अभिभावक व्यापारमा, विद्यार्थी घुम्तीकक्षामा

सुन्दरकुमार थकाली २०७९ पुष ६ गते ११:४२

जोमसोम ।
मुस्ताङका विद्यालयमा दुई महिना लामो हिउँदे बिदा दिइएको छ । अत्यधिक चिसोसँगै सम्भावित हिमपातले जनजीवन कष्टकर हुने भएकाले मुस्ताङका शैक्षिक संस्थामा पुसको पहिलो हप्तादेखि हिउँदे बिदा दिइन्छ । मुस्ताङका ३४ सामुदायिक विद्यालयमध्ये लोमान्थाङका ३, लोघेकर दामोदरकुण्डका ७ र वारागुङ मुक्तिक्षेत्रका दुई गरी १२ वटा विद्यालय घुम्ती कक्षाका लागि पोखरा स्थान्तरण गरिसकिएको छ ।

यसबाहेक २२ सामुदायिक विद्यालयलाई सम्बन्धित शिक्षा शाखाको समन्वयमा पुसको पहिलो हप्तादेखि २ महिना लामो हिउँदे बिदा दिएर शैक्षिक पठनपाठन पूर्ण रुपमा बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङका सूचना अधिकारी चन्द्रसिंह विकले जानकारी दिए ।

घुम्ती कक्षाका लागि झरेका विद्याल बाहेक अन्य विद्यालयले चालु वर्षको वार्षिक परीक्षा सकेका छन् । मुस्ताङका ५ स्थानीय तहका ३४ सामुदायिक विद्यालयमा ३ हजार ८ सय ७५ विद्यार्थी संख्या छन् । जिल्लाको लोमान्थाङमा ३ सामुदायिक विद्यालयमा ५ सय ४९ विद्यार्थी छन् ।

Advertisement

लोघकर दामोदरकुण्डका ८ वटा सामुदायिक विद्यालयमा ३ सय २७ विद्यार्थी छन् । यी दुईपालिकाका ११ सामुदायिक विद्यालयमध्ये लोघेकर दामोदरकुण्डको जनज्योति आधारभूत विद्यालयबाहेक बाँकी सबै विद्यालय दसैंलगत्तै घुम्ती कक्षाका लागि न्यानो स्थानमा स्थान्तरण गरिएको हो ।

लोमान्थाङको राष्ट्रिय आविलाई पोखरा किमबेसी, दिव्यदीप माविलाई पोखरा विजयपुर र जिन्जु आवि छोन्हुपलाई पोखरा हेमजामा स्थान्तरण गरिएको लोमान्थाङका शिक्षा हेर्ने कर्मचारी विकास केसीले जानकारी दिए । उनले चिसोका कारण बेसी झरेका विद्यालयका वार्षिक परीक्षा चैत महिनामा हुने र नयाँ शत्रको पढाइका लागि बैशाख महिनामा उकालो लाग्ने बताए ।

Advertisement

‘हिउँदको बेला साबिकको स्थानमा राखेर पढाइ गर्दा मौसमले साथ दिँदैन; चिसोले बालबालिकालाई विभिन्न रोग लाग्न सक्छन् । यसैले न्यानो स्थानमा झारिएको हो,’ उनले भने ।’
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ८ सामुदायिकमध्ये जनज्योति आविलाई साबिककै स्थानबाट हिउँदे बिदा दिइएको छ । योबाहेक बाँकी ७ वटा विद्यालय कात्तिक २५ र मंसिर १ गते घुम्ती कक्षाका लागि पोखरा झरेको गाउँपालिकाकी शिक्षा प्राविधिक सहायक सुकदेवी गर्बुजाले जानकारी दिइन् ।

उनले पालिकाअन्तर्गत बेसी झरेका ६ विद्यालयलाई मर्ज गरी पोखरा हेमजा र घमी आवि घमीलाई पोखरा दुलेगौडामा स्थान्तरण गरिएको बताइन् । उनले बेसी झरेका विद्यालयलाई वार्षिक परीक्षा सकेर बैशाख लागेपछि साबिककै स्थानमा पठनपाठन सञ्चालन गरिने उल्लेख गरिन् ।

लोघेकर दामोदरकुण्डको मराङ, चराङ, ढाक्मर, घमी, यारा, घारा र शालिग्राम आविलाई घुम्ती कक्षा सञ्चालन गर्न पोखरा झारिएको प्राविधिक सहायक गर्बुजाको भनाइ छ ।
उपल्लो मुस्ताङका २ पालिकाका अभिभावक विभिन्न घुम्ती व्यापार, व्यवसायमा बेसी झर्ने भएकाले विद्यार्थीलाई घुम्ती कक्षामा झारिएको हो ।

जाडो समयमा शिक्षक शिक्षिकाको रेखदेख रहने भएकाले त्यहाँ अभिभावकले निर्धक्क वैकल्पिक घुम्ती व्यापार गर्न सहज हुन्छ । यसरी घुम्तीमा झारिएका विद्यालयलाई सम्बन्धित पालिकाले बजेटको समेत व्यवस्था गरेका हुन्छन् ।

वारागुङ मुक्तिक्षेत्रका ४ सामुदायिक विद्यालयमध्ये जननर्मल मावि छुसाङ र लुप्रा आवि लुप्रालाई मंसिर २५ गतेदेखि घुम्ती कक्षाको रुपमा पोखरा स्थानान्तरण गरिएको शिक्षा शाखाकी प्रास रेखा पन्तले जानकारी दिइन् । उनका अनुसा घुम्तीमा नझरेको जनशान्ति मावि कागबेनी र मुक्तिनाथ आवि झोङ गरी २ वटा विद्यालयलाई पुसको पहिलो हप्तादेखि हिउँदे बिदा दिइएको छ ।

मुस्ताङ सदरमुकामसमेत रहेको घरपझोङ गापाका ७ विद्यालय र १ निजी विद्यालयमा पुसको पहिलो हप्तादेखि पठनपाठन बन्द गरिएको छ । अत्यधिक चिसोसँगै हिमपातको जोखिम हुने भएकाले २ महिना विद्यालयको पठनपाठन बन्द गरिएको शिक्षा शाखा संयोजक हिमलाल शर्माले जानकारी दिए । पालिका अन्तर्गतका विद्यालयले चालु वर्षको वार्षिक परीक्षा सम्पन्न गरी बन्द गर्ने निर्णय भएको हो । घरपझोङमा फागुनको पहिलो हप्ता विद्यालय खुल्ने शिक्षा शाखा संयोजक शर्माले जनाए ।

मुस्ताङका ५ स्थानीय तहमध्ये सबैभन्दा धेरै सामुदायिक विद्यालय रहेको स्थानीय तह थासाङ हो । यहाँ १२ सामुदायिक र १ निजी विद्यालय छन् । गाउँपालिकाले चालु वर्षको वार्षिक परीक्षा सकेर पुस २ गतेखि फागुन २ गतेसम्मका लागि हिउँदे बिदा दिएको गापाका प्रास सुरेन्द्र पौडेलले जानकारी दिए ।

बर्सेनि उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका विद्यालयलाई घुम्ती कक्षाको रुपमा बेसी स्थानान्तरण गर्ने गरिएको छ भने मुस्ताङको तल्लो क्षेत्र घरपझोङ, थासाङका सबै र वारागुङका अधिकांश विद्यालयलाई जाडो बिदा दिने चलन छ । मुस्ताङमा मंसिरको अन्तिममा शैक्षिक सत्र सकेर फागुनको पहिलो हप्ता नयाँ शैक्षिक सत्र सुरु हुन्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया