यु १९ क्रिकेटमा सुदूरपश्चिमको जित

समाधान संवाददाता २०७९ मंसिर १५ गते ११:३०

काठमाडौं ।
यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेस प्रदेशलाई ७ विकेटले पराजित गर्दै विजयी भएको हो ।

मधेसले सुदूरपश्चिमलाई जितका लागि १ सय २३ रनको लक्ष्य दिएको थियोे । त्यसमा सुदूरपश्चिमले १८ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा दीपक बोहोराले सर्वाधिक ५३ रनको अर्धशतकीय ईनिङ खेले ।

त्यस्तै अर्का खेलाडी दीपक बोहोराले २४ रन जोड्दा गजेन्द्र बोहोराले २३ रन जोडे । मधेसका लागि अविशेक तिवारीले २ विकेट लिए भने साइमन रोयले १ विकेट लिए ।

Advertisement

त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेस प्रदेशले ३८ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । मधेस प्रदेशका लागि अली अन्सारीले ३२ रन जोडे भने इम्रान शेखले २८ रन जोडे । मयन यादवले २३ तथा डब्लु मल्लिकले ११ रन बनाए ।

सुदूरपश्चिमका लागि नरेन साउद एक्लैले ५ विकेट लिए । हेमन्त धामीले ३ तथा युवराज खत्रीले २ विकेट लिए । अपराजित सुदूरपश्चिमले ५ खेलबाट १० अंक जोडेको छ । यो हारसँगै मधेस प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।

Advertisement

प्रतियोगितामा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।

तपाईको प्रतिक्रिया