वनका काठ कुहिने, विदेशबाट किन्ने किन ?

समाधान संवाददाता २०७९ मंसिर २९ गते १७:२२

पोखरा ।
सामुदायिक वनको दिगो विकाससंगै मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा बुधबार पोखरामा आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्वारा आयोजित दिगो वनको निती व्यवस्थापनमा स्थानीय, उद्यम र विकाससम्बन्धी अन्तरसंवादका वक्ताले वनले गरिबी न्यूनीकरणमा सहयोग गर्नेसमेत उल्लेख गरे ।

अप्ठेरो सरकारी नीतिका कारण अमूल्य वन पैदावार उपयोग विहीन हुने र बर्सेनि विदेशी काठ आयातमा अर्बाैं रुपैयाँ बाहिरिने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिंदै उनीहरुले यसका लागि तीनै तहका सरकार र सामुदायिक वन समूहबीच सहकार्यको खाँचो औंल्याए ।

Advertisement

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका महासचिव बिर्खबहादुर शाहीले अब वनलाई आयआर्जनको माध्यम बनाउनुको विकल्प नभएको बताए । महासंघका सचिव ठाकुर भण्डारीले संंघीय वन नियमावलीले सामुदायिक वनको पैदावार उपयोग र उद्यम सञ्चालनमा अप्ठेरो परिस्थिति सिर्जना भएको बताउँदै प्राकृति स्रोतलाई समृद्धिसँग सरल कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्य सचिव डा. सिन्दु ढुंगानाले दिगो वन व्यवस्थापन र अन्तराष्ट्रिय वन विज्ञ डा. गंगाराम दाहालले वन र भूमि स्वामित्वका बारेमा कार्यपत्र प्रस्तुत गरे ।

Advertisement

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष घनश्याम पाण्डे, महासंघ गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी लगायतले प्राकृतिक स्रोतको भण्डार वन स्रोतलाई भरपुर उपयोग गर्दै समाजका आदिवासी जनजाति तथा स्थानीय उपभोक्ताको जीविकोपार्जनको माध्यमका रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया