मुख्यमन्त्रीमा खगराज अधिकारी दाबी पेस गर्ने तयारीमा

सञ्जय रानाभाट २०७९ पुष २४ गते १४:५७

पोखरा ।
एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्री दाबी पेस गर्ने तयारीमा छन् । सत्तारुढ गठबन्धनको तर्फबाट उनले आइतबार वा सोमबार दाबी पेस गर्ने बताइएको छ । अधिकारीलाई मुख्यमन्त्री बनाउने सहमति जुटिसकेको सत्ता गठबन्धनका एक नेताले जानकारी दिएका छन् । उनका अनुसार औपचारिक निर्णय आइतबार बेलुकासम्म आएपछि दाबी पेस गर्न प्रदेश सभा जानेछन् ।

कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका अधिकारी स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसकेका छन् । एमालेले मुख्यमन्त्रीको रूपमा अधिकारीलाई प्रदेशमा उठाएको थियो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार बेलुका ४ बजेसम्म सरकार गठनका लागि समय दिएका छन् । पुस २१ गते प्रदेश प्रमुख गुरुङले ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका थिए ।

Advertisement

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्छ । एमालेसँग २२, माओवादीको ८ सिट छ । केन्द्रीय गठबन्धनका सामेल भएको राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाको गण्डकीमा २ सिट छ । यी तीन वटा दल मिलेर गण्डकीमा ३२ सिट पुग्छ । सत्ता गठबन्धनले आइतबार बेलुकासम्म औपचारिक निर्णय गरे बेलुका नै सरकारको दाबी पेस गर्ने तयारी छ ।

गण्डकीमा एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि अधिकारीलाई भेटेर विश्वासको मत दिने आश्वासन दिएका छन् । यसो भए अधिकारीलाई ३२ सदस्यीयको समर्थन पुग्न सक्छ । प्रदेश सभामा नेपाली कांग्रेकासँग २७ सिट सांसद छन् ।

Advertisement

मन्त्रालय घटाउने योजना
मुख्यमन्त्री भएपछि अधिकारीले मन्त्रालय घटाउने तयारी गरेका छन् । गण्डकीमा अधिकतम १२ मन्त्रालय बनाउन पाइन्छ । तर, अधिकारीले ३ घटाएर ९ मन्त्रालय बनाउने तयारी गरेका छन् ।

सत्ता गठबन्धनको प्रारम्भिक भागबन्डामा प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका ४, माओवादीका ४ र राप्रपाको १ मन्त्रालय बनाउने तयारी थालिएको हो । सत्ता गठबन्धनको भागबन्डामा माओवादीबाट सभामुख पाउने सम्भावना छ । सभामुख बन्न माओवादीका कृष्ण धितालको नाम चर्चामा छ ।

सम्भावित मन्त्री
एमालेबाट सिता सुन्दास, रोशन गाहामगर र राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री हुने पक्कापक्की छ । तर, राप्रपाले सरकारले समर्थन गरेपनि सरकारमा जाने नजाने बारे निर्णय गरिसकेको छैन ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया