सञ्जय रानाभाट २०७९ मंसिर १२ गते १०:२८

सञ्जय रानाभाट, पोखरा ।
मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । गण्डकीमा प्रतिनिधि सभाका १८ मध्ये १७ र गण्डकी प्रदेशसभातर्फ ३६ मध्ये ३४ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ ।

स्याङ्जा २ बाहेक अन्य ठाउँको नजिता आइसकेको छ । नतिजा आएकामध्ये प्रतिनिधि सभातर्फ १ र प्रदेश सभातर्फ ५ क्षेत्रमा रोचक हारजित भएको छ । यी क्षेत्रमा ५ सयभन्दा कम मतान्तरले संघ र प्रदेशमा सांसद चुनिएका हुन् ।

कांग्रेस १, एमाले ५ ठाउँमा ५ सयभन्दा कम मतले पराजित भएका छन् । सबैभन्दा कम मतान्तरको हारजित ६ मतको छ । स्याङ्जा १ (२) मा एमालेका सुधीरकुमार पौडेलले ६ मतले कांग्रेस उम्मेदवारलाई पराजित गरेका छन् । पौडेलले कांग्रेसका निकटतम प्रतिस्पर्धी बुद्धिबहादुर रानालाई झिनो मतान्तरले हराएका हुन् ।

Advertisement

उनीहरूबीच ६ मतको फरक छ । मंसिर ४ गते निर्वाचन भएर नजिता प्रकाशन भइसकेका सबै क्षेत्रमध्ये स्याङ्जा १ (२) मा सबैभन्दा कम मतान्तर देखिन्छ । यहाँ एमालेका सुधीरकुमार पौडेलले १७ हजार ४ सय ४१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बुद्धि रानाले १७ हजार ४ सय ३५ मत ल्याए ।

५ सयको झिनो मतान्तरले हारजित हुनेमा प्रतिनिधिसभातर्फ मनाङ छ । मनाङमा कांग्रेसका टेकबहादुर गुरुङले थोरै मतान्तरले जित हात पारेका हुन् । यद्यपि मनाङमा मतदाता अन्य ठाउँमा भन्दा कम छन् । कांग्रेसका टेकबहादुरले एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय २८ मतको अन्तरले हराएका हुन् । एमालेका गुरुङले २ हजार २ सय ४७ मत पाए ।

Advertisement

झिनो मतान्तरले जित्नेमा माओवादी केन्द्रका उम्मेदवार पनि छन् । म्याग्दी प्रदेश सभा २ का माओवादी उम्मेदवार रेशम जुग्जालीले एमाले उम्मेदवार यामबहादुर गर्बुजालाई ५ सयभन्दा कम मतान्तरले पराजित गरे । रेशमले ९ हजार ४ सय ५४ मत ल्याउँदा एमालेका गर्बुजाले ९ हजार ३ सय ५३ मत ल्याए । उनीहरूबीच १ सय १ मतको अन्तर छ ।

प्रदेश सभातर्फ मुस्ताङ २ बाट कांग्रेसका विकल शेरचनले पनि झिनो मतान्तरले जित निकाले । उनले एमालेका चन्द्रमोहन गौचनमाथि १ सय ५८ मतले जित हाँसिल गरे । कांग्रेसका शेरचनले २ हजार ७ सय २३ मत ल्याउँदा एमालेका गौचनले २ हजार ५ सय ६५ मत पाए ।

थोरै अन्तरले पेचिलो हार बेहोर्नेमा गण्डकी प्रदेश सभातर्फ मनाङ (१) र मुस्ताङ (१) का उम्मेदवार पनि छन् । यी दुवै स्थानमा झिनो मतले विजयी हुनेमा कांग्रेसका उम्मेदवार नै छन् । हार्नेहरु एमाले उम्मेदवार हुन् ।

मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ २ सय ५० मत बढी पाएर चुनिएका थिए । गुरुङले एमालेका उम्मेदवार ईन्द्रधारा डादु विष्टविरुद्ध जित निकालेका हुन् । नम्डुले १ हजार ४८ मत पाउँदा एमालेका ईन्द्रधाराको भागमा ७ सय ९३ मत परेको छ ।

मनाङ (१) मा पनि कांग्रेस उम्मेदवारले एमाले उम्मेदवारलाई थोरै मतान्तरले हराएका छन् । कांग्रेसका मुनिन्द्रजंग गुरुङ र एमालेका राजनबहादुर गुरुङको मतान्तर ३ सय ३० छ । मुनिन्द्रजंगले १ हजार २ सय ५५ मत ल्याउँदा एमालेका राजनले ९ सय २५ मत पाएका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया