४० वर्ष वारि, संसदीय जिम्मेवारी

रिखिराम जिसी २०७९ मंसिर २१ गते १०:३३

पोखरा ।
राष्ट्रिय युवा नीति २०७२ ले १६ वर्षदेखि ४० वर्षसम्मका व्यक्तिलाई युवा भनी परिभाषित गरेको छ । उक्त नीतिमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्तिका रुपमा पनि युवालाई परिभाषित गरिएको छ ।

विगतमा नेपालमा भएका हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहासलाई हेर्ने हो भने अग्रपंक्तिमा युवाको नै भूमिका देखिन्छ । राजनीतिक दल अनि नेताको समर्थन र विरोधमा भिडन्तमा उत्रिनेको भूमिकासम्म युवाले निर्वाह गरेको देखिन्छ । तर, युवालाई राजनीतिमा अवसर र जिम्मेवारी दिने विषयमा भने सबैजसो पार्टीमा कन्जुस्याइँ छ ।

यसपालिको निर्वाचनमा केही युवाले अवसर पाए । निर्वाचनमा उम्मेदवार बन्न पाएका केही युवा जनताबाट पनि चुनिए । युवा पहिलो अवसरमै सफल भए । गण्डकी प्रदेश सभामा ५ युवा निर्वाचित भएका छन् । अर्थात ४० वर्ष वारि नै संसदीय जिम्मेदवारी पाएका छन् ।

Advertisement

गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फ ३६ जना निर्वाचित भएकोमा ५ जना ४० वर्षमुनिका छन् । ती सबैजना पहिलोपटक संसदीय निर्वाचनमा सहभागी भएका हुन् । मुस्ताङ र म्याग्दीका दुवै क्षेत्रबाट युवा सांसद बनेका छन् । बागलुङको एउटा क्षेत्रबाट युवा उम्मेदवार विजयी भएका छन् । मुस्ताङ प्रदेश सभा ‘१’ बाट कांग्रेसका ३३ वर्षीय नम्डु गुरुङ विजयी भए ।

उनले एमालेका ५३ वर्षीय पूर्वसांसद ईन्द्रधारा डादु विष्टलाई पराजित गरे । मुस्ताङकै प्रदेश सभा ‘२’ मा पनि ३९ वर्षीय युवा विकल शेरचन विजयी भए । उनले एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरे । गौचन ५५ वर्षे हुन् ।

Advertisement

म्याग्दीमा पनि प्रदेश सभातर्फ दुवै क्षेत्रमा युवा विजयी भए । म्याग्दी प्रदेश सभा ‘१’ मा एमालेका ५७ वर्षीय देवेन्द्रबहादुर कटुवाल क्षेत्रीलाई पराजित गर्दै ३८ वर्षीय हरिबहादुर भण्डारी विजयी भए । उनी माओवादी केन्द्रबाट विजयी भएका हुन् । प्रदेश सभा ‘२’ मा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली विजयी भए ।

उनी अहिले ३९ वर्षका छन् । उनी एमालेका ५३ वर्षीय यामबहादुर गर्बुजालाई पराजित गर्दै प्रदेश सभाका सांसद बने । बागलुङ प्रदेश सभा १ ‘२’ बाट कांग्रेसका ३९ वर्षीय युवा डिल्लीराम सुवेदी निर्वाचित भए । उनी एमालेका ५७ वर्षीय नवराज पौडेललाई पराजित गर्दै प्रदेश सभामा निर्वाचित भए ।

अधिकांश सांसद ४० नाघेका
गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित भएका अधिकांश सांसद ४० वर्षमाथिका छन् । प्रत्यक्षतर्फ ३६ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेश सभामा ३१ जना सांसद ४० वर्षमाथिका छन् । ती मध्ये पनि ६० वर्ष उमेर नाघेका ९ जना सांसद भएका छन् ।

कास्की प्रदेश सभा १ ‘१’ बाट विजयी हुँदै सांसद बनेका खगराज अधिकारी अहिले ६० वर्ष पुगे । उनी माओवादी केन्द्रका ४४ वर्षीय दीपक कोइरालालाई पराजित गर्दै सांसद बने । उनको यो सातौं निर्वाचन हो । उनी यसअघि कयौंपटक निर्वाचन जितेर मन्त्रीसमेत भइसकेका छन् ।

यस पटक भने गण्डकी प्रदेशका मुख्यमन्त्री बन्ने दाउमा प्रदेशमा झरेका हुन् । उनीसहित प्रदेश सभामा ६० काटेका ९ जना निर्वाचित भएका छन् । कास्की प्रदेश सभा २ ‘२’ बाट निर्वाचित भएका विन्दुकुमार थापा र पर्वत प्रदेश सभा ‘२’ बाट निर्वाचित भएका मित्रलाल बस्याल ६५ वर्षका छन् ।

थापाले एमालेकी ६२ वर्षीय मीना गुरुङलाई पराजित गरे भने बस्यालले कांग्रेसका ६६ वर्षीय ऋषिकेश तिवारीलाई हराएका हुन् । कास्की प्रदेश सभा ३ ‘१’ बाट एमालेका गणेशमान गुरुङ निर्वाचित भए । उनी ६१ वर्षका भए । माओवादी केन्द्रका ६६ वर्षीय दुर्गादत्त भण्डारीलाई पराजित गर्दै गुरुङ प्रदेश सभा सांंसद बने ।

तनहुँ क्षेत्र नं. २ को दुवै क्षेत्रबाट निर्वाचित भएका सांसद ६० वर्षमाथिका छन् । प्रदेश सभा ‘१’ मा ६३ वर्षीय श्यामराजा महत र ‘२’ बाट ६० वर्षीय जितप्रकाश आलेमगर निर्वाचित भएका छन् । नवरपुर प्रदेश सभा १ ‘१’ बाट ६४ वर्षीय महेन्द्रध्वज जिसी सांसद बनेका छन् ।

पहिलो बैठकको अध्यक्षता कसले गर्ला ?
निर्वाचित सांसदमध्ये सबैभन्दा बढी उमेर भएको सांसदले पहिलो प्रदेश सभा बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ । गण्डकी प्रदेश सभाको पहिलो बैठकको अध्यक्षता कांग्रेसका विन्दुकुमार थापा वा एमालेका मित्रलाल बस्यालमध्ये एकजनाले गर्न सक्ने देखिन्छ ।

प्रत्यक्ष निर्वाचित भएकामध्ये कांग्रेसका थापा र एमालेका बस्यालको उमेर ६५ वर्ष पुगिसकेको छ । ६५–६५ वर्षका यी दुबै सांसदमध्ये कसको उमेर बढी छ, त्यो निर्णय निर्वाचन आयोगले गर्नेछ । दलहरुले बुझाएको समानुपातिक सूचीबाट सांसद बन्ने सम्भावना रहेकाहरुको उमेर ६५ वर्षभन्दा कम देखिन्छ ।

उमेर सांसद संख्या
४० वर्षमुनि ५
४०–५० वर्ष १०
५०–६० वर्ष १२
६०–७० वर्ष ९
जम्मा ३६

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया