आन्तरिक उडानकै सबभन्दा ठूलो दुर्घटना

रिखिराम जिसी २०७९ माघ २ गते १०:३९

पोखरा ।
काठमाडौंको त्रिभुवन विमानस्थलबाट बिहान १०ः३३ बजे ४ चालक दलका सदस्य र ६८ यात्रुसहित उडेको यती एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । उक्त जहाज आइतबारै एकपटक पोखरा आई फर्केर फेरि पोखराकै उडान भरेको थियो ।

दोस्रोपटक पोखराका लागि उडेको यतीको ‘एन नाइन—एएनसी’ जहाजको पोखरा विमानस्थलमा अवतरणको समय १०ः५९ बजे थियो । तर, उक्त विमान पोखरा विमानस्थलमा अवतरण हुन नपाउँदै दुर्घटना भयो ।

अवतरणका लागि कम उचाइमा आइरहेका बेला पोखरा महानगरपालिका १७, घारीपाटन नजिकैको आकाशमा उक्त जहाज अस्वाभाविक रुपमा कोल्टे परेको एक स्थानीयले खिचेको भिडियोमा देख्न सकिन्छ । त्यसपछि भने केही सेकेन्डमै भुइँमा बजारिएको ठूलो आवाज सुनियो ।

Advertisement

त्यसलगत्तै धुवाँको मुस्लोसहित ठूलो आगो लाग्यो । आगो लागेलगत्तै हेलिकोप्टरबाट पानी खन्याए पनि निभ्न सकेन । दुर्घटनापछि तत्कालै उद्धार गर्दा पनि जीवित यात्रु भेटिन मुस्किल भएको छ ।

नेपालीमा अहिलेसम्म १ सयभन्दा धेरै जहाज दुर्घटना भइसकेका छन्, तर यति धेरै यात्रु सवार आन्तरिक उडानको जहाज दुर्घटना भएको थिएन,

Advertisement

दुर्घटनाअघि विमानले अतवरणको अनुमति लिइसकेको थियो । ‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ, विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ,’ नेपाल नागरिक उडड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।

यतीको उक्त जहाज अन्तिम पटक १०ः५० बजे पोखरा विमानस्थल टावरको सम्पर्कमा थियो । त्यसपछि भने सम्पर्क हुन सकेन । विमान खसेको ठाउँ पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टि रहेको नेपाली सेनाको ब्यारेक पछाडि हो । नयाँ विमानस्थलतर्फ अवतरण गर्न मोडिएको अवस्थामा विमान घनाबस्ती माथि उडिरहेको थियो ।

‘विमान एक मिनेट मात्रै ढिला दुर्घटना परेको भए पुरानो विमानस्थल माथि खस्ने थियो । एक मिनेट मात्रै थप अघि बढेको भए रामघाट बजार माथि जहाज बजारिने थियो,’ भुलले भने । पाइलटले बस्ती जोगाउन हरसम्भव प्रयास गरेको देखिन्छ । ‘पाइलटले बस्ती जोगाउन विमान सेती खोंचतिर लगेर अर्काे दुर्घटना जोगाउन हरसम्भव प्रयास गरेको देखियो,’ एक प्रत्यक्षदर्शीले भने ।

दुर्घटनामा सेती खोंचमा माछा मार्न गएका दुईजना स्थानीय पनि घाइते भएका छन् । उनीहरु माछा मार्दै गरेको समयमा जहाज सेती खोंचमा खस्दा घाइते भएका हुन् । । उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको थियो ।
उक्त विमानमा चालक दलका सदस्यहरू कमल केसी, अञ्जु खतिवडा, सिर्जना होंगचुन र ओसिन आले मगर थिए ।

जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियाली २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए । आइतबार बेलुकासम्म ६८ जनाको शव फेला परेको थियो ।

आइतबार पोखरामा भएको उक्त जहाज दुर्घटना नेपालमा आन्तरिक उडानकै सबैभन्दा ठूलो दुर्घटना हो । प्राधिकरणका अनुसार आइतबारको घटनाअघि नै नेपालको आन्तरिक उडानमा भएका दुर्घटनामा ३६४ जना यात्रुको जहाज दुर्घटनामा मृत्यु भएको छ ।

यसअघि सबभन्दा धेरै यात्रुको मृत्यु भने सन् २००० मा भएको जहाज दुर्घटनामा भएको थियो । डडेलधुराको जोबुढामा भएको त्यो दुर्घटनामा २५ जना यात्रुको मृत्यु भएको थियो । तर, योपटक भने त्योभन्दा बढी मानवीय क्षति भएको हो ।

नेपालमा भएका जहाज दुर्घटनामा अहिलेसम्म साढे ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । आइतबार भएको दुर्घटनाबाहेक हालसम्मका हवाई दुर्घटनामा ८ सय ४९ को मृत्यु भइसकेको हो । जसमा आन्तरिकतर्फ ३ सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ ३ सय ७५ गरी गरी जम्मा ८ सय ४९ को मृत्यु भएको हो ।

आइतबार भएको यती एयरको एटिआर विमान दुर्घटना यती समूहको २४ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो । गत जेठ १५ गते पछिल्लोपटक मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परेको थियो । यो दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको निधन भएको थियो ।

विमान दुर्घटनाको शोकमा यती एयरलाइन्सले माघ २ गते नियमित उडान नगर्ने भएको छ । एयरलाइन्सले माघ १ गते सूचना प्रकाशित गरेर आपतकालीन र उद्दार उडान बाहेकका सबै उडान रद्द गरेको जानकारी दिएको हो ।

विश्वमा सर्वाधिक विमान दुर्घटना हुने देशमध्ये नेपाल पनि एक हो । पछिल्ला तीन दशकमा २७ भन्दा बढी ठूला विमान दुर्घटना भएका छन् । ८ महिनाअघि २०७९ जेठ १५ गते पनि जोमसोम, मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा परेर २२ जनाको ज्यान गएको थियो । पोखराबाट जोमसोमका लागि उडेको विमान खराब मौसमका कारण बीचमै दुर्घटना भएको थियो ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया