नयाँ सरकारः थोत्रो सवारीको यात्रा

मदन भण्डारी २०७९ पुष १२ गते १२:२१

भव्य सरकारी भवनको भर्‍याङ्बाट झर्दै लोकमानपछाडि फक्र्याे । माथि रश्मि काली सेता दाँत देखाएर हात हल्लाइरहेकी थिई । लोकमानले सोध्यो, ‘अब कहिले भेट्ने ?’ रश्मिले भनी, ‘ढुङ्गे बगर, माया छँदैछ हल्ला नगर !’

पुसे चिसोको साँझ । टाउको, घाँटी र मुख छोपे पनि आँखा छोप्न नमिल्ने । युरोपतिर सामान्य मानिन्छ रे, नेपालमा यस्ता दृश्य अझै अनौठो लाग्छ । लोकमानलाई पार्टी कमिटीमा आलोक भनिन्छ । कुनै बेला ‘आलोक प्रवृत्ति’लाई माओवादीमा निरुत्साहित गर्ने भनिन्थ्यो । आलोक जनयुद्धमा मारिए । अहिले समय बदलियो । आलोक प्रवृत्ति झ्याँगियो । योगी विकासानन्द कथा सुनाउँछन् ।

पुराना गुरुजीद्वारा हाँकिएको थोत्रो सवारीको यात्रा नेपाली जनताको बाध्यता हो । अर्को नयाँ प्रयोगशाला नेपाललाई बनाइयो ।

Advertisement

राजा असाध्यै कामुक थिए । एक दिन अति खुसीको क्षणमा राजाले रानीलाई केही माग्न ढिपी गरे । जे मागे नि दिने वाचा गरे । रानीले आफूबाहेक कुनै महिलालाई नहेर्ने वाचा गराइन् । युद्धमा जाँदा राजाले हरेक एक कोष पछिको समाचार रानीलाई सुनाउनुपर्ने भयो ।

हरेक एक कोषपछिको समाचार सुनाउन राजाले दूत पठाए तर प्रत्येक दूतलाई रानीले सम्भोग गराइन् । ६४ औँ दूतपछि युद्ध जितेर फर्किने बेलामा वोधिसत्वको पालो पर्‍यो । वोधिसत्वले मानेनन् । रानीले वोधिसत्वको हत्याको षडयन्त्र रचिन् ।

Advertisement

माया, राजनीति र युद्धमा सबथोक ग्राह्य मानिन्छ । राजनीतिको खेलमा गगन थापालाई आफ्नैले भोट दिएनछन् । रामचन्द्र पौडेल प्रचण्डलाई प्रधानमन्त्रीमा उचालेर आफू राष्ट्रपति हुन खोज्दैथे ।

प्रायः कांग्रेसी नेता आफ्नो लागि राम्रो मन्त्रालयको ताकमा थिए । देउवा स्वयंको पनि धारा २ फुत्के ३ समाउने दाउ थियो । यिनै कारण प्रधानमन्त्री हुनै लागेका देउवा झ्याप्पै फुत्किए ।

पुस १० गते झम्के साँझको बेला धारा ७६ (२) बाट अकस्मात पानी चुहियो । शेरबहादुर देउवा होइन, प्रचण्ड प्रधानमन्त्री भए । नयाँ प्रधानमन्त्रीलाई नेपाली बुद्धिजीवी बधाईको ओइरो लगाउन थाले । आर्जु राणाकी भारतेली धर्मदाजुहरु हिस्रिक्क पाइए ।

बालुवाटारबाट बालकोट हान्निनु अगाडि लालबहादुरकै भाकामा प्रचण्डले शेरबहादुरलाई गीत सुनाए, ‘जाँदैछु म यहाँबाट फर्केर आउँदिनँ !’ तीर्थकुमारीको भाकामा आर्जु राणाले जवाफ फर्काइन्, ‘तिमीले माया नलाए पनि म छोड्दै छोडदिनँ !’ ज्ञानेन्द्रबहादुर कार्की पनि पत्रकारहरुलाई उदासी गीत सुनाइरहेका थिए, पर्खी बसेँ आउला भनी….! तर प्रचण्ड गठबन्धनमा फर्केनन् ।

नेपाली राजनीतिमा पुस १० गते साँझको घटना आकस्मिक लागे पनि यसका कडी पहिल्यैदेखि जोडिँदै गरेको बुझ्न सकिन्थ्यो । खतराका काला बादल मडारिँदै थिए । इन्डोपश्चिमाको चकचकी र बिगबगी चीनले नदेख्ने कुरा थिएन । चीनले नेपाली नेतालाई चिनीको गुलियो चटाउँदा इन्डोपश्चिमा अब पक्कै चूप बस्ने छैन ।

अमेरिकाले आफ्नो प्यादाको लगाम झनै कस्नेछ । नयाँ सरकार गठनमा इन्डोपश्चिमा हाबी देखिँदा देखिँदै अपर्झट् चीन प्रभावी भयो । नेपालका गद्दारहरुले गद्दाफीको नियत अवश्य भोग्ने छन् । नेताका पीर होइन, मुलुक झनै बर्बादीको खाडलतिर खस्ने पीर हो । पुराना गुरुजीद्वारा हाँकिएको थोत्रो सवारीको यात्रा नेपाली जनताको बाध्यता हो । अर्को नयाँ प्रयोगशाला नेपाललाई बनाइयो ।

यो सरकारको निर्माण प्रक्रिया यौनकर्मीहरुको यौन खेल जस्तै हो । पुरुष पात्रसँग प्रतिशोधको भावना साह्रै प्रवल थियो । ऊ प्रतिगामीको बिल्ला भिराइँदाको ईखको आगोले जलेको थियो । वैयक्तिक चरित्रको हेराईमा केपी शर्मा ओलीको इच्छाशक्ति अतुलनीय छ । उनलाई उपचारमा जाँदा पार्टीकै प्रतिस्पर्धी मित्रले अति अमानवीय टिप्पणी गरेका थिए ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणको बेला आफन्तजन रोए तर केपी ओलीले अस्थिरता र अराजकतावादीसँग जुध्न छिटै निको भएर आउँछु भने । एक हप्तापछि नै मुलुकले अपूर्व इच्छाशक्ति खोजेको बताए ।

केपी ओलीको वाणी अर्जुनका वाणभन्दा तीखा हुन्छन् । ५ दलीय गठबन्धनले राज्यको सम्पूर्ण शक्ति खर्चेर प्रहार गर्दा पनि केपी ओली हाँसेरै बाँचे । बाँचेरै पार्टीलाई लोकप्रिय मतमा श्रेष्ठता हासिल गराए । वल्लो घरको नरे, पल्लो घरमा सरे । प्रचण्डलाई केपी ओलीले बालकोटमा सम्मानको स्वागत् गरे ।

विप्लव र सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने केपी ओलीका लागि प्रचण्डलाई फुस्ल्याउनु आइतबारको कुरा थिएन । मंसिर ४ को चुनाव परिणाम अघि नै ओलीले प्रचण्डलाई मीठो बोली सुनाएका थिए । अहिले देउवा अस्फुट स्वरमा मेरो कम्मरको खुकुरी कुन हुस्सुले झिक्यो ? को प्रश्न गर्दैछन् । प्रमुख प्रतिपक्षीको भूमिकामा पहिल्यै असफल काङ्ग्रेसले अब के गर्ला ?

विसँ २००७, ०१७, ०४७ /०६२/६३ का सबै आन्दोलनको नेतृत्व गरेको आत्मरतिमा रमाउने कांग्रेसीजन विरलैमा उच्च राजनीतिक चेत पाइएला । ०३३ पछि बीपी कोइराला महान् राष्ट्रवादी चेतले ओतप्रोत देखिए, त्यहीँदेखि कांग्रेसीजनले वीपीको मूल्यवोध बिर्सिँदै गए ।

०३७ सालको जनमत सङ्ग्रहको परिणामलाई वीपीले नेपाली एकता कायम राख्न स्वीकार गरे, काङ्ग्रेसीजनहरु चाहिँ राजालाई धारे हात लगाउँदै कम्युनिष्टलाई भ्रष्टाचार सिकाउन एकोहोरिए । रामशरण महतले पञ्चायतकालिन उद्योग नष्ट गरे । देउवा पुरुष सांसदलाई सुत्केरी भत्ता ख्वाउन र बैँकक घुमाउन टाठिए । गिरीजा कोइराला राष्ट्रपतिको ललिपपमा मक्खै परेर राजा फाल्न तम्सिए ।

कथाका कर्णले अन्तिम समयमा सारा युद्ध कौशल बिर्सेका थिए । शेरबहादुर देउवाले अन्तिम घडीमा सारा सीप भुले । आफैंले डिल गरिरहेका प्रचण्डलाई चिनेनन् । मूल बाटो फेरो छ नभन्नू÷सौते पोईलाई मेरो छ नभन्नू ! गृहिणीहरु गाउँछन् तर शेरबहादुर मूल बाटो हिँडेनन् । साना कांग्रेसीहरु राम नाम जप्दैछन् । गगन–विश्व प्रवृत्ति अन्योलग्रस्त छन् । ऊ न ऊ, हातभरि गुहु; रामचन्द्र–प्रकाशादिले आत्महत्या नगरुन् ।

देश र जनताका लागि पटक्कै होइन, सिट बाँडफाँडको ध्येयले मात्रै सरकार बन्यो । फेरि दोहोर्‍याऊँ, नयाँ सरकार थोत्रो सवारी साधनका पुराना ड्राइभर हुन् । यो यौनकर्मीहरुको मायाप्रेम जस्तै हो । सिद्धहरु भन्छन्, स्खलनपछि यौनपे्रमीहरु एकार्कालाई घृणा गर्छन् ।

राजनीतिक रुपमा आलोक प्रवृत्तिलाई आजका सम्माननीय प्रधानमन्त्री कमरेड पुष्पकमल दाहालज्यू स्वयम्ले अगाडि बढाउनु भयो । सबै सम्हाल्ने वोधिसत्व आजको आवश्यकक्ता हो ।

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया