जसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको खाका कोरे

रिखिराम जिसी २०७९ पुष १८ गते १०:५३

पोखरा ।
शंकरराज पाठक २०२९ सालमा तत्कालीन गण्डकी अञ्चलको अञ्चलाधीश भएर पोखरा आएका थिए । व्यवस्थित सहरीकरणको कार्यभार उनको काँधमा थियो, राजा वीरेन्द्रले प्रशासक बनाएर खटाएका जो थिए ।

पोखरामा पर्यटक धेरै डाक्ने इच्छा पनि राजाले राखेका थिए । व्यवस्थित सहरीकरण र धेरै पर्यटक पोखरा भित्रयाउने विषयमा शंकरराज र राजाबीच संवाद पनि चल्यो । विदेशबाट काठमाडौं नटेकी सिधै पोखरा आउन मिल्ने भए पर्यटक बढ्छन् भन्ने पाठकको मनमा थियो ।

पाठकले तत्कालीन राजा वीरेन्द्रलाई पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भन्ने कुरा दर्साए । ‘महाराजधिराज सरकारसँग विन्ति गरँे । महाराजधिराजले मेरो कुरालाई वास्ता गरिबक्सेन,’ पाठक पुराना दिन सम्झन्छन् । त्यसको १ हप्तापछि राजाले उनलाई बोलाए । पाठकलाई विमानस्थलबारे सोध्दैै राजाले भने, ‘ए तिमीले अन्तर्राष्ट्रिय एयरपोर्ट भनेको के हो, बताऊ त ।’

Advertisement

राजा वीरेन्द्रले गण्डकी अञ्चलाधीश बनाएर पठाएका शंकरराज पाठकले नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने योजना अघि सारेका थिए

पाठकले राजालाई सविस्तारमा कुरा राखे । पाठकको कुरा सुनेपछि राजाले तत्कालीन यातायात मन्त्री प्रयागराज सुवाललाई कुरा राख्न सुझाए । ‘त्यतिबेला प्रयागराज सुवाल मन्त्री हुनुहुन्थ्यो । उहाँलाई कुरा गर त भनेर हुुकुम भयो,’ पाठकले भने । पाठकले मन्त्रीलाई भने । कुरा सुनेपछि मन्त्रीले जग्गा अधिग्रहणका लागि एसियाली विकास बैंक (एडिबी) सँग ऋण मागेर १ करोड पठाइदिए । ‘मैले उहाँलाई कुरा गरेँ । उहाँले केके गरेर पैसा पठाइदिनुभो,’ पाठकले भने ।

Advertisement

‘मन्त्री, भवन विभागका इन्जिनियर र प्राविधिकसहितको टोली जग्गा हेर्न आयो । टोलीले विमानस्थलका लागि उपयुक्त ठाउँ मझेरीपाटन भएको निष्कर्ष निकाल्यो । ‘विमानस्थलका लागि कति जग्गा चाहिन्छ त्यसका लागि काठमाडौंबाट प्राविधिक टिम बोलाएँ । नाप्न लगाएँ,’ उनले भने, ‘कुन ठाउँ राम्रो हुन्छ हेर्नु भनेँ । उहाँहरुले नापेर यो ठाउँ भन्नुभो । अनि चारकिल्ला लगाएर मैले सुरु गरेँ ।’

पाठक बिहान ८ बजे उठ्थे र मझेरीपाटन क्षेत्रमा पुग्थे । ‘त्यसपछि बिहान ८ बजे जान्थेँ, र घरघरमा गएर अधिग्रहण गर्न सम्झाउँथेँ । उहाँहरुलाई के भन्थेँ भन्दा चलेको भाउ दिन्छु धन्दा नमान्नुस्,’ उनले भने । अधिग्रहणका क्रममा विश्वास दिलाउन पाठकले मालपोतका कर्मचारीलाई समेत लैजान्थे ।

पाठक भन्छन्, ‘अधिग्रहणभन्दा बित्तिकै कम पैसा दिन्छन् भन्थे त्यस कारण विश्वास दिलाउन कहिलेकाहीँ मालपोतको मान्छे पनि लगेर जान्थेँ ।’ उनले ३ महिनामा ३१ सय ६ रोपनी अधिग्रहण गरे । त्यो २०३२ सालतिरको कुरा हो ।

उति बेला त्यसरी जग्गा अधिग्रहण भयो । निर्माण सुरु भने धेरैपछि । तर, ऊ बेला त्यतिका जग्गा अधिग्रहण नगरेको भए आज विमानस्थल निर्माण सम्भव थिएन । त्यही योगदानलाई सम्झेर पोखरा महानगरपालिकाले पाठकलाई अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको मौकामा नागरिक अभिनन्दन गरेको छ ।

३२ सालमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहण सकिएको त थियो तर सोही समयमा पृथ्वी राजमार्ग निर्माण पूरा भइसकेको थियो । राजमार्गबाट पोखरा काठमाडौं बस सेवा सञ्चालन हुन थाल्यो । त्यसपछि जहाजबाट पोखरा आउने यात्रुको संख्या घट्न पुग्यो । त्यसपछि भने विमानस्थल निर्माण झनै अलपत्र परेको थियो ।

सन् २०१२ मा आए नेपाल उड्डयन प्राधिकरणले विमानस्थल निर्माणका लागि बोलपत्र आह्वान गरेपछि कार्यान्वयनको चरणमा गएको थियो । सन् २०१४ मा निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएको थियो । सन् २०१६ मा नेपाल सरकार र मित्रराष्ट्र चीन सरकारबिच ऋण सम्झौता भई सन् २०१७ को जुलाई ११ देखि निर्माण प्रारम्भ भयो ।

सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसिईसँग सम्झौता भएको थियो । कोभिडका कारण विमानस्थल निर्माण ढिला गरी सम्पन्न भएको थियो । चिनियाँ ऋण सहयोगको २२ अर्ब रुपैयाँमा बनेको यो विमानस्थलको आइतबार उद्घाटन गरिएको छ ।

सोही अवसरमा विमानस्थलका कल्पनाकार शंकरराज पाठकलाई सम्मान सहित नागरिक अभिनन्दन गरिएको हो । विमानस्थल उद्घाटन गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाठकलाई सम्मान अर्पण गरे ।
गण्डकी अञ्चलाधीश बनेर आउनुअघि शंकरराज क्याम्पस पढाइरहेका थिए ।

त्यसो त उनले अमेरिकाको क्यालिफोर्नियाबाट आर्थिक विकास पढेर आएका थिए । त्यसबारे जानकारी लिएका राजा वीरेन्द्रले नै प्रशासकका रुपमा उनलाई पोखरा पठाए र सहरी विकासको खाका कोर्न भने । राजाले अञ्चलाधीश बनाएसँगै शंकरराजलाई केही गरेर देखाउनु थियो । त्यतिबेला पोखरामा केही उत्पादन हुँदैन्थ्यो ।

‘२०२९ सालमा म अञ्चलाधीश भएर पोखरा आएँ । आएर हेर्दा खेरि पोखरामा केही थिएन । खानेकुरा पनि उत्पादन हुने थिएन । २/४ वटा विदेशी घरमा आएर बस्दिए भने २/४ डलर आउँछ भन्ने मनसाय राख्थे,’ उनले भने ।

सुरुमा उनले पोखरामा पाउरोटी फ्याक्ट्री खोलाए । ‘मैले सबभन्दा पहिले मैले पाउरोटी फ्याक्ट्री सुरु गराएँ । त्यसपछि आइसक्रिमको फ्याक्ट्री सुरु गराएँ, चक्लेटको फ्याक्ट्री सुरु गराएँ,’ उनले भने । पोखरामा व्यवस्थित सहरीकरण स्वरुप पाठकले जग्गा एकीकरण पनि गराए । पोखरा न्युरोड उनकै पालामा उनकै अगुवाइमा व्यवस्थित र फराकिलो बनाइएको हो ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया