मानव सेवाको भवन बनाउन कन्सर्ट

समाधान संवाददाता २०७९ पुष ३ गते ११:१३

पोखरा ।
मानवता प्रवद्र्धनका साथै आश्रमको भवन निर्माण तथा अक्षयकोष स्थापनाका लागि मानव सेवा आश्रमले पोखरामा नेपथ्य लाइभ कन्सर्ट गर्न लागेको छ । चर्चित सांगीतिक समूह नेपथ्य ब्यान्डसँगको सहकार्यमा आगामी पुस १२ गते पोखराको प्रदर्शनी केन्द्रमा कन्सर्ट गर्न लागेको आश्रमका केन्द्रीय कोषाध्यक्ष एवं अर्थ तथा वित्त विभागका प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिए ।

आश्रमले नेपथ्यको घरेलु मैदानमा अमृत गुरुङको सक्रियतामा मानवताको लागि संगीत यात्राको क्रममा कन्सर्ट गर्न लागेको छ । पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाको बाबियातरामा लक्ष्मी नारायण सनातन संस्कार प्रतिष्ठानको ६३ रोपनी क्षेत्रफलमा आश्रमले आफ्नै भवन सुरुवात गरेको छ । आश्रमका केन्द्रीय कोषाध्यक्ष तिमिल्सिनाका अनुसार १० करोडको लागतमा आश्रमको भवन बन्दै छ ।

अहिलेसम्म ५ करोड बराबर खर्च भएको छ । ‘भवन निर्माणका लागि अझै पनि ठूलो धन राशि आवश्यक पर्ने भएकाले परोपकारी मनको सहयोगको खाँचो छ,’ उनले भने, ‘पोखरामा गर्ने यस पटकको कन्सर्ट मानवताको प्रवद्र्धन गर्न र भवन सम्पन्न गर्न लागि ठूलो राशि जुटाउन सहयोगी बन्नेछ ।’

Advertisement

उनले मानव सेवा आश्रमका लागि कुनै प्रकारको विपत्ति भवितव्य वा कठिन परिस्थितिमा प्रयोग गर्न मिल्ने गरी कम्तीमा २५ करोड बराबरको अक्षयकोष स्थापना गर्नु आवश्यक भएको बताए । उनले कन्सर्टबाट २५ लाख बचत गर्ने योजना सुनाए ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिको मुख्य सहयोगमा बन्न लागेको भवनको एकतला निर्माणका लागि लायन्स क्लब अफ ३ सय २५ बी १ नेपालले योगदान गरेको छ । क्लबको १ करोड २५ लाखसहित तल्लो तलाका लागि १ करोड ६५ लाख खर्च भएको छ ।

Advertisement

आश्रमका कोषाध्यक्ष तिमिल्सिनाले भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले २ करोड, पोखरा महानगरपालिकाले ५० लाख, स्थानीय परोपकारी व्यक्तिले १ करोड र अन्य स्थानीय पालिकाको १५ लाख सहयोग गरेको बताए ।

अहिलेसम्म मानव सेवा आश्रमको भवनको ४० प्रतिशत र लक्ष्मीनारायण मन्दिरको १० प्रतिशत निर्माण कार्य भएको छ । आश्रम निर्माणपछि त्यहाँ २ सय ५० सहयोगापेक्षी सडक आश्रित मानव राख्न सकिने उनले उल्लेख गरे ।

उनका अनुसार हरेक भवन १६ कोठाका हुने छन् । ३ तलाका ३ वटा भवन सो क्षेत्रमा बन्दै छन् । सो क्षेत्रको गुरुयोजना तयार पारी आश्रमको मानवता अध्ययन केन्द्र, लक्ष्मीनारायण मन्दिर, मुक्तिनाथ जाने तीर्थयात्रीको लागि धर्मशाला, शाश्वतग्राम लगायतका वृहत तथा मानवीय संवेदनालाई जोड दिएर भौतिक संरचना निर्माण गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा कन्सर्टका कार्यक्रम संयोजक विश्वेश्वर आचार्य, भवन निर्माण समितिका संयोजक विष्णुप्रसाद बराल, प्रचारप्रसार संयोजक दिनेश शर्माले कन्सर्टको बारेमा जानकारी दिए ।

मानव सेवा आश्रमले मानवताका लागि संगीत भन्ने नारा नेपालका १० प्रमुख सहरमा नेपथ्य लाइभ कन्सर्ट गर्दै छ । परोपकारी तथा मानवीय संस्था मानवसेवा आश्रमले सन् २०८२ सम्ममा सडकका वेवारिसे व्यक्तिहरुको व्यवस्थापन गर्ने योजनाअघि सारेको छ ।

आश्रमले सडक पेटीमा जीवन यापन गर्दै आएका अनाथ, अपांग र मानसिक समस्याका बिरामीलाई उद्धार, उपचार, पालनपोषण र परिवारमा पुनर्मिलन सेवा गर्दै आएको छ ।

हेटौंडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले १९ जिल्लामा २३ वटा सेवा केन्द्र सञ्चालन गरेको छ । मानव सेवा आश्रमको नवौं शाखा पोखराले गण्डकी प्रदेशभरी सडक मानवको नियमित उद्धार तथा व्यवस्थापन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया