गण्डकी बहुप्राविधिकमा स्वागत

समाधान संवाददाता २०७९ मंसिर २३ गते ११:३५

पोखरा ।
पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालय, भण्डारढिकमा नवआगन्तुक विद्यार्थीलाई स्वागत एवं सांस्कृतिक कार्यक्रम भएको छ । कार्यक्रममा उपमेयर मञ्जुदेवी गुरुङले शिक्षा आर्जन गर्नु र सीप आर्जन गर्नु बिल्कुल फरक रहेकाले प्राविधिक शिक्षालाई अगाडि बढाउने कार्यमा महानगरपालिका निरन्तर लागिपरेको उल्लेख गरिन् ।

सिंगो महानगर एवं देशमा नै प्राविधिक जनशक्ति आवश्यक रहेका कारणले प्राविधिक शिक्षालाई प्राथमिकता दिएर यस शिक्षालयमार्फत विभिन्न विषयमा अध्यापन गराउँदै आएकोसमेत उनले बताइन् ।

पोखरालाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यमा महानगरपालिका दृढ रहेको र सोही अनुपातमा बजेटसमेत विनियोजन गरिँदै आएको उनले जानकारी दिइन् । पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले प्राविधिक शिक्षामार्फत् राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादनमा शिक्षालयले विशिष्ट योगदान दिने विश्वास व्यक्त गरे ।

Advertisement

पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले शिक्षालय वडाको गहना भएका कारण आगामी दिनमा शिक्षालयलाई आफ्नै भवनमा अध्यापन गर्न मिल्ने गरी व्यवस्थापन गर्ने कार्यमा वडा कार्यालय प्रतिबद्ध रहेको जनाए।

शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले महानगरपालिकाले जुन उद्देश्यले शिक्षालय स्थापना गरेको थियो, सो उद्देश्यमा केही कदम अगाडि बढिसकिएको जनाए । आगामी दिनमा सिटिइभिटीसँगको समन्वयमा विभिन्न कार्यक्रम थप गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा दत्तचित्त भएर लाग्ने उनले प्रतिबद्धता जनाए ।

Advertisement

शिक्षाको विकासमा सामूहिक सक्रियता आवश्यक पर्ने भएकाले सबैको साथ र सहयोग लिएर शिक्षालयलाई नेपालकै प्राविधिक शिक्षाको गहनाका रूपमा विकास गर्नेतर्फ शिक्षालयको सिंगो समूहअगाडि बढेको उनको भनाइ छ ।

कार्यक्रममा देशका विभिन्न ठाउँबाट प्राविधिक शिक्षा अध्ययन गर्नका लागि डिप्लोमा तहको प्रथम सेमेस्टरमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो । सो अवसरमा गण्डकी बहुप्राविधिक शिक्षालय र महानगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा भएको ‘डिप्लोमा कप भलिबल प्रतियोगिता–२०७९’ को विजेता समूह पोखरा इन्जिनियरिङ कलेज र उपविजेता गण्डकी बहुप्राविधिक शिक्षालयका खेलाडीलाई पुरस्कृत एवं सम्मानित गरिएको थियो ।

कलेजले आयोजना गरेका विभिन्न खेलकुद एवं सहक्रियाकलापमा भाग लिई विजयी भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । उक्त अवसरमा विद्यार्थीहरूले गायन, नृत्य एवं विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेको शिक्षालयका प्रशिक्षक कृष्णप्रसाद धितालले जानकारी दिए ।

गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शैक्षिक प्रमुख सरोज अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया