प्रतिनिधि सभाको प्रत्यक्ष, समानुपातिक, प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक ४ वटैको समानान्तर रुपमा गणना भइरहेको खरेल जानकारी दिए । प्रदेश सभा प्रत्यक्षतर्फको मत गणना बुधबारसम्म सक्ने लक्ष्य रहेको खरेलले सुनाए । ६ दिनभित्र कास्कीका सबै क्षेत्रको नतिजा आइसक्ने उनले दाबी गरे । ‘मत गणनाले विस्तारै गति लिन्छ, ६ दिनभित्र कास्कीका सबै क्षेत्रको नतिजा आइ सक्छ,’ उनले भने ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया