पाेखराका दुवै एयरपोर्ट चल्ने

रिखिराम जिसी २०७९ पुष ६ गते ११:०३

पोखरा ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जनवरीदेखि व्यावसायिक उडान गर्ने तयारी छ । सोहीअनुसार सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुने विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए ।

यससँगै आगामी जनवरी १ देखि पोखरा विमानस्थलबाट हुने आन्तरिक उडानहरु पनि नयाँ विमानस्थलबाट सञ्चालन हुनेछन् । तर साना जहाज, हेलिकप्टर र अल्ट्रालाइट भने पुरानै विमानस्थलबाटै सञ्चालन हुनेछन् ।

तत्कालका लागि पोखराबाट जोमसोम उडान गर्ने साना जहाज, हेलिकप्टर तथा अल्ट्रालाइट पुरानै एयरपोर्टबाट सञ्चालन हुने विमानस्थलका प्रवक्ता जोशी बताए । ‘विशेष गरी जोमसोम केन्द्रीत साना स्टल जहाज भन्छौं हामी, त्यो खालका जहाजहरु पुराना एयरपोर्टबाट सञ्चालन हुन्छन्, त्यसैगरी हेलिकप्टर पनि पुरानोमै रहन्छ, अल्ट्रालाइट पनि पुरानोमै रहन्छ,’ उनले भने, ‘अरु बाँकी सबै विमानहरु नयाँ विमानस्थलमा स्थानान्तरण हुन्छन् ।’

Advertisement

जनवरी १ बाट आन्तरिक उडानसमेत नयाँ विमानस्थलबाट उडान हुने भएपनि जोमसोम उडान गर्ने साना जहाज, हेलिकप्टर र अल्ट्रालाइट भने पुरानै विमानस्थलबाट उडान हुने


नयाँ विमानस्थल जनवरी १ बाट सञ्चालन गर्ने तयारी गरेपनि आयल निगमको डिपो, नेभिगेसन उपकरण पनि पुरानै विमानस्थलमै रहनेछन् । केही संरचना पुरानै एयरपोर्टमा रहेकाले पुरानै विमानस्थल पनि सञ्चालन गर्नुपर्ने अवस्था आएको प्रवक्ता जोशीले सुनाए ।

Advertisement

‘पुरानो विमानस्थलमा फेरि केही समय हामीसँग आयल निगमको पनि स्टोरेज त्यहींनेर छ, नेभिगेसन उपकरण, त्यो पनि पुरानै एयरपोर्टमा छ । यी विविध कारणहरुले गर्दा खेरि पुरानो एर्पोट पनि सञ्चालन गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

नयाँ विमानस्थलमा जमिनको अभाव हुँदा तत्कालका लागि पुरानो विमानस्थल सञ्चालन गर्नुपरेको विमानस्थल प्रवक्ता जोशीले बताए । ‘यतिबेलासम्म भन्न सक्ने अवस्था छैन, अब हेलिकप्टरका लागि चाहिँ नयाँ विमानस्थल स्थानको पनि अभाव छ, ह्याङगरहरु बनाउने ठाउँहरु पनि छैन, लिमिटेड जमिन छ,’ उनले भने, ‘त्यसले गर्दा खेरि हामीसँग भइरहेको संरचना प्रयोग गर्ने भन्ने हो ।’

प्याराग्लाइडिङको विषयमा भने नेपाल नागरिक उड्डयन प्राधिकरण् टुंगोमा पुगेको छैन । विमानस्थलमा गरिएको क्यालिब्रेसन उडानको प्रारम्भिक प्रतिवेदन आएपनि पूर्ण विवरण आइसकेको छैन । प्रवक्ता जोशीका अनुसार प्रतिवेदन पूर्ण विवरण आएपछि माात्रै पोखराको प्याराग्लाइडिङसहित अन्य विषयहरुबारे निर्णय हुनेछ ।

सो विमानस्थलबाट बिहीबार परीक्षण उडान गर्ने तयारी गरेको छ । नयाँ विमानस्थलमा बिहीबार एटीआर ७२ जहाजबाट परीक्षण उडान गर्ने तयारी गरेको प्रवक्ता जोशीले बताए । सो उडानपछि आन्तरिक उडानका लागि भने बाटो खेल्ने जोशीको भनाई छ ।

उक्त विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो । सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समय सीमाभन्दा ६ महिनाअघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको थियो ।

कोभिडका कारण विमानस्थल निर्माण ढिला पूरा भएको हो । निर्माण कम्पनीका तर्फबाट चिनिया सरकारले विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा बनेको पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् ।

करिब ३ हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलमा २ हजार ५ सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर छ । एटीसी टावर, सात वटा भवन, एउटा ह्यांगर पनि निर्माण गरिएको छ । चिनियाँ ऋण सहयोगको २२ अर्ब रुपैयाँमा पोखरा विमानस्थल निर्माण भएको हो ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो ।

त्यसको ६ महिनापछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन योग्य भएको हो । एरोथाई कम्पनीको जहाजले यही मंसिर ५ देखि ११ सम्म यान्त्रिक उडान गरेको थियो ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया