‘घरेलु तथा साना उद्योगलाई दिगो बनाऔं’

समाधान संवाददाता २०७९ पुष २१ गते ११:१०

पोखरा ।
घरेलु तथा साना उद्योग व्यवस्थित र दिगो रूपमा सञ्चालन गर्न आवश्यक भएको पोखरामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले घरेलु उद्योगलाई दिने अनुदान र उनीहरूलाई कसरी माथि उठाउने भन्नेबारेमा साना उद्योगीसँग मंगलबार गरेको अन्तक्र्रियामा सहभागी वक्ताले उक्त कुरामा जोड दिएका हुन् ।

गण्डकी प्रदेश सरकारका मुख्यसचिव रविराज पन्तले साना व्यवसायीले आफ्नो उत्पादनलाई दिगो राख्न सके प्रदेश तथा केन्द्र सरकारबाट सहयोग प्राप्त हुने बताए । गाउँका बाँझा जमिनलाई सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले पछिल्लो समय कृषि क्षेत्रमा समेत विदेशी लगानी भित्रिएकाले ती बाँझा जमिनमा आधुनिक कृषि प्रणाली लागू गर्न जरुरी भएको बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायले आन्तरिक उत्पादनलाई राज्यले संरक्षण गर्ने नीति ल्याएको बताए । सबै किसानका उत्पादनलाई संकलन गरी एकै ठाउँमा राखेर बजारीकरण गर्न सरकारले काम सुरु गर्न लागेको उनको भनाइ छ ।

Advertisement

प्रदेशस्थित अर्थ मन्त्रालयका सचिव विष्णुप्रसाद शर्माले प्रदेश सरकारले आम्दानीका स्रोतहरू वृद्धि गर्नका लागि यस क्षेत्रमा उत्पादन गर्न सकिने स्थान र स्थानीय पर्यटकीय तथा अन्य सम्भावनाका क्षेत्र पहिचान गर्न जरुरी भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्ने विषयमा सरकारले सोच्न जरुरी भएको बताए । कृषिमा अझै पनि आधुनिकीकरण हुन नसक्नु विडम्बना भएको बताउँदै उहाँले स्थानीय उत्पादनलाई प्राथामिकतामा राख्दै सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया