टाइगर कप: गण्डकी, आर्मी र एपिएफ विजयी

समाधान संवाददाता २०७९ माघ ९ गते १०:४५

पोखरा ।
तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९ को उद्घाटन खेलमा पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश विजयी भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई गण्डकीले ३–० को सोझो सेटमा हराएको हो । खेलमा पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २५–२० र तेस्रो सेटमा २५–१६ ले जित निकाल्यो ।

आइतबार नै भएको पुरुषतर्फको अर्को खेलमा साबिक विजेता नेपाल आर्मी सशस्त्र प्रहरीको एपिएफ क्लबसँग ३–१ को सेटमा पराजित भएको छ । नेपाल आर्मीले पहिलो सेट २५–२० ले जित्दै एपिएफलाई दबाबमा राख्ने प्रयास गरे पनि दोस्रो सेटमा भने एपिएफ खेलमा फर्किदैं २५–२२ ले आफ्नो पक्षमा पार्न सफलमात्र भएन; पछिल्ला २ सेट लगातार २६–२४ र २५–१९ ले जित्यो ।

Advertisement

आइतबार भएको महिलातर्फको पहिलो खेलमा नेपाल आर्मीको त्रिभुवन क्लबले सहज जित निकालेको छ । खेलमा होङवान्जी न्यु डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै जितको यात्रा सुरुवात गरेको हो । पहिले सेट जितनजिक रहेको न्यु डायमन्डले आफ्नो अग्रता गुमाउँदा २७–२५ ले पहिलो सेट आर्मीलाई सुम्पिन पुग्यो ।

दोस्रो सेटमा भने आर्मीले २५–१७ ले सहज रुपमा आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट आर्मीले २५–२३ ले जित्दै पहिलो खेल आफ्नो पोल्टामा पार्न सफल भयो ।

Advertisement

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशलाई खेलकुद र स्वास्थ्यको हब बनाउने बताए । ‘गण्डकी प्रदेशमा यसका लागि आवश्यक पूर्वाधार तयार छ । मेडीसिटीको हब बनाउने कुरा होस् वा खेलकुदको यसलाई व्यवस्थित बनाउँदै गण्डकीलाई समृद्ध प्रदेशको रुपमा विकास गर्न चाहन्छौं,’ उनले भने ।

मुख्यमन्त्री अधिकारीले दर्जनौं अस्पताल बनाउनुभन्दा एउटा रंगशाला निर्माण पर्याप्त हुने कुरा उल्लेख गर्दै उनले गण्डकी प्रदेशमा भएका खेल पूर्वाधारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता गरे ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका संयोजक एवं सस्थाका उपाध्यक्ष देवेन्द्र केसी, सचिव डिबी नेपाली लगायतले बोलेका थिए । सो अवसरमा हिमाली सांस्कृतिक परिवार र सैनिक आवासीय माविका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र होङ्गवान्जी न्यु डायमन्ड स्पोर्टस् क्लबको सहभागिता छ ।

पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेश सहभागी छन् ।

तपाईको प्रतिक्रिया