घन्टी बजाउँदै, हलो जोत्दै…

मदन भण्डारी २०७९ मंसिर १९ गते १२:३२

सबै मालिकले इमान्दार नोकर खोज्नु स्वाभाविक हो । नोकर र मालिकको सन्दर्भलाई नेपाली राजनीतिमा प्रचण्डले विशेष ढंगले उठाएका हुन् । जनयुद्धका बेला कांग्रेस–एमाले नोकरसँग होइन, मालिक राजासँगै वार्ता गर्छौँ उनले भनेका थिए । समयक्रममा मालिकलाई गुल्ट्याइयो, सोनिया गान्धीका नोकरहरुले सबै काम उल्टो गरे ।

संविधान जारी गरिएपछि भारतले बाबुरामलाई मधेसतिर काज खटायो । त्यहाँ उनलाई संविधान जलाउन भनियो । मधेसमा बाबुरामले गरिखान सकेनन् । ०७९ मंसिरे चुनावको बेला पुरानो दरबन्दीमै बाबुरामको काज फिर्ता भयो ।

बाबुरामकै योजनामा प्रचण्ड चितौनबाट टाप कसेर गोर्खामा चुनाव लड्न पुगे । प्रचण्डले चितौनबाटै चुनाव लडेका भए….! माओवादी कार्यकर्ता जिब्रो टोक्दै छन् । चितौनमा रविले घण्टी बजाउने छनक नेताले पहिल्यै पाएका हुँदा हुन् । सत्ताका ठालू, सिके राउत वा रवि ‘एक ही थैलीका चट्टेबट्टे’ हुन् भन्ने ठोकुवा गर्न विज्ञ भइरहनु पर्दैन ।

Advertisement

अहिल्यै रविजीको अघ्घोर प्रशंसा चाहिँ प्रचण्डको देवत्वकरण जस्तै हुन सक्छ । बालेन शाहलाई देउताकै रुपमा उचालियो, अहिले राच्छेस भनिँदै छ

स्वतन्त्र राष्ट्रिय पार्टीका तोसिमा र सोविता जस्ता महान माननीयले समयक्रममा आफ्ना महानता अवश्य प्रकट गर्लान् । अहिल्यै रविजीको अघ्घोर प्रशंसा चाहिँ प्रचण्डको देवत्वकरण जस्तै हुन सक्छ । वालेन शाहलाई देउताकै रुपमा उचालियो, अहिले राच्छेस भनिँदैछ ।

Advertisement

नेपाली कांग्रेसको महाधिवेशनमा राजेन्द्र लिङ्देनको भाषणले प्रचण्ड फिक्का परेपछि केपी ओलीले समेत लिङ्देनलाई बाच्छो भनेर खिस्याएका थिए । चुनावताका पनि केपीले शँख फुक्दै, लौरो टेक्दै र घण्टी बजाउँदै आउनेहरुले केही गर्न नसक्ने बताएका हुन् ।

बिचरो बालकृष्ण न्यौपानेको शँख फुक्ने दम पुगेन । मिडियामा न्यौपाने र सुरेन्द्र केसी अरुलाई बुद्धू, आफूलाई बुद्ध भन्ने गर्छन् । न्यौपानेले शँख फुक्न नसके पनि रविले जोडदार घण्टी बजाए । लिङ्देन राम्रै हलो जोत्दैछन् । रवि व्यवस्था ठीक छ, अवस्था फेर्ने भन्छन् ।

नेपाली राजनीतिमा व्यवस्थै फेर्ने एजेन्डा बोकेको पार्टी लिङ्देनको मात्रै हो । उनले कमल थापाकै पदचाप पच्छयाएनन् भने उज्ज्वल भविष्यको पूर्वानुमान गर्न सकिन्छ । एमाले र राप्रपाको तालमेलमा झेल नभए २ वर्ष भित्रैमा गठबन्धनका सारा बन्धन मक्किएको चुइयाझैँ खात्लाकखुत्लुक हुने निश्चित छ । माकुराको जालोमा ससाना कीरा अल्झिन्छन्, ठूला जन्तु अल्झिदैनन्।

अब एमाले सच्चिने सम्भावना बढेको छ । पानी ट्याङ्कीमा पैसा लुकाउनेहरु उदाङ्गिए । ज्वाइँका लागि अकूत थुपार्ने मेयर ताससम्म तान्न नसक्ने अवस्थामा छन् । स्याङ्जाको कांग्रेसी गढमा ९८ प्रतिशत भोट खस्नु एमालेका लागि शिक्षाको औसर पनि हो । पार्टीले देवीमाथिको अन्याय सम्झेर पद्यामाथि न्याय गर्नुपर्छ ।

सरकारी गठबन्धन र प्रमुख प्रतिपक्षीले चुनावमा बालीसुग्रीवकै रुप देखाएका थिए । गठबन्धन सरकारको सारा शक्ति र भाट मिडिया एक्लो केपी ओलीलाई प्रतिगामी ठहर गर्न टुप्पी कसेर लागेका थियो । माला लगाइएको सुग्रीवलाई ठम्याएर रामले बालीमाथि प्रहार गरेझैँ जनताले यसपालि प्रहारको केन्द्र माओवादीतिर सोझ्याए ।

०६४ सालमा दुई तिहाई नजिक पुगेको माओवादीको हाल बेहाल भयो । रामबहादुरलाई एमालेतिर धकेलेर पम्फाले आफ्नै छोरी वयकी तोसिमा सँग हार बेहोरिन् । कान्छाबहादुरले मरिचझैँ चाउरिएर धाँदली भएको बताए ।

एमसिसीमा देशभक्ति देखाउँदा चुनाव हारेँ भन्न लजाएनन् । मुक्तिरामको हत्याले जनता चिढिएको सम्झेनन् । सभामुखको हैसियतकीले काठमाण्डूका जनताका अगाडि आफूले साँस्कृतिक धरातल उच्च गर्न नसकेकी सत्यको भेउ पाइनन् । जनयुद्धकै रापतापको बेलाको चिसो खरानी तापेर धेरै उम्मेद्वारले चुनाव जित्न खोज्दा पछारिए । आफ्नी छोरी नखरमाउली तन्नेरीलाई दोष भनेझैँ अहिले गगन–रविको थाप्लोमा दोष थोपरिँदै छ ।

अब संसदमा मधेस प्रदेश नेपाल होइन भन्दै सिके राउत चिच्याए भने जनता चिढिने छैनन् किनभने पहाडिया बाउनवादी अहंकारले सीमा नाघ्यो । जातजाति, भूगोल र धर्मका नाउँमा कमरेडहरुले नेपाली–नेपालीलाई फुटाए । जनतालाई कांग्रेस र एमालेप्रति तीव्र घृणा गर्न सिकाएर माओवादी नेता घरि यता घरि उता टाँस्सिए । नागरिकता विधेयकले सिक्किमीकरणको खतरा बढेको थियो, अब नेपाललाई दक्षिण कोरियाको बाटोमा अग्रसर गराइँदै छ ।

दक्षिण कोरियालाई फिरिँगीहरुले बनाएको भिरिँगीको देश भनिन्छ । एमसिसी पासपछि अमेरिकी सैन्यको स्वागतमा नेतागण दिल्ली कोठीका चेली जस्तै लामबद्ध छन् । त्यही लामको अगाडि अहिले गगन र रवि आइपुगे । गरिपो हाल्छन् कि….! ठूला दलप्रतिको घृणाले जनता नयाँप्रति आशावादी छन् । इण्डो पश्चिमाको खेल थाहा पाउन जनतालाई अझै डेड दुई वर्ष लाग्ला ।

लिङ्देन र कमल थापाको राप्रपालाई एउटै दृष्टिले हेर्नु गाईको गोबर र मान्छेको मललाई सँगै मुस्नु जस्तै हो । केही बूढा पञ्चले लिङ्देनको छहारी खोजे पनि हलोवाला राप्रपा अब पञ्चको पार्टी रहेन । त्यहाँ इतिहास पढेका र संस्कार–संस्कृति बुझेका युवाको उपस्थिति बढ्दैछ । एक मनिषाको समर्थनले हजार सुजाताका कांग्रेसभन्दा राप्रपा दर्विलो हुन्छ ।

सुजाताकै भविष्य चम्काउन गिरिजाले मदन भण्डारीको हत्या गराएका हुन् भन्ने उमेश गिरी बताईरहेका छन् । स्याङ्जाको कांग्रेसी गढमा बिदेशिएकाहरुले आएर भोट हाल्न सक्थे तर मरेका समेतले भोट खसाल्नु लोकतन्त्रको ठूलो उपहास हो । राजव कविता लेख्छन्:
राम्रो रुप र फूलको रहरिलो जो गर्दछन् चाहना
माटो उर्बर छैन त्यो यदिभने व्यर्थै छ त्यो कामना
माटो नै सबथोक हो कृषक नै माटो मिही पार्दछन्…

राजेन्द्र लिङ्देन हलो जोतेर माटो मिही पार्दैछन् । उनको मेहनत सराहनीय छ, राप्रपा नयाँ शक्तिको रुपमा उदायो । प्रदेश सभामा पनि उसले उम्मेद्वार उठायो । रविले उठाएनन् । विरोधाभास यहीँ छ । व्यवस्थाको समर्थकले प्रदेशको चुनाव लडेन । विरोधी राप्रपाले प्रदेश सभाको चुनाव लड्यो । देश बेचुवा नेताले आफ्नो दाउमा भाँजो हाल्ने दोस्रो तहका नेतालाई थन्क्याउनमात्रै प्रदेश सभा निर्माण गरेका छन् ।

माथिको काम केन्द्रले गर्छ, तलको काम स्थानीय तहले गर्छ; प्रदेशको कुनै उपादेयता देखिँदैन । २ नम्बर र गण्डकीले यसलाई निकै राम्ररी प्रमाणित गरेका छन् । काठमाण्डूमा स्थानीय सरकार र सुकुम्बासीको लडाइँ मच्चिँदा केन्द्र सरकार चूप्प छ, प्रदेश सरकारको अत्तोपत्तो पाइँदैन । प्रमाणित छ, प्रदेश सरकार चाहिँदैन ।

जनमतको हिसाबले सर्वाधिक ठूलो एमाले सरकार बनाउन हतार गर्दै छैन, यो रमाइलो पक्ष हो । संसदको ठूलो काङ्ग्रेस गगन थापालाई चर्को घेराबन्दी गर्दैछ, यो घृणालायक छ । विकास, निर्माणका काममा ९० खानेका तुलनामा नयाँले केही गर्न सक्छन् । खाओवादीलाई खबरदारी गर्न घण्टी बजाउँदै र हलो जोत्दै नयाँ शक्ति आइसकेका छन् । संसदमा नयाँहरुले भ्रष्टहरुको दोहोलो काड्छन्, सडकमा आन्दोलन उठ्छ । जनताका मालिक बनेका विदेशीका नोकरहरु पुनः मुषिको भवः हुन्छन् ।

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया