दलले छाने समानुपातिक सांसद

रिखिराम जिसी २०७९ मंसिर २५ गते १७:२७

पोखरा ।
गण्डकी प्रदेश सभाका लागि राजनीतिक दलहरुले समानुपातिक सांसदको सूची छनोट गरेका छन् । प्रत्यक्षतर्फ १९ सिट जितेको नेपाली कांग्रेस, समानुपातिकतर्फ पहिलो भएको नेकपा एमाले, माओवादी केन्द्रले समानुपातिक सांसद छनोट गरेर पठाएका छन् ।

समानुपातिकबाट प्रदेश सभामा पहिलोपटक इन्ट्री गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने शनिबार बेलुकासम्म समानुपातिक सांसद चयन गरेको थिएन । समानुपातिकतर्फ पहिलो भएको एमालेले १०, कांग्रेसले ९, माओवादी केन्द्रले ३ र राप्रपाले २ सिट पाएको थियो । राष्ट्रिय जनमोर्चा, हाम्रो नेपाली पार्टी र एकीकृत समाजवादीले थ्रेस होल्ड (१.५ प्रतिशत मत) कटाए पनि समानुपातिकतर्फ सिट पाउन सकेनन् ।

गण्डकी प्रदेश सभामा समानुपातिकतर्फ एमाले, कांग्रेस र माओवादी केन्द्रको अवस्था स्थिर रह्यो । यी ३ दलले पहिलाको जत्तिकै संख्यामा सिट पाएका हुन् । अघिल्लो निर्वाचनमा एमालेले १०, कांग्रेसले ९ र माओवादीले ३ सिट समानुपातिकबाट पाएका थिए । अहिले पनि एमाले, कांग्रेस र माओवादीले सोही संख्याको सिट पाएका हुन् ।

Advertisement

अघिल्लो निर्वाचनमा प्रदेश सभामा समानुपातिकतर्फ १/१ सिट पाएका जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा यसपालि बाहिरिन पुग्यो । प्रत्यक्षतर्फ सिट नतिजेका यी दलले समानुपातिकतर्फ पनि सिट पाउन सकेनन् ।

कांग्रेसबाट सबै महिला
गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फ १८ क्षेत्रमा जित हासिल गरेको कांग्रेसले प्रत्यक्षतर्फ अघिल्लो निर्वाचनभन्दा तेब्बरले बाजी मार्‍यो । समानुपातिकतर्फ दोस्रो हुँदै कांग्रेसले ९ सिट पायो ।

Advertisement

प्रत्यक्षतर्फ १८ सिटमा जिते पनि महिला शून्य हुँदा कांग्रेसबाट ३३ प्रतिशत महिला पुर्‍याउन समानुपातिकतर्फ सबै सिटमा महिला निर्वाचित गर्नुपर्ने अनिवार्य थियो । कांग्रेसबाट ९ महिलामध्ये दलित २, जनजाति ४ र खसआर्य ३ जना छनोट भएका छन् । अघिल्लो पटक ६ सिटमा जित हासिल गरेको कांग्रेस यसपालि गठबन्धनमार्फत चुनावी मैदानमा होमिएको थियो ।

एमालेमा ४ पुरुष
गण्डकी प्रदेश सभामा यसपालि नेकपा एमाले खुम्चिन पुग्यो । अघिल्लो निर्वाचनमा २७ सिट ल्याउँदा अहिले २२ सिटमा सीमित रह्यो । प्रत्यक्षतर्फ ५ सिट गुमाउँदा समानुपातिकतर्फ भने एमाले स्थिर रह्यो ।

यसपालि १२ सिट जितेको एमालेमा २ जना महिला निर्वाचित भए । प्रत्यक्षतर्फ अन्य कुनै पनि पार्टीबाट महिला निर्वाचित नहुँदा एमालेबाट २ जना निर्वाचित भएका हुन् । १० सिट पाएको समानुपातिकतर्फ एमालेले ४ पुरुष र ६ महिला छनोट गरेको छ ।

माओवादीबाट सबै ३ महिला
२०७४ मा भएको निर्वाचनमा (एमाले–माओवादी) वाम गठबन्धनसहित चुनावी मैदानमा होमिएको प्रत्यक्षतर्फ ९ सिट जित हासिल गरेको थियो । तर, यसपालि पनि गठबन्धनसहित चुनावमा होमिएको माओवादी ५ सिटमा खुम्चियो ।

कांग्रेससँग गठबन्धन बनाएर चुनावमा गएको माओवादीमा ५ सिटमा रोकिएको थियो । समानुपातिकतर्फ भने माओवादी स्थिर रह्यो । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ३ सिट जितेको माओवादी यसपालि पनि ३ सिट नै पाएको छ ।

राप्रपाले छान्यो सांसद
गण्डकी प्रदेश सरकारमा पहिलो पटक प्रवेश पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सांसद पाएको छ । प्रदेशका २ समानुपातिक सांसदमा पञ्चराम गुरुङ र विन्दु पहाडी छानिएका छन् । गण्डकीमा प्रत्यक्षमा १ सिट पनि नजितेको राप्रपाले समानुपातिकबाट उपस्थिति जनाएको हो ।

५ सिट जितेको माओवादी केन्द्रबाट प्रत्यक्षमार्फत महिला प्रतिनिधित्व शून्य थियो । संवैधानिक व्यवस्थाअनुसार ३३ प्रतिशत महिला पुर्‍याउनुपर्ने हुन्छ । जसले गर्दा ३ सिट पाएको उसले सबै ३ सिटमा महिला सांसद छनोट गरेको छ ।

निर्वाचन आयोगले मंसिर २६ गतेसम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए ।

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा समानुपातिक सांसद
दलितः दिलमाया पौवी र टीकाकुमारी बस्याल
जनजातिः विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङ
खसाआर्यः सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी
नेकपा एमालेका गण्डकी प्रदेश सभा समानुपातिक सांसद
खस आर्यः यशोदा रिमाल, देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाशबहादुर केसी
आदिवासी जनजातिः बिनाकुमारी थापा, निर्मला थापा, राजकुमारी भुजेल र लीलाबहादुर थापामगर
दलितः नन्दकला दमाई र गोविन्दबहादुर नेपाली
माओवादी केन्द्र गण्डकी प्रदेश सभा समानुपातिक सांसद
महिलाः कुसुम बुढामगर, सुशीला सिंखडा र दमयन्ती रुचाल

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया