गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकान्त को हुन् ?

समाधान संवाददाता २०७९ माघ ७ गते २०:१३

पोखरा ।
वरिष्ठ अधिवक्ता श्रीकान्त बराल गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषदले बराललाई उक्त जिम्मेवारीमा नियुक्त गर्ने निर्णय गरेको हो । बरालले उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराम आचार्यसँग शनिबार पद तथा गोपनियताको सपथ लिएका छन् । सपथमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री खगराज अधिकारी पनि उपस्थित थिए ।

मुख्य न्यायाधिवक्ताको जिम्मेवारी प्रदेश सरकारको कानुनी सल्लाहकार हो । नेपालको संविधानले प्रत्येक प्रदेशमा १ जना मुख्य न्यायाधिवक्ता रहने प्रबन्ध गरेको छ । सरकारको कानुनी सल्लाहकार मुख्य न्यायाधिवक्ताले आवश्यक परेका बेला संसदमा समेत उपस्थित भएर जवाफ दिन सक्ने कानुनी व्यवस्था छ । सरकारलाई परेका मुद्दामा प्रतिरक्षा गर्ने र आवश्यक कानुनी सल्लाह दिने जिम्मेवारी मुख्य न्यायाधिवक्ताको हुन्छ ।

पोखरा २६ बरालडाँडा स्थायी घर भएका वरिष्ठ अधिवक्ता बरालले पृथ्वीनारायण क्याम्पसबाट कानुन विषयमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

Advertisement

संविधानसभा अध्यक्ष सुवास नेम्बाङको ल फर्मबाट २०५० सालमा कानुन व्यवसाय अभ्यास थालेका बराल २०५१ सालमा सर्वाेच्च अदालतमा वैतनिक वकिल नियुक्त भएका थिए । ५७ सालमा रमेश बडाल र मनोजकुमार शर्मासँग मिलेर बरालले ल फर्म सुरु गरेका थिए । बडाल यसअघि नै नेपाल सरकारको महान्यायाधिवक्ता भइसकेका हुन् भने शर्मा सर्वाेच्च अदालतको न्यायाधीश छन् ।

२०५७ सालमा सर्वाेच्च बार एसोसिएसन सदस्य बनेका बराल २०६३ देखि ६५ सम्म कार्यसमिति सदस्य भएका थिए । यसै वर्ष वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त बरालले विशेषगरी देवयानी, फौजदारीसहित वाणिज्य, श्रम र बिमासम्बन्धी मुद्दामा पैरवी गर्दै आएका थिए ।

Advertisement

यसअघि नेपाली कांग्र्रेसका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री हुँदा रोहितराज बास्तोला मुख्य न्यायाधिवक्ता थिए । त्यसभन्दा अघि पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीका पालामा डा राजेन्द्र घिमिरे उक्त जिम्मेवारीमा थिए । २५ पुसमा अधिकारी मुख्यमन्त्री भएसँगै बास्तोलाले राजीनामा गरेका थिए । गुरुङ पदमुक्त भएपछि घिमिरेले पनि राजीनामा गरेका थिए ।

तपाईको प्रतिक्रिया