६ वर्षमा पनि बनेन कागबेनी पुल

समाधान संवाददाता २०७९ पुष १२ गते १४:५७

जोमसोम ।
राष्ट्रिय गौरवको जोमसोम–कोरला जोड्ने कागबेनी पक्की पुल लामोसमयदेखि अलपत्र परेको छ । ठेक्का सम्झौता भएको कोरला जोड्ने वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा निर्माणधिन पक्की पुल ६ वर्ष बितिसक्दा समेत सम्पन्न हुन नसकेको हो ।

जोमसोम–कोरला सडक २०७४ देखि सुरु भएको थियो । तर, आयोजना सुरु हुनुपूर्वनै २०७३ मा डिभिजन सडक कार्यालय बाग्लुङले २ करोड ८८ लाख ५१ हजारमा ठेक्का लगाएको थियो । कागबेनी खोलामा जम्मा २५ मिटर लम्बाई रेलिङ र फुटपाथसहित ११ मिटर चौडा पुल निर्माण गर्न गाल्वा एण्ड रिफना जेभीले ठेक्का सम्झौता गरेको थियो ।

सुरुवात नहुँदै १० महिनापछि डिभिजन सडक कार्यालय बाग्लुङले राष्ट्रिय गौरव आयोजनालाई हस्तान्तरण गरेको थियो । सुरुवाती पुलको सम्झौता अवधि १८ महिना तोकिएको भएपनि पुलको म्याद पटक÷पटक थप हुँदै आइरहेको छ ।

Advertisement

पुल हस्तान्तरण भएको १ महिनापछि जेठमा काम सुरु भएको थियो । कम्पनीले पुलको दाँयाबाँया र्‍याफ फाउन्डेसन ढलान सुरु गर्‍यो । तर, उक्त र्‍याफ फाउन्डेसन बर्खायामको बाढीले क्षति बनाईदियो । त्यसपछि केही वर्ष कम्पनीले पुलको काम सुचारु गर्न नसक्दा पुलको कामबीचमै अलपत्र भएको छ ।

गाल्वाका प्रबन्ध निर्देशक नरहरी थपलियाले पुलको काम ढिलाई हुनुको कारणबारे अनविज्ञता प्रकट गरेका थिए । उनले गाल्फाले जोईन भेन्जरको रुपमा रफिनासंग मिलेर काम गरेको त्यसबेला जनाएका थिए । गाल्फा ठुलो निर्माण कम्पनी भएकाले रफिनाले गाल्वाको नाम जोडेर रफिनाले काम गरेको थियो ।

Advertisement

रफिना जेभीका प्रतिनिधि रविन जोशी पुल अलपत्र छाडेर अष्ट्रेलिया पुगेका छन् । आयोजनाले कम्पनीलाई कालोसूचिमा राख्ने चेतावनी सहित पटक पटक पत्रपत्रिकामा सूचना प्रकाशित गरी काम सूचारु गर्न ध्यानआर्कषण गराएको थियो ।

नीजि कामले अष्टेलिया पुगेका जोशी ४ वर्षअघि नेपाल फर्किएर पुलको काम पुन सूचारु गरेपनि केही महिना काम गरेपछि पुन पुल निर्माणको काम अलपत्र पारेका छन् ।

आयोजना अन्र्तगत कागबेनी पुलको अहिलेको भौतिक प्रगती करिव ९० प्रतिशत सम्पन्न भईसकेको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए । उनका अनुसार पुल दाँयाबाँया र्‍याफ ढलानसहित पिल्लर उठाएर आरसीसी स्लाब ढलान समेत भईसकेको छ ।

पछिल्लो समय पुलको भौतिक संरचना निर्माण अन्तिम चरणमा रहेपनि रफिनाका प्रतिनिधि रविन जोशी सम्पर्कविहिन छन् । आयोजनाले पटक पटक ताकेता गरेपनि कम्पनी काममा नफर्किएको आयोजना प्रमुख प्रजापतीले बताए । कागबेनी पुलको स्लाब ढलान गरी उत्तर/दक्षिण भागमा एप्रोज रोडका लागि सटिङ गरिएको भएपनि एप्रोज ढलान हुन सकेको छैन । कम्पनीले दुबैतर्फ करिव २० मिटर जती एप्रोज ढलान गर्न बाँकी छ ।

यस्तै, निर्माणधिन कागबेनी पक्की पुलको सुरुआती चरणमा एप्रोज रोड बिस्तार गर्न उत्तरतर्फको भागमा स्थानीयको जग्गा परेपछि समस्या उत्पन्न भएको थियो । अहिले एप्रोज रोड बिस्तार गर्नदिन स्थानीय जग्गाधनी सहमतीमा आईसकेका छन् ।

उत्तरी चिनसंग ब्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले निर्माण सुरु गरिएको २५ मिटरको पुल ६ वर्ष बितिसक्दा समेत बन्न नसकेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमा भईरहेको ढिलासुस्ती ध्यानआर्कषण भएको जनाएको थियो ।

विभागका महानिर्देशक अर्जुनजंग थापाले आयोजनाको काममा फर्किन निर्माण कम्पनीलाई ७ दिनको अल्टिमेटम दिएका थिए । तर ,विभागले दिएको अल्टिमेटममा समेत निर्माण कम्पनी काममा फर्किएका छैनन् ।

तपाईको प्रतिक्रिया