जोशीको उम्मेदवारी रामचन्द्रलाई भएन भारी

रिखिराम जिसी २०७९ मंसिर १२ गते ११:५३

पोखरा ।
तनहुँका नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको सम्बन्ध र टकराव नेपाली राजनीतिमा नयाँ र नौलो होइन । २०४८/४९ सालदेखि उनीहरुको प्रतिस्पर्धा र बेमेल निरन्तर चलिरह्यो ।

पौडेल र जोशी दुवैको पार्टी, गुट एउटै थियो । एउटै पार्टीको एउटै गुटमा रहँदा पनि एकै जिल्लाका पौडेल र जोशीबीच कहिल्यै पनि सौहार्दपू्र्ण सम्बन्ध रहन सकेन । जिल्लामा बढी सक्रिय जोशी सधै कार्यकर्तासँग जोडिए । पौडेल केन्द्रमा नै सधैँ बलियो नेताका रूपमा रहन पुगे ।

जोशी शिक्षक भएर काम गर्दा तथा वकिल हुँदा स्थानीय नेता–कार्यकर्तासँग नजिक भए । पौडेलको जन्म तनहुँमा भए पनि पञ्चायती व्यवस्था सुरु भएलगत्तै पौडेल बिपी कोइरालाको संगतमा पुगे ।

Advertisement

स्थानीय तह निर्वाचनमा झै जोशीले कांग्रेस विरुद्ध मोर्चा बनाएको भए पौडेल हार्न सक्थे । जोशी र एमालेको मत जोड्दा पौडेलले ल्याएको भन्दा धेरै हुन्छ

बनारसबाट नेपालमा राजनीतिक गतिविधि चलाइरहँदा पश्चिमी कमान्ड पौडेललाई दिएको मन पराउँदैनथे, जोशी । त्यतिवेला उनले ‘भूगोलमा राजनीति गरेको नेता म हुँ’ भन्दै बिपीसँग समेत गुनासो गर्ने गरेका थिए । त्यसयता जोशीले पौडेललाई नेताका रूपमा कहिल्यै स्वीकार्न नचाहेनन् ।

Advertisement

२०४८ सालमा भएको निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट उठेर जोशीलाई कांग्रेसको प्रभाव नरहेको क्षेत्र नम्बर २ मा पठाए । तनहुँ १ बाट चुनाव जितेर पौडेल स्थानीय विकास तथा कृषि मन्त्री भए । जोशीले पनि चुनाव त जितेका थिए ।

पौडेलले २०५१ को मध्यावधि निर्वाचनमा जोशीले जितेको क्षेत्र सुरक्षित देखेर पौडेल त्यतै लागे । क्षेत्र नम्बर १ छोडेर क्षेत्र नम्बर २ बाट चुनाव लडे । र जोशीलाई क्षेत्र नम्बर १ मा उठाए । त्यसबेला पनि जोशीले चुनाव जिते ।

२०७० को संविधानसभा दोस्रो निर्वाचनमा पनि जोशीमाथि पौडेलको हस्तक्षेप देखियो । आफू तनहुँ २ बाट उठेका पौडेलले जोशीलाई प्रत्यक्षमा टिकट त दिएनन् नै, समानुपातिक उम्मेदवारका लागि आएको सिफारिससमेत उनकै बलमा काटियो ।

डेलको क्षेत्रबाट ६ जना समानुपातिक सांसद पर्दा १ र ३ बाट एकजनालाई पनि पारेनन् ।
२०७४ को निर्वाचनमा तनहुँ १ मा आफू सुरक्षित हुने गरी तनहुँ २ मा शंकर भण्डारीलाई टिकट दिए ।

जोशीको हात खाली भयो । टिकट नपाएपछि त्यही झोंकमा जोशीले रामचन्द्रविरुद्ध तनहुँ १ बाट स्वतन्त्र उम्मेदवारी दिए । पौडेल पक्षकै उजुरीका आधारमा निर्वाचन आयोगले भ्रष्टाचार मुद्दा लागेका जोशीको उम्मेदवारी खारेज गरिदियो ।

रामचन्द्रका कारण आफ्नो उम्मेदवारी खारेज भएपछि जोशीले नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सहयोग गरे । जुन निर्वाचनमा रामचन्द्र तनहुँका सबै क्षेत्रमा कांग्रेस पराजित हुन पुग्यो । श्रेष्ठले ६ हजार ८०२ मत अन्तरले पौडेललाई पराजित गरेका थिए ।

पौडेललाई हार चखाउन जोशी सफल रहे । निर्वाचनपछि अन्तर्घात गरेको भन्दै १० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्यसमेत नरहने गरी ५ वर्षका लागि जोशीलाई कारबाही ग¥यो ।

७४ सालमा पौडेललाई जितेका नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठ यसपालि भने पौडेललाई चुनाव क्षेत्र छोडिदिएर बारा ४ मा गए । तनहुँ–१ बाटै उम्मेदवार सिफारिस भएका केन्द्रीय सदस्य शंकर भण्डारीलाई तनहुँ २ मा र त्यहाँबाट टिकटको आकांक्षा राखेका केन्द्रीय सदस्य प्रदीप पौडेललाई काठमाडौं ५ मा पठाएर रामचन्द्र पौडेलले पार्टीभित्र सहज वातावरण बनाए ।

रामचन्द्र पौडेल र गोविन्दराज जोशीको टकराव स्थानीय तहको निर्वाचनमा पनि देखियो । गत वैशाख ३० गते भएको निर्वाचनमा कांग्रेसलाई पराजित गर्न जोशीले एमालेसँग तालमेल गरेका थिए । स्थानीय तहको निर्वाचनमा गोविन्दराज जोशी एमालेसँग तालमेल गरेर चुनावी मैदानमा थिए ।

नेकपा एमालेसँग चुनावी तालमेल गरेर व्यास नगरपालिकाको मेयरमा गोविन्दराज जोशीले छोरा दीपकराज जोशीलाई उम्मेदवार बनाएका थिए । एमालेसँग तालमेलबाट उम्मेदवारी दिएका दीपकराज नेपाली कांग्रेसका उम्मेदवारसँग २ सय ५२ को झिनो मतान्तरले पराजित भएका थिए ।

दीपकराजले ११ हजार ८ सय २६ र कांग्रेसका वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत ल्याए । न्यौपाने रामचन्द्र पक्षधर स्थानीय नेता हुन् । यसपटक भने रामचन्द्रलाई पराजित गर्न सकेनन् । अघिल्लोपटक जोशीको उम्मेदवारी खारेज हुँदा पराजय व्यहोरेका पौडेलले जोशीको उम्मेदवारीमा पनि विजयी भए ।

पौडेलले एमाले उम्मेदवार एकबहादुर रानामगरलाई ५ हजार ३ सय ८० मतले पराजित गरे । पौडेललाई हराउँछु भनेर स्वतन्त्र उम्मेदवारी दिएका जोशीले ६ हजार ८ सय ८६ मत पाएका छन् । यहाँ पौडेल २५ हजार ३ सय ६१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका एकबहादुरले १९ हजार ९ सय ८१ मत पाएका छन् ।

तर, जोशी र रानाको मत जोड्दा भने पौडेलका भन्दा धेरै हुन्छ । स्थानीय तह निर्वाचनमा झै जोशीले कांग्रेस विरुद्ध तालमेल गरेका भए पौडेल हराउने उनको इरादा पूरा हुने मत परिणामले देखाएको छ । राना र जोशीको मत एकै ठाउँमा भएका भए पौडेल १ हजार ५ सय १६ मतले हार्न सक्थे ।
— रामचन्द्र पौडेल २५३६१
— एकबहादुर राना १९९९१
— गोविन्दराज जोशी ६८८६
— राना र पौडेलको मतान्तर ५३८०
— राना र जोशीको मत एक ठाउँ हुँदा २६८७७
— जोशी र रानाको मतसँग पौडेलको मतान्तर १५१६

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया