एमालेको विरासतमा गबुर्जाको ब्रेक

रिखिराम जिसी २०७९ मंसिर ९ गते १०:४८

पोखरा ।
प्रतिनिधि सभा सदस्यमा म्याग्दीबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा विजयी भए । गर्बुजाको तेस्रो प्रयासमा भएको जित हो । म्याग्दीमा कांग्रेसको जितपछि एमालेको २३ वर्षे लामो विजयी यात्रा टुंगिएको छ ।

म्याग्दी कांग्रेस सभापतिसमेत रहेका गर्बुजाले एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई ४ हजार मतान्तर पछि पार्दै विजयी बनेका हुन् । गर्बुजाले २४ हजार २१ र एमालेका श्रेष्ठले २० हजार १ सय ८९ मत पाएका छन् ।

तेस्रो प्रयासमा सफल भएका गर्बुजा यसअघि २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचन र २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेकै उम्मेदवारबाट पराजित भएका थिए । पहिलो पटक २०७० मा एमालेका नवराज शर्मासँग गर्बुजा ३ हजारभन्दा बढी मतले पराजित भएका थिए । शर्माले १५ हजार ९ सय ५५ मत गर्वुजाले १२ हजार ५ सय ९ मत प्राप्त गरेका थिए ।

Advertisement

दोस्रो पटक गर्बुजा २०७४ को निर्वाचनमा पनि एमालेसँगै पराजित भए । वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार भूपेन्द्रबहादुर थापासँग करिब ३ हजार मतान्तरसहित गर्बुजा पछि परेका थिए । थापाले २३ हजार ३ सय ८ मत र गर्बुजाले २० हजार ९ सय ८० मत प्राप्त गरेका थिए ।०६४ सालमा समानुपातिकतर्फ नाम सिफारिस भए पनि उनी निर्वाचित हुन सकेका थिएनन् ।

गर्बुजा कांग्रेसमा २०५४ सालदेखि आवद्ध भएका हुन् । बेलायती सेनाबाट अवकाश लिएर आएपछि उनले २०५४ सालमा तरुण दलको सदस्यता लिएका थिए । २०६७ सालमा भएको नेपाली कांग्रेस म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट उपसभापति र २०७२ सालमा सम्पन्न छैठौं जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

Advertisement

म्याग्दीमा कांग्रेसको यो जित २३ वर्षपछिको जित हो । म्याग्दीमा २०५६ सालमा नेपाली सेनाका सेवा निवृत्त म्याग्दीका कर्नेल नारायणसिं पुन विजयी भएका थिए । उनको निधन भइसकेको छ । त्यसपछि भने म्याग्दीमा कांग्रेसले कुनै पनि निर्वाचनमा जित हात पार्न सकेको थिएन ।

गर्बुजाले निर्वाचित भएसँगैे यो आफ्नोमात्रै जित नभएर समग्र म्याग्दीवासीको जित भएको बताए । ‘म जनताको शासक होइन, सेवक भएर काम गर्ने छु, मेरो बुद्धि, वर्ग र सामथ्र्यले भ्याएसम्म म्याग्दीलाई विकासको मीठो फल चखाउने प्रयास गर्ने छु,’ उनले भने, ‘कतै म अल्मलिएँ वा लर्बरिएँ भने मलाई सचेत बनाउनुहोला ।’

म्याग्दीको प्रदेश सभाका दुवै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा ‘१’ मा माओवादीका हरि भण्डारी र प्रदेश सभा ‘२’ मा रेशम जुग्जाली विजयी भएका हुन् ।

भण्डारीले नेकपा एमालेका उम्मेदवार देवेन्द्रबहादुर कटुवाललाई ९ सय ७५ मतान्तरले पराजित गरेका हुन् । भण्डारीले १२ हजार ७ सय ४० र कटुवालले ११ हजार ७ सय ६५ मत प्राप्त गरे ।

जुग्जालीले एमालेका उम्मेदवार यामबहादुर गर्बुजालाई १ सय १ मत मतान्तरले पराजित गरे । जुग्जालीले ९ हजार ४ सय ५४ र गर्बुजाले ९ हजार ३ सय ५३ मत प्राप्त गरेका छन् ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया