को बन्छ कांग्रेस संसदीय दलको नेता ?

रिखिराम जिसी २०७९ मंसिर २३ गते ११:१०

पोखरा ।
गण्डकी प्रदेश सभा सदस्यको अन्तिम मत परिणाम आइसक्दा सत्ता गठबन्धनलाई स्पष्ट बहुमत छ । प्रदेश सभाको पहिलो निर्वाचनमा पहिलो भएको नेकपा एमाले यस पटक खुम्चिँदा गठबन्धनलाई सजिलै बहुमत पुग्यो । केन्द्रमा गठबन्धनले सत्ता साझेदारीलाई निरन्तरता दिने निर्णय गरिसकेको छ ।

गठबन्धनबाट गण्डकीमा कसले सरकारको नेतृत्व गर्ने भन्नेबारे निर्णय नभएको छैन । सरकारको नेतृत्व गर्न पहिला आवश्यक हुने पार्टी संसदीय दलको नेताका लागि कांग्रेस प्रदेश सांसदहरुले गृहकार्य थालेका छन् । कांग्रेस संसदीय दलको नेता बन्ने आकांक्षी ४ जना देखिएका छन् । गोरखाका सुरेन्द्रराज पाण्डे, कास्कीका विन्दुकुमार थापा, नवलपुरका महेन्द्रध्वज जिसी र स्याङ्जाका भोजराज अर्याल आकांक्षीका रुपमा अघि सरेका छन् ।

आफू मुख्यमन्त्री बन्ने नै भएर संघ छोडी प्रदेशको चुनावमा आएको पाण्डे बताउँछन् । ‘म त्यै भनेरै चुनाव लड्न गा’हो प्रदेशमा । संघकै तयारी गरेको मान्छे हो प्रचण्ड आएर छोड्द्या हो । र उहाँसँग सल्लाह भएरै म त्यहाँ गएको हो आकांक्षा नहुने त कुरै भएन नि,’ उनले भने ।

Advertisement

— म त्यै (संसदीय दलको नेता र मुख्यमन्त्री) भनेरै चुनाव लड्न गा’हो प्रदेशमा । संघकै तयारी गरेको मान्छे हो प्रचण्ड आएर छोड्द्या होः सुरेन्द्रराज पाण्डे
— अनुभवको हिसाबले, क्षमताको हिसाबले संसदीय दलको नेताका लागि उपयुक्त पात्र हुँ: बिन्दुकुमार थापा
— राजनीतिमा खर्च गरेको आधा शताब्दीभन्दा लामो अनुभवले पनि पार्टीको छविलाई उच्च राख्न पनि उपयुक्त पात्र हुँ: भोजराज अर्याल
— सांसदमध्ये सबै हिसाबले मैले आफूलाई सिनियर ठानेको छु, त्यसैले संसदीय नेतामा म उम्मेदवार हो: महेन्द्रध्वज जिसी

पाण्डे संसदीय दलको नेता चयन सर्वसम्मत नै हुने विश्वास व्यक्त गर्छन् । ‘सबैले इच्छा गर्नु स्वाभाविक कुरा पनि हो । कसैले कोसिस गर्नु अन्यथा मान्नु हुँदैन, अधिकारको कुरा पनि हो । हाम्रो दल डेमोक्रेटिक पार्टी हो,’ उनले भने, ‘त्यसमा हामी कतिपय ठाउँमा चुनाव गरेर पनि नेता छानेको अवस्था छ । उहाँहरुको आकांक्षाका कुराहरुलाई त म अन्यथा लिँदै लिन्न तर अन्तिममा हाम्रो सर्वसम्मत नै हुन्छ ।’

Advertisement

नवलपुरबाट प्रदेश सभामा निर्वाचित भएका सांसद जिसी अहिले काठमाडौंमा छन् । उनी संसदीय नेता बन्न लबिङ गरिरहेका छन् । संसदीय नेतामा आफ्नो दाबी रहेको सांसद जिसीले बताए । उनी आफूलाई संसदीय नेताको प्रस्तावित उम्मेदवार रुपमा ठड्याएका छन् । ‘संसदीय नेतामा २/४ जनाको नाम आइराखेको छ । अहिले गण्डकी प्रदेशमा निर्वाचित भएका सांसदहरुमध्ये सबै हिसाबले मैले आफूलाई सिनियर (वरिष्ठ) ठानेको छु,’ उनले भने, ‘त्यसैले संसदीय नेतामा म उम्मेदवार हो ।’

वरिष्ठताकै हिसाबले आफू संसदीय दलको नेता बन्नुपर्नेमा सांसद भोजराज अर्याल दाबी छ । उनी भन्छन्, ‘आकांक्षा सबैले राख्न पाउँछ, अरुले पनि राख्नुभएको होला । मैले अहिलेसम्म गण्डकी प्रदेश सभामा निर्वाचित भएर आउनुभएका साथीहरु हेर्दाखेरि सबैभन्दा सिनियर हुँजस्तो लाग्छ । त्यसैले संसदीय नेतामा मेरो दाबी हो ।’

लामो राजनीतिक अनुभवले पार्टीको छविलाई उच्च राख्न आफू उपयुक्त पात्र रहेको अर्याल दाबी गर्छन् । ‘राजनीतिमा खर्च गरेको आधा शताब्दीभन्दा लामो अनुभवले पनि पार्टीको छविलाई उच्च राख्न पनि उपयुक्त पात्र हुँ भन्ने पनि लाग्छ,’ उनले भने, ‘त्यसैले सरकार गठनको प्रक्रियामा मेरो दाबी छ, अरु धेरै व्याख्या गरिराख्नु पर्ने देख्दिनँ ।’

मर्म बुझेर गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर आफ्रलाई दिने विश्वस्त रहेको उनी बताउँछन् । ‘एउटै पार्टीभित्र रहेर काम गरेका सबै बुझेका साथीहरु हुनुहुन्छ, उहाँहरुले मर्मलाई बुझेर यस पटक गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर मलाई दिनुहुन्छ भन्नेमा म विश्वस्त छु,’ उनले भने ।

अनुभव र क्षमताको हिसाबले संसदीय दलको नेताको लागि आफू उपयुक्त पात्र रहेको प्रदेश कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा बताउँछन् । ‘दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित भएको छु, अनुभवको हिसाबले, क्षमताको हिसाबले संसदीय दलको नेताका लागि उपयुक्त पात्र हुँजस्तो लागेर अगाडि बढेको छु,’ उनले भने ।

राजधानीलाई राजधानीजस्तो बनाउन र कांग्रेसको संगठन मजबुत बनाउन संसदीय नेतामा आफ्नो दाबी रहेको मन्त्री थापा बताउँछन् । ‘प्रदेशको राजधानी पनि भयो कास्की, अब राजधानीलाई राजधानीजस्तो पनि बनाउनुछ,’ उनले भने, ‘संगठन पनि कमजोर भइराखेको अवस्थामा मजबुत बनाउन पनि मेरो दाबी हो ।’

प्रदेश संरचना, ऐन, कानुन निर्माण सबै कुराको अनुभव आफूमा रहेको मन्त्री थापा बताउँछन् । ‘प्रदेश संरचना कसरी चलाउने के गर्ने, मन्त्रालयदेखि लिएर ऐन, कानुन निर्माण भइसके कति आउने क्रममा छन् । त्यसलाई हामीले अगाडि बढाउनुपर्नेछ, कति नयाँ बनाउनुपर्ने छ,’ उनले भने, ‘यो सबै कुराको अनुभव भएको हिसाबले अगाडि बढ्नुपर्छ भन्ने हिसाबबाट म अगाडि बढेको हुँ ।’
‘कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ’
प्रदेश सभामा पहिलो पार्टी बनेको नेपाली कांग्रेसले गण्डकी प्रदेश सभामा आफ्नो नेतृत्वमा सरकार बनाउन चाहन्छ भने कांग्रेसले पैंचो तिर्नुपर्ने माओवादी नेताहरु बताइरहेका छन् । गण्डकी प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे निर्णय भइसकेको छैन । तर कांग्रेसका नेताहरु माओवादीलाई नेतृत्व दिने पक्षमा देखिँदैनन् ।

ठूलो दलको रुपमा गण्डकीमा कांग्रेसले नेतृत्व पाउनुपर्ने कांग्रेस सांसद महेन्द्रध्वज जिसी बताउँछन् । ‘ठूलो दलको रुपमा हामी छौं, २७ जना, सरकार त ठूलो दलको हिसाबले कांग्रेसको बन्नुपर्छ, गठबन्धनको बहुमत भएको हुनाले गठबन्धनकै सरकार बन्छ,’ उनले भने ।

प्रदेश सभामा कांग्रेस २७ सिटसहित पहिलो दल बनेको छ । गठबन्धनको साझेदार दल माओवादी केन्द्रले ८ सिटमा जित हासिल गरेको छ । संख्यात्मक रुपमा पनि माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्न नमिल्ने कांग्रेस सांसद भोजराज अर्याल बताउँछन् । ‘लोकतन्त्रको संख्याको पनि गणना आवश्यक हुने गर्दछ ।

अब गण्डकी प्रदेश सभामा कांग्रेसका उपस्थिति २७ छ, माओवादीको उपस्थिति ८ छ,’ उनले भने, ‘२७ लाई ८ ले नेतृत्व गर्दा त्यो व्यावहारिक, प्रजातान्त्रिक, लोकतन्त्रमा कति उपयुक्त र सान्दर्भिक हुन्छ, आफैं त्यो संख्याले पनि बताउँछ ।’ माओवादीले गण्डकी प्रदेशमा सरकारको नेतृत्व गर्न खोज्नु व्यावहारिक नहुने सांसद अर्याल बताउँछन् । ‘गठबन्धनको सरकार बन्ने हो भने पनि उहाँहरुको अलिकति ठूलो उपस्थिति रहेको प्रदेश अरु पनि होलान् । तर गण्डकी प्रदेश सभामा उहाँहरुले नेतृत्व खोज्नु त्यति व्यावहारिक देखिन्छ जस्तो लाग्दैन,’ उनले भने ।

‘सरकारको नेतृत्व माओवादीले पाउनुपर्छ’
अघिल्लो निर्णय अनुसार गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने सांसद हरिबहादुर चुमान बताउँछन् । ‘अघिल्लो पटक पनि आलोपालोको कुरा भएको हो, लुम्बिनीमा पनि, गण्डकीमा पनि भएको हो । तर थोरै समय आलोपालोले राम्रो चल्दैन भन्ने हिसाबले आलोपालो गरिएन,’ उनले भने, ‘यस पटक गण्डकीको नेतृत्व माओवादीले पाउनुपर्छ ।’

नेतृत्व स्वाभाविक रुपमा साटफेर हुने सांसद चुमान बताउँछन् । ‘अघिल्लोपटक लुम्बिनीमा हामीले र गण्डकीमा कांग्रेसले ल्याएका थियौं, त्यसकारण साटफेर त हुने नै भयो नि । त्यो स्वाभाविक हो,’ उनले भने । गठबन्धनले निर्णय नगरिसकेकाले गण्डकीमा माओवादी गठबन्धनको निर्णय कुरिरहेको देखिन्छ । ‘गठबन्धनले निर्णय गर्ने कुरा भयो, गठबन्धनले निर्णय गर्ने हुनाले निर्णय त त्यहीको पर्खिनुपर्‍यो, त्यहीको निर्देशन अनुसार काम गर्ने नै मुख्य कुरा हो,’ चुमानले भने ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया