पोखरा विमान दुर्घटनाको वेदना: सुदूरको ठाडी भाकामा

राष्ट्रिय समाचार समिति (रासस) २०७९ माघ ५ गते १४:४४

पोखरा ।
पोखरा बस्साकी, काठमामाणडौँ है उडाइ लैग्यो, पोखरा बस्साकी
सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।।
छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र
उसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्र
बादलभित्र लैग्यो, दुई फन्का पशुपति लायो, बादलभित्र लैग्यो ।
सम्झानामा रहीगया, मान्छे बाईगया, फोटो मात्रै सम्झनामा रैग्या ।
बनाइदियो खाग लासै पनि नचिनिन्या बनाइदियो खाग ।
धर्मी महिनाना माघ, आँशुका नौधरा बग्या धर्मी महिना माघ ।।

चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको बेदना सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा गीत सार्वजनिक गरेका छन् ।

आफुले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति सुदूरपश्चिमको ठाडी भाकामाश्रद्धाञ्जली दिएको उनले बताए । बुधबार राति युट्युवमार्फत भाका सार्वजनिक गरेका भट्टले गीत गाउनुका साथै आफूले लय दिएको समेत बताए ।

Advertisement

सुदूरपश्चिमकै गायक भानुभक्त जोशीले शब्द संकलन गरेका हुन् । गीतमा दुर्घटनामा ज्यान गुमाएका कञ्चनपुरको महेन्द्रनगरका सुस्मा पाण्डेय भट्ट र उनका १५ वर्षीय छोरा स्लकलाई समेत सम्झिएका छन् ।

“यो सांगितिक क्षेत्रमा चर्चा कमाउनभन्दा पनि मुलुक शोकमा डुबेका बेला वेदना र यथार्थ पस्किएका भन्नुहुदै हवाई यात्रा असुरक्षित बन्दै गएको विषय गीतमा समेटेको छु ।” उनले भने ।

Advertisement

उनले विसं २०५२ मा सुदूरपश्चिमको सेतीमा बस दुर्घटना हुँदा उनले वियोगान्त गीत सार्वजनिक गरेको स्मरण गरे। “शोकका बेला मैले ल्याएको यो तेस्रो गीत हो”, देउडा गायक भट्टले भने, “ठाडीमा रमाइलो गीतभन्दा पनि दुःख वेदनाको विषय मात्रै समावेश हुन्छ ।”

कालको खोल भयो नेपालको जहाजको यात्रा कालको खोल भयो ।
रगतको झोलको सेतीका माछाकी लेखा रगतको झोल भयो ।।
संसारै रुवायै, कठैदैव तेरो लिला संसारै रुवाए ।
एमराज खुवाए, एकैचिता इतिजना एमराज खुवाए ।।

यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७२ जनाको ज्यान गएको थियो । अहिले शव आफन्तको जिम्मा लगाउनेक्रम सकिएको छैन् । सोही विमानमा सवार महेन्द्रनगरका आमा/छोराको शव अझै आफन्तले पाउन सकेका छैनन् ।

सेलीरोटी खानाको नहरीको कालो काग सेलरोटी खानाको ।
बहत्तर जनाको एकैच्याहान क्याइबनाए, बहत्तर जनाको ।।
गाइकालै साथ आमा–छोरा कञ्चनपुरका गाइकालै साथ ।
दिउँसै पडि रात, बाटो कुर्‍या घरपरिवार दिउँसै पडि रात ।।

गायक भट्टले राति अपलोड गरेको उक्त भाकालाई हालसम्म ५८ हजार बढीले युट्युवमा हेरिसकेका छन् । गीत सुनेकाले दुःखद घडीमा मार्मिक सिर्जना गरेको भन्दै गायकको प्रशंसासमेत गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया