महेन्द्रपुलमा आधुनिक सार्वजनिक शौचालय बनाइने

समाधान संवाददाता २०७९ पुष २० गते १७:०३

पोखरा ।
पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह बनाइने भएको छ । यी निर्माणका लागि पोखरा महानगरपालिका र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच मंगलबार सम्झौता भएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गरेका छन् ।

पर्यटन प्रवद्र्धन तथा नागरिकको सेवाका लागि उक्त स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी त्यहाँ रहेका अति जीर्ण भवन विस्थापित गरिएको हो । जनतालाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृहसहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख आचार्यले बताए । त्यहाँ स्तनपान कक्षसमेत बनाइनेछ ।

Advertisement

यो शौचालयमा सित्तैमा सेनेटरी प्याडसमेत उपलब्ध हुनेछ । एनआरएनएकी कार्यकारी अध्यक्ष थापाले पोखरा महानगरपालिकाको महेन्द्रपुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । एनआरएनए पोखरा महानगरपालिकाका विभिन्न स्थानमा यस्तै प्रकारका अभियानमा थप सहकार्यका लागि तयार रहेकोसमेत उनले जनाइन् ।

सम्झौता अनुसार महेन्द्रपुलको उत्तरतर्फ रहेको कि.न. ८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण गरिनेछ । यसमा एनआरएनएले ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्ने छन् ।

Advertisement

करिब १ करोड लागतमा ३ महिनाभित्र निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेना गृहका लागि ६० लाख खर्च एनआरएनए र ४० लाख महानगरपालिकाले बेहोर्ने छन् ।

पोखरा महानगरपालिकामा हाल १५ भन्दा बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालय छन् । महेन्द्रपुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गर्नेछ ।

त्यहाँ संयुक्त राष्ट्र संघमा आबद्ध १ सय ९५ देशसहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाको झन्डासमेत राखिनेछ । पार्कको बीच भागमा नेपालको ठूलो झन्डा राखिनेछ ।

तपाईको प्रतिक्रिया