महसिकारी पुन र पौडेल

रिखिराम जिसी २०७९ पुष १ गते ११:२१

पोखरा ।
मोदी खोलाको किनारमा पूजा गरेपछि ५ जनाको टोलीनजिकैको भिरतिर लाग्यो । विदेशी पर्यटकको टोली भने मोदी खोलापारि पुग्यो । उनीहरुको नजर खोलाको किनारबाट उभिएको अग्लो पहाडतिर छ ।

करीब ३०० मिटर अग्लो पहाडबाट एकजना पुरुष ओर्लिंदै छन् । ओर्लिंने बाटो छ—चोयाको भर्‍याङ । पहाडको टुप्पोमा केही मानिस छन् । चोयाको भर्‍याङबाट झर्दै गरेका ती पुरुष ६१ वर्षीय खड्कबहादुर पुन हुन् । उनलाई साथ दिन उनीभन्दा केही माथि थिए, ७७ वर्षीय आनन्द पौडेल ।

यो दृश्य अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकस्थित मोदी खोला किनारमा रहेको कोठेसाङ भिरको हो । यो भिरमा मौरीका थुप्रै घार हुन्छन् । तिनै घारबाट मह काढ्न खड्क र आनन्द चोयाको भर्‍याङ उक्लिएका थिए । तिनको साहसलाई क्यामेरामा कैद गर्दै थिए विदेशी र स्वदेशी पाहुना ।

Advertisement

कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुकको भिरमा खड्कबहादुर पुन र आनन्द पौडेलले मह काढ्न थालेको आधा शताब्दीभन्दा धेरै भयो, उनीहरु नयाँ पुस्तालाई सिप हन्तान्तरण गर्न आतुर छन्

यो भिरमा हरेक वर्ष मह काढ्ने चलन छ । वर्षमा २ पटक जेठ र मंसिरमा यस भिरमा मह काढिन्छ । अग्ला पहाडमा ज्यान जोखिममा राखेर भिरमौरीको मह काढ्ने काम आफैंमा साहसिक छ । निगालोको चोयाबाट बनाइएको डोरीमा काठ राखेर बनाइएको भर्‍याङमा भुन्डिएर महसिकारीद्वय खड्कबहादुर पुन र आनन्द पौडेलले दशकौंदेखि मह काढ्दै आएका छन् ।

Advertisement

७७ वर्ष पुगेका पौडेलले यो भिरमा मह काढ्न थालेको ५७ वर्ष भयो । २० वर्षे लक्का जवान छँदै उनी पहिलोपटक यो भिर उक्लिएका थिए । आजसम्म उनको भिर आरोहण निरन्तर छ । उनी भन्छन्, ‘भिरमा चढेर मह काढ्न थालेको ५७ वर्ष भयो, अहिले पनि सहयोग गर्न सँगसँगै नै हिँड्छु, गरिराखेपछि त्यति डर पनि लाग्दोरहेनछ ।’

भिरमा गएर मह काढ्दा डर लागे पनि मन थामेर काम गर्ने पौडेल बताउँछन् । ‘धेरै सजिलो छैन नि भिरमा झुन्डिने कुरा कहाँ, कसरी सजिलो हुन्छ नि अल्लि दिमागले काम गर्नुपर्‍यो । डर त लाग्छ नि । तर, लागेनि थामेर काम गर्न सकिन्छ,’ उनले भने ।

पहिलेभन्दा मह कम हुँदै गएको पौडेल बताउँछन् । ‘पहिलै अल्लि आउँथ्यो, तर अहिले बरु खेतीकिसानी कम्ती भो, फलफूल कम्ती भो अनि मौरीको मह कम्ती भो,’ उनले भने । जेठको पहिलो र दोस्रो हप्ता र कात्तिक दोस्रो हप्ता अल्लि बढी मह हुने गरेको पौडेल बताउँछन् ।

अहिले १ लिटर महको मूल्य ३ हजार छ । मह धान र मकैसँग साटेको र लिटरको २ रुपैयाँमा बिक्री गरेको स्मरण गर्दै पौडेलले भने, ‘सबै कुरा बढ्दै गयो, अनि मौरीको महको भाउ पनि बढ्यो ।’

पञ्चायतअघिसम्म यो भिरमा मह काढ्ने काम मुखियाको अधीनमा थियो । २०४० को दशकपछि मात्र यो अधिकार स्थानीयमा आएको हो । मुखियाको पालामा मह काढ्ने काम गरे पनि मह मुखियाले दिएमात्र खान पाउने गरेको पौडेलले सुनाउँछन् । उनी भन्छन्, ‘मुखियाले लगाउँदा केही पनि दिँदैनथे, मह आए मह दिन्थे नत्र चाहिँ आफूले खाने रासनपानी पनि आफैले लिनुपथ्र्यो ।’

अनुभवले मह काढ्न सजिलो हुने गरेको ६१ वर्षीय पुन बताउँछन् । ‘पहिले नयाँ छँदा त गाह्रो नै भयो, अहिले अनुभव भएपछि त आरमसँगै काटिन्छ,’ उनले भने । तर उमेर ढल्केसँग काम गर्न गाह्रो हुने उनी सुनाउँछन् । गाह्रो हुन्छ नै, हाम्रो सेफ्टीबेल्ट हुन्छ,’ उनले भने ‘दुख त दुख नै हुन्छ तर पहिला अब २० वर्षको उमेरमा रहरजस्तै लाग्यो, अहिले तर गाह्रो नै हुन्छ ।’

मह काढ्ने काम पेसा जस्तै बनेको पुन बताउँछन् । ‘पेसाजस्तै नै भयो भनम् पहिलो यताउता काममा कतै गइएन । वर्षमा टाढा छ जादैनौं, कतै बोलाउनुभयो भने गएर काढ्दिन्छौं नत्र भने हाम्रो यही भिरमा मात्रै काढ्छौं,’ उनले भने, ‘एकपटक मंसिर र जेठमा गरी वर्षमा २ पटक काढ्छौं ।’

मह काढ्दा भिरबाट तल हेर्‍यो भने काम गर्न नसकिने पुन सुनाउँछन् । छंगाछुर भिरमाथि गएर तल हेर्दा कहाली लाग्छ नै । ‘सामानहरु कमजोर छ भने डर लाग्छ, यताउता मिच्चिँदा खेरि, तर हेरियो भने एकदम पहिलानै डरले काम्न सुरु हुन्छ । तर हेर्दा तर आङ सिरिङ हुन्छ । र चाहिँ हामीले आफ्नो धुनमा काम गर्ने, भिरमा मात्र हेर्ने गरिन्छ,’ उनले भने ।

मह काढेबापत महअनुसारको पारिश्रमिक पाउने गरेको पुनले सुनाए । भन्छन्, ‘पाहुनाले दिए भने उही तरिकाको हुन्छ, अबचाहिँ मह कुन तरिकाले आउँछ त्यही तरिकाले पारिश्रमिक आउँछ ।’ मह काढ्न नयाँ पुस्ता तयार नहुँदा वर्षोदेखि महशिकारीद्वय पुन र पौडेल मह काढ्ने काममा लागिरहेका छन् ।

नयाँ पुस्ताले नसिक्दा उमेर ढल्किए पनि भिर चढेर मह काढ्ने काम गरिरहेको ६१ वर्षीय पुन बताउँछन् । माथि बस्दा त सबैले म पनि जान्छु भन्छन्, पछि चाहिँ भिरको डिलमा गएर तल हेर्दा त उनीहरुले आँट्नै नसक्ने भए के,’ उनले भने, ‘अहिले कसैले नसिकेका हुनाले, अहिले म बुढो भएको छु, कपाल फुलेर सेत्तै भइसकेको छ । तर भएपनि मैले यो गाउँका लागि गर्नै पर्छ भन्ने माध्यमबाट मैले गर्दै छु ।’

मह काढ्ने काममा पछिल्लो समय नयाँ पुस्ता सरिक हुन थालेको पौडेल सुनाउँछन् । ‘आपूmले जे काम गरिएको छ, त्यो काम नयाँ पुस्तालाई सिकाइन्छ, नभुलेर, नछोडेर काम सिकाइन्छ, अहिले चाहिँ यसरी काम गर्ने पनि २/३ जना निस्किसकेछन्,’ उनले भने, ‘परम्परामा हामी निस्किम्, नयाँ पुस्तामा हाम्रो छोरानाति निस्किएका छन् ।’

उक्त भिरमा १९ औं शताब्दीमा मह काढ्न सुरु गरिएको पौडेल बताउँछन् । ‘भन्दा सुनियो तर आफूले व्यहोरिएन । सुरुमा १९ औं शताब्दीबाट धनराज गुरुङले काढेको हो, पहिले भिर मौरी आउँथे, खान्थे, आफै जान्थे, धनराज गुरुङदेखि काढ्न सुरु भयो,’ उनले भने ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया