प्रदेश सभाको ‘पहिलो बैठक’मै असल संसदीय अभ्यासको रौनक

केशव शरण २०७९ पुष ३० गते १३:४६

(गण्डकी प्रदेश सभामा शुक्रबार सत्ता र प्रतिपक्षका नेताले एकअर्काप्रति आरोपप्रत्यारोप गरेनन् बरु सहकार्यको सन्देशमूलक मन्तव्य दिए


—हात अगाडि बढाउनोस्; हात मिलाउन तयार छौंः सुरेन्द्रराज पाण्डे, प्रतिपक्ष नेता
—एउटा हातमात्रै होइन, दुइटा हात र अंकमालका साथ अगाडि बढ्न तयार छौंः मुखयमन्त्री अधिकारी

केशव शरण
पोखरा ।
राप्रपा सांसद एवं मन्त्री पञ्चराम गुरुङले आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिने प्रतिबद्धता गरे । गुरुङले मुख्यमन्त्रीमाथि थप विश्वास जाहेर गर्दै यो पनि भने, ‘यदि राष्ट्रिय खेलाडी गाउँको क्लबमा आएर खेल्छ भने उसले सजिलैसँग विजय प्राप्त गर्न सक्छ ।’ उनले मुख्यमन्त्री अधिकारी प्रतिनिधि सभाको अनुभवीमात्रै नभई स्वास्थ्य र गृहमन्त्री भइसकेको व्यक्ति प्रदेशमा आएको हुँदा पक्कै सफल हुने संकेत गरेका थिए ।

Advertisement


संसदीय परम्परामा सरकार प्रमुखले विश्वासको मत लिँदा उसले प्रस्ताव राख्ने र अरु सबै दलका नेता वा प्रतिनिधिले पक्ष वा विपक्षमा धारणा राख्ने चलन हुन्छ । सोही अनुसार शुक्रबार गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीको प्रस्तावपछि राप्रपाका सांसद पञ्चराम गुरुङको बोल्ने पालो आयो । उनले मुख्यमन्त्री अधिकारीको प्रस्तावमा समर्थनसहित विश्वासको मत दिने बताए । गुरुङले धर्मग्रन्थ गीताका वाक्य उद्धृत गर्दै कर्म गर्ने तर फलको आशा नगर्ने गरी अघि बढ्ने पनि सुनाए । र, मुख्यमन्त्री अधिकारीलाई राष्ट्रिय खेलाडीको जुन संज्ञा गुरुङले दिएका थिए, प्रदेश सभाको शुक्रबारको बैठक त्यही शब्दावलीले तरंगित पा¥यो ।


जसै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान बोलेपछि प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेको बोल्ने पालो आयो । उनले अघि राप्रपा सांसद गुरुङले दिएको राष्ट्रिय खेलाडीको प्रसंग उप्काए । अनि आफू पनि राष्ट्रिय खेलाडी नै भएको सुनाए । प्रदेश सभामा आउनुअघि राष्ट्रिय सभामा प्रमुख विपक्षी दलको नेता रहिसकेका पाण्डेले भने, ‘सत्ता पक्षमा पनि खेलाडी, राष्ट्रिय खेलाडी नै आउनुभाछ, यति पनि याद गर्नाेस्, डिफेन्डर पनि राष्ट्रिय खेलाडी नै छ, त्यस कारण गोल त गर्नुहोला, र, फल नखेल्नुहोला ।’

Advertisement


तर पाण्डेले प्रदेशको भौतिक विकासको सवालमा, समृद्धिको सवालमा सरकारसँग सहकार्यको चाहना पनि व्यक्त गरे । उनले भने, ‘हामी हरेक कुरामा विरोधका लागि विरोध गर्ने पक्षमा छैनौं ।’


भोलिको सहयात्राको बाटो कसरी तय गर्न चाहनुहुन्छ भन्दै पाण्डेले जिज्ञासा राखे । अनि भने, ‘साथ लिने या नलिने, सहयात्री बनाउने या नबनाउने, सहयात्रा सँगसँगै गर्न चाहने या नचाहने सत्ता पक्षको हातमा छ, हात अगाडि बढाउनोस् हात मिलाउन तयार छौं । तपाईंलाई हात मिलाउनु छैन भने मलाई पनि हात मिलाउनु छैन, तर त्यसको परिणाम यो प्रदेश चाहे राजनीतिक रुपमा होस्, चाहे आर्थिक रुपमा होस् हामी जहाँ थियौं, त्यही रहन्छौं ।’


अरु दलका प्रतिनिधिले बोलिसकेपछि फेरि त्यसको जवाफ दिने पालो मुख्यमन्त्री अधिकारीको नै आयो । पाण्डले निकालेको हात मिलाउने सन्दर्भको जवाफमा अधिकारीले भने, ‘हात मिलाउने, एउटा हातमात्रै होइन, दुइटा हात र अंकमालका साथ अगाडि बढ्न तयार छौं हामी । सत्ता भनेको धेरै ठूलो कुरा होइन, वेटिङ इन गभर्नमेन्टका रुपमा प्रतिपक्षलाई बुझेका छौं, त्यसैले सम्मान गर्छाैं ।’


प्रतिपक्ष नेता पाण्डेले मन दिए पनि मत दिन नसक्ने सुनाएका थिए । ‘मुख्यमन्त्रीज्यूले मत पनि माग्नुभयो, यो यात्रामा मलाई मत दिनोस्, म यतिमात्रै भन्छु, मनचाहिँ दिन सकिने भयो, मतचाहिँ दिन सकिने भएन,’ पाण्डेले भनेका थिए, ‘तर आज विपक्षमा मतदान गर्दैमा सहयात्राको बाटोचाहिँ अवरुद्ध हुँदैन ।’


मुख्यमन्त्री अधिकारीले समृद्ध प्रदेश बनाउनुबाहेक कुनै उद्देश्य नरहेको प्रष्ट्याउँदै भने, ‘हाम्रो प्राथमिकता प्रदेशको समृद्धि र समन्नुत गण्डकी प्रदेशका जनता हो भने हामीले विभाजनका साथ विश्वासको मत नदिनुपर्ने कुरा रहन्छ र मेरा मित्र ? रहँदैन, त्यसैले मनमात्रै होइन मतमा पनि पुनर्विचार गर्न म अनुरोध गर्छु ।’


पाण्डेले सरकारले गर्ने कार्यहरुको गुण र दोषको आधारमा भोलि कतिपय कुरामा सहयोग पनि गर्न सक्ने बताए । अनि भने, ‘कतिपय तपाईंले ल्याएको एजेन्डामा मत पनि दिन सक्ने छौं । तर यो सहयात्रा कसरी अगाडि बढाउनुहुन्छ, तपाईंहरुको काँधमा छ । जिम्मेवारीमा छ । भोलि तपाईंहरुको कार्यले मत पनि दिने ठाउँमा पु¥याउनोस् ।’


मुख्यमन्त्री अधिकारीले प्रतिपक्ष नेता पाण्डेलाई सम्बोधन गर्दै संवैधानिक हिसाबले पनिसँगै बसेर काम गर्नुपर्ने स्मरण गराए । उनले भने, ‘हामीले लोकसेवालाई कसरी प्रभावकारी बनाउने ? अनेकौं आयोग र प्रतिष्ठानहरुलाई कसरी प्रभावकारी बनाउने ? साँच्चै देखिने प्रदेश सरकार कसरी बनाउने ? तपाईं हामी सँगै बसेर काम गर्नुपर्ने छ ।’


‘राष्ट्रिय खेलाडी’ को संज्ञा दिइएको प्रसंगमा भने मुख्यमन्त्री अधिकारीले आफू त्यतातिर नजाने बताए । ‘तर, राष्ट्रिय राजनीतिमा हामीले योगदान गरेर आएकै छौं, तपाईंले पनि गर्नुभएको छ, मैले पनि गरेको छु, ५१ सालको माननीयज्यू पनि हुनुहुन्छ, संविधान सभाका सदस्य भएर संविधान निर्माण गरेर आउनुभएका माननीयज्यूहरु पनि हुनुहुन्छ, तसर्थ गण्डकी प्रदेशको यो क्षमताप्रति, गरिमाप्रति गर्व गर्न चाहन्छु ।’


संसद मूलतः कानुन निर्माणको थलो हो । बहस, छलफल र संवादको थलो हो । अक्सर संसदमा राजनीतिक घोचपेच, आरोपप्रत्यारोप धेरै देखिन्छ । संसदीय अभ्यासको असल परम्परा विपक्षीका कुरा पनि सुन्ने हो । अहसमतिलाई मर्यादित तवरले राख्ने हो । मत नदिए पनि गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने हो । गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको ‘पहिलो बैठक’ मा असल संसदीय अभ्यासको छनक सत्ता र प्रतिपक्ष दुवैले देखाएका छन् ।


माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले उही सदावहार शान्त र शालीन शैलीमा आफ्ना कुरा राखे । उनले पहिलाको सरकारले प्रदेशको जग बसालेको र बाँकी काम अब फत्ते गर्नुपर्ने विचार राखे । गण्डकी प्रदेश सभामा शुक्रबार सत्ता र प्रतिपक्षका नेताहरुले एकअर्काप्रति आरोपप्रत्यारोप गरेनन् बरु सहकार्यको सन्देशमूलक मन्तव्य व्यक्त गरे । मुख्यमन्त्री अधिकारी र प्रतिपक्ष नेता पाण्डेले औपचारिक मन्तव्यपछि पनि उत्तिकै हार्दिकताका साथ कुराकानी गरे ।


विश्वासको मत लिने प्रक्रियाका लागि सभाध्यक्ष मित्रलाल बस्यालले केही समय लिँदा मुख्यमन्त्री अधिकारी र प्रतिपक्ष नेता पाण्डे एकअर्काति फर्किएर कुराकानी गरे । उनीहरुको अनौपचारिक कुराकानी पत्रकार दीर्घसम्म आइपुगेन, तर दुवै हँसमुख र आत्मीयताका साथ संवाद गरिरहेका थिए । त्यही बेला मुख्यमन्त्री अधिकारीको सदवहार हाँसोको आवाजचाहिँ पत्रकार दीर्घासम्म सुनिएको थियो ।


गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दोस्रो बैठक शुक्रबार भएको हो, जुन व्यवहार त पहिलो बैठकजस्तै थियो । पहिलो बैठक पुस १८ गते बसेको थियो । त्यो औपचारिकतामा सीमित भयो । २९ गते शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने कार्यसूची थियो । विश्वासको मतको महत्व छँदै थियो, त्यसमाथि मुख्यमन्त्री र प्रतिपक्ष दलका नेताले व्यक्त गरेका विचारले प्रदेश सभा गर्मायो ।


मुख्यमन्त्री खगराज अधिकारीले आफूलाई विश्वासको मत दिइयोस् भन्ने प्रस्ताव राख्दा लिखित भनाइ राखे । उनले मुख्यमन्त्रीका रुपमा गण्डकी सरकारको नेतृत्व गरिरहँदा सरकारले आगामी दिनमा गर्ने कामहरुको फेहरिस्त र प्रतिबद्धतासहितका योजना सुनाए । उनले यो पनि भने, ‘गरिब किसानको कोखबाट जन्मिएर आज ६१ वर्षसम्म निरन्तरको यात्रामा बेदाग यहाँसम्म उभिन सकेको तपाईंहरुकै प्रेरणा हो, त्यसैले मुख्यमन्त्री पद त्यति ठूलो कुरो होइन, निष्ठा र मेरो इमान सबभन्दा ठूलो कुरा हो, त्यो निष्ठा र इमानमा अबचलित सेती नदीझैं अविरल बगिरहन्छु ।’

केशव शरण

समाधानकर्मी शरण लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिताका उपप्राध्यापक पनि छन् ।

तपाईको प्रतिक्रिया