जीवनमा ज्ञान व्यवस्थापन

यामबहादुर थापामगर २०७९ माघ १२ गते १२:१३

यामबहादुर थापामगर ।
जीवनलाई सुखमय यापन गर्नका लागि निरन्तर संघर्ष स्वरुप शिक्षा आर्जन गर्न लागिरहने मानिस हर तरिकाले उपलब्ध हासिल गर्नका लागि परेको हुन्छ । मानिसले सफलताको कथामात्र अध्ययन गर्न खोज्दछ तर असफलताका कथाको जानकारीबाट पनि जिवनमा शिक्षा प्राप्त हुन्छ भन्ने मान्यताको विकास हुन सकेको छैन ।

विद्याको ज्ञानसागरबाट अनुभति लिई समृद्ध समाज निर्माणमा भूमिका खेल्ने संस्थामध्ये विद्यालय लगायत क्याम्पस, सामाजिक संघ, संस्था, सरकारी निकाय, अन्तर्राष्ट्रिय संगठन हुन सक्छ । विद्या विनाको मानिस पशुसरह हुन्छ भन्ने संस्कृतमा प्रसिद्ध भनाइ नै छ ।

त्यसैले वर्तमान समयमा शिक्षा, ज्ञान, विद्या हासिल गरी प्रज्ञा बन्नमा मानिसलाई हरेक क्षेत्रबाट हिजोभन्दा आज सूचना, प्रविधिका माध्यमले सजिलो बनाइदिएको छ । विश्वमा विभिन्न प्रकारका ज्ञानको खोज, अनुसन्धान गरी छोटो समयमा धेरै अव्यक्त ज्ञान हासिल गर्नका लागि मानिसलाई सजिलो भएको छ ।

Advertisement

अल्प विकसित देशका नागरिकको ज्ञानको क्षमता र पहुँच पनि अल्प नै हुने गरेको देखिन्छ


ज्ञान भनेको सूचना, बुझाइ, सीप, शिक्षा र अनुभवबाट पाउने सिकाइको सकारात्मक अनुभूति हो । सैद्धान्तिक र व्यवहारिक बुझाइमा उच्चतम विन्दुको सोचाइमा वैज्ञानिक आधार प्रदान गरी मानव जीवनलाई सुखमय र आनन्दीत बनाउनु नै ज्ञानको शक्ति हो । छोटकरीमा ज्ञान नै शक्ति हो भन्ने पनि गरिन्छ ।

Advertisement

ज्ञानको पहिचान, ज्ञानको खोजी र ज्ञानको सिर्जना सँगसँगै ज्ञानको भण्डारण गरी भविष्यका लागि उपयोग गर्न मिल्ने गरी ज्ञानको संग्रह र ज्ञान प्रकाशनमा निरन्तर सम्पादनसहित लाग्नु तथा मानव जीवनको चेतनाको विकास गर्दै सर्वोकृष्ट प्राणीको मान्यतामा परिकृष्त गर्ने काम भएको छ ।

मानिसमा प्रक्रिया, प्रविधि र संस्थागतमा कठिन र अप्ठयारालाई समाधान गर्दै अनवरत रुपमा समन्वय गरी जानीजानी सजिलो बनाउनका लागि खोज, अनुसन्धान गर्नमा उत्प्रेरित हुनका लागि ज्ञान व्यवस्थापन आवश्यक पर्दछ ।

ज्ञान व्यवस्थापनले प्रणालीगत व्यवस्थापनमा संस्थागत ज्ञानको उद्देश्य र लक्ष्य हासिल गर्नका लागि सृजनात्मक मूल्य र रणनीतिक आवश्यकता पूरा गर्नका लागि लाभदायक र सान्दर्भिक बौद्धिक सम्पत्ति हासिल गरी संगठनात्मक सुधार प्रदर्शन गर्नका लागि सहयोग गर्दछ ।

सन् १९६० अघि ज्ञान व्यवस्थापनका विषयमा पेटर डुकरले ज्ञान सिकाउने संस्थाको रुपमा निन्तर विकास गर्नु नै रहेको भनाइ पाउन सकिन्छ । ज्ञान व्यवस्थापनले ज्ञानको प्रयोग, ज्ञानको सृजना, ज्ञानको पहिचान, ज्ञानको जम्मा तथा संकलन, ज्ञानको समीक्षा, बाँडफाँड र अनुकूल गरी परिपक्वता हासिल गर्ने कार्य गर्दछ ।

ज्ञान व्यवस्थापनले प्रणालीगत तरिकाले ज्ञानको मानिसमा अति उत्तम तरिकाले प्रयोग, बौद्धिक क्षमता विकासका लागि अभ्यस्त वातावरणको विकास, निर्माण नभएका संगठनात्मक पक्षका पूर्वाधार विकास र विस्तार, सामाजिक तथा वैज्ञानिक मूल्य, मान्यतामा आधारित संस्कारको विकास र विस्तार, असल अभ्यासले कुरीति, कुचलन र कुसंस्कारलाई विस्थापन गरी सभ्य समाज निर्माण योगदान गर्छन ।

कोरा मष्तिकलाई सृजनात्मक क्षमता भरिपूर्ण गरी समृद्धी हासिल गराउने, आजीवन निरन्तर रुपमा सकारात्मक परिणामका लागि सिकाईलाई निरन्तर अनिवार्य शर्तका तरिकाले प्रभावकारी बनाउने, निस्कृय र अल्छीपनलाई तिलाञ्जली दिँदै योजनाबद्ध हिसाबले नतिजा आउने क्रियाकलापलाई संस्थागत अभ्यास गर्ने, समसामयिक बौद्धिकता प्रकट गर्नका लागि दृष्टिकोण निर्माणमा बहस, पैरवी चलाउने कार्यका लागि ज्ञान नै शक्ति हो भन्ने भनाइलाई सार्थकता प्रदान गर्नु ज्ञान व्यवस्थापनको उद्देश्य हो ।

संसारमा व्यक्त तथा खोज अनुसन्धान गरिएको ज्ञान २० प्रतिशतमात्र छ भन्ने मान्यता राखिन्छ । विश्वमा भएका ८० प्रतिशत ज्ञान अझै पनि अनविज्ञ भई खोज, अनुसन्धानको प्रधान विषय बनेका छन् । मानिसहरु निरन्तर रुपमा खोज, अनुसन्धानमा लागिरहेको अवस्था विद्यमान वैज्ञानिक युगमा समेत पाउन सकिन्छ ।

मानिसको निजी जीवनमा पनि आफूसँग भएको ज्ञान, सीप, अनुभव २० प्रतिशतमात्र व्यक्त गरी अधिकतम सुखी र आन्नदमय जीवनयापन गरेको हुन्छ । मानिसमा अव्यक्त सुन्दर कल्पना, अमूर्त भविष्यको सपना, सपनाको सागरमा डुबुल्की मार्दा आनन्द आउने ज्ञान प्रशस्त हरेक मानिसमा भए पनि व्यक्त नभईकन मानिसको मृत्युसँगै मरिहेका हुन्छन् ।

ज्ञान व्यवस्थापनको तहलाई सुरुमा तथ्याक तथा सूचना संकलन गर्ने, संगठनमार्फत् जानकारी लिने, सारांशसहित विश्लेषणबाट तर्क प्रस्तुत गर्न सक्ने गरी ज्ञान लिने र निर्णयलाई दिगो रुपमा फराकिलो क्षेत्रमा उपयोगमा ल्याउनका लागि प्रज्ञा वा विज्ञतातर्फ उन्मुख हुने हिसाबले ज्ञान व्यवस्थापनलाई बुझन सकिन्छ ।

बुद्धिमा अभिवृद्धि गरी समृद्ध हुने र निर्वुद्धि (मूर्ख) हुनबाट जोगिने शिक्षा मानव समाजले चाहन्छ । सामाजिक प्राणी, चेतनशील प्राणी, विवेकशील प्राणी भन्ने विशेषतालाई विज्ञानसम्मत सत्य बुझने र विश्वास गर्ने सिकाई र बुझाइका तौरतरिका आर्जन गर्नु नै ज्ञान व्यवस्थापनका माध्यमबाट विद्या हासिल गर्नु हो ।

ज्ञान व्यवस्थापनमा मानव मस्तिकको अनुभव, सिकाइ, भावना, अन्तरदृष्टि, अन्तज्र्ञान, बुद्धि, अवलोकन, आन्तरिक जानकारी, मानव मतलाई बुझ्ने, पुस्तकहरु अध्ययन गर्ने, कागजात, प्रतिवेदन, संस्मरण लगायतलाई बृहत रुपमा मानिसको जीवनमा निरन्तर अभ्यासमा लगि बुद्धिजीवी मर्यादा क्रमको मानवमा नागरिक पर्दछ ।

जीवनलाई जीवन्त, क्रियाशील राख्नका लागि पछिल्लो सूचना र प्रविधिको युगमा ज्ञान व्यवस्थापन महत्वपूर्ण मानिन्छ । नयाँ अभ्यासको पाठ सिक्न र ज्ञान साझेदारी गर्न, आयोजना डिजाइन र कार्यान्वयनमा सुधार गर्न, नीति प्रक्रियालाई प्रभाव पार्न, विद्यार्थीका गतिविधिलाई जागरुकता बढाउन, नीति निर्माताबीच विद्यार्थीलाई शिक्षा प्रदान गरी गुणस्तरीयता र प्रतिस्पर्धी क्षमतामा अभिवृद्धि गर्न, लक्षित वर्गलाई ज्ञान आर्जनमुखी क्रियाकलाप कार्यान्वयन गरी जानकारी दिन, समुदायका साझेदार निर्माण गरी निरन्तर समन्वय गर्न, सफल अनुभव प्रचार गरी सकारात्मक सन्देश प्रवाह गर्नका लागि ज्ञान व्यवस्थापनले भूमिका खेल्दछ ।

जीवनमा विद्यालयका विद्यार्थीको ज्ञान प्रयोगलाई उपयोग गरी प्राप्त सही तथ्यांकलाई सुरक्षित राख्नका लागि, अभिलेख प्रणालीलाई चुस्त बनाउन, आवधिक प्रकाशन, बुलेटिन, प्रतिवेदनलाई सुरक्षित तवरमा चाहिने समयमा प्राप्त गर्नका लागि, विद्यालयका शिक्षकले शिक्षण तथा सम्पादन गरेका असल अभ्यासलाई सुरक्षित रुपमा भण्डारण गर्नका लागि, विद्यालयका तथ्यांकमा सबैको पहँच सुनिश्चित गर्न, शिक्षक तथा विद्यार्थीले विद्यालय छोड्दाको समयमा अनुभव आदानप्रदानलाई संग्रहीत गरी हस्तान्तरण डायरी लेखी संकलन गर्ने, विद्यालयमा भएमा सूचना, पाठयोजना, शिक्षण विधिका अभिलेखलाई आधुनिक प्रविधि मैत्री बनाई कम्प्युटराइज विधिमा लैजाने, विद्यार्थी तथा शिक्षकलाई अनुसन्धान कार्य, स्थलगत अध्ययन गर्नका लागि निरन्तर रुपमा प्रोत्साहन गरी असल अभ्यास प्रयोगमा ल्याउने,जनरल प्रकाशन, आलेख प्रकाशन गरी बौद्धिक र सृजनात्मक क्रियाकलापमा प्राथमिकता दिने, फोटो संकलन गरी सुरक्षित तवरले राख्ने, सिकाइ तथा अनुभवको अन्तरक्रिया गरी आदानप्रदान गर्नका लागि वाचनालय, सेमिनार, गोष्ठी हलको व्यवस्था मिलाउने, शिक्षण गरेका भिडियो डकुमेन्ट्री सृजना गरी प्रचारप्रसार गरी सुरक्षित राख्ने, ज्ञान केन्द्रको निर्माण गरी व्यवस्थापन गर्ने, नयाँ ज्ञानको सिर्जना र भइरहेको ज्ञानको क्षेत्र विस्तारमा योगदान गर्ने, समयमा नै सञ्चार प्रभावकारी ज्ञान व्यवस्थापन हो भन्ने मान्यताको विकास गर्ने, ज्ञान प्रवद्र्धनका लागि संगठनात्मक व्यवहारको विकासमा विशेष ध्यान दिने, व्यक्तिगत तथा व्यक्तित्व विकासका लागि जीवनमा सकारात्मक जीवनशैली विकासका लागि व्यवसायिकता निर्माणमा सहयोग गर्ने, ज्ञान व्यवस्थापनले विद्यालय तथा शिक्षकको कार्ययोजनालाई कति सफलता हासिल गरेको छ भन्ने समाज र व्यक्तिगत जीवनमा प्रतिबिम्ब हुनुपर्ने, प्रशासनिक मूल्य, वित्तीय मूल्य, ऐतिहासिक मूल्य, कानुनी मूल्य, अनुसन्धान तथा सूचनामूलक मूल्यलाई मानिसको जीवनसँग अन्तरसम्बन्धित बनाउनुपर्छ ।

जीवनमा ज्ञान व्यवस्थापनको सिकाइ गर्दा विद्यार्थीको सिकाइ उपलब्धिमा सहज तरिकाले उच्चतम रणनीतिगत सुधार भई सञ्चारका आवश्यक औजार ज्ञान मैत्री बनाई मार्गदर्शन प्रदान गर्नु हो । सिकाइका ढाँचा सिर्जना गरी शिक्षाको ज्योति दिने ज्ञान मन्दिर विद्यालयलाई आन्तरिक सिकाइ र उपलब्धिमा प्रणालीगत सुधार गरी व्यापक शैक्षिक जागरण ल्याउने हिसाबले लाग्नु पर्दछ ।

शिक्षाको लक्ष्य र उद्देश्य प्राप्तिका लागि अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज, सरोकारवालालाई सही तरिकाले व्यवस्थापन गरी शिक्षण सिकाइको उपलब्धिलाई सस्थागत गरी सञ्चार तथा प्रसार गरी सुधार गर्नुपर्ने विषयवस्तुमा सकारात्मक पृष्ठपोषण लिनु छ ।

विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारको जीवनचक्रमा अभिन्न तहमा ज्ञान व्यवस्थापन रहेकाले ज्ञान प्रवाहको क्रियाकलापलाई परिणाममुखी बनाउनुपर्दछ । ज्ञानले सरोकारवाला र विद्यार्थी बीचको सम्बन्ध विस्तारलाई जीवन्तता प्रदान गर्नका लागि अक्सिजनको रुपमा काम गर्दछ । विद्यार्थी र शिक्षकमा शिक्षालाई सिकाइ र नापजाँच पछिको उपलब्धिमा एकरुपता आई समाजको मानव विकास सूचकांकमा सकारात्मक प्रभाव पारेको हुनेछ ।

शिक्षाको राष्ट्रिय नीति, ऐन, उद्देश्यअनुसार उपलब्धि हासिल गर्नका लागि फरक फरक बुझाइका कारण कार्यान्वयनमा अवरोध सृजना हुने भएकाले आम रुपमा समान बुझाई बनाउनका लागि सहयोग गर्ने छ ।
शिक्षा, ज्ञान, बुद्धि, विवेक र चेतनास्तर विकासका लागि साझेदारको बुझाइ तथा सिकाइ व्यवस्थापनमा सुदृढीकरण भएको पाउन सकिन्छ ।

शिक्षण सिकाइ प्रणालीमा सुधार आई नयाँ अवसर, स्थान, रोजगारको सृजना भई समाजमा विकासका ढोका खोलिँदै जानेछन् । शिक्षा प्रणालीमा भएको जटिलता, समस्या, कुण्ठालाई सहजीकरण गरी सजिलो तरिकाले सञ्चार भई ज्ञान व्यवस्थापनको महत्वलाई समुदायमा पहिलो प्राथमिकताका साथ उजागर गर्ने छ । राज्यको संघ, प्रदेश तथा स्थानीय तहरुको नीतिमा प्रभाव र विस्तार भई सरस्वती तथा विद्याको मन्दिर निर्माण गरी अब्बल दक्ष जनशक्ति निर्माण गर्नमा टेवा पुग्नेछ ।

ज्ञान व्यवस्थापनको प्रगाढ सम्बन्धले अनुगमन, मूल्यांकनका तौरतरिकामा सहजता प्रदान हुनेछ । समाजमा रहेका हरेक तह र तप्का नागरिकको बौद्धिक क्षमतामा बढावा भई सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका हुनेछ । विद्यालय भित्रका समाजमा रहेका असल अनुभवलाई लिपिबद्ध गर्न, संग्रह तथा भण्डारण गरी जीवनका ऊर्जाशील समयलाई उत्पादनमुखी र आयआर्जनमुखी आर्थिक क्षेत्रमा रुपान्तरण गर्न सकिन्छ ।

ज्ञान पाउनका लागि ध्यान बस्ने, वनवास बस्ने, ऋषिमुनीको शिष्य बन्ने जस्ता क्रियाकलाप पूर्वीय दर्शनमा भएको पाउन सकिन्छ । ज्ञान व्यवस्थापनका लागि समाजमा धार्मिक ग्रन्थको अध्ययन गरेर ती ग्रन्थमा भएका पात्रहरुको विशेषता, गुणका आधारमा ज्ञानी हुनु पर्दछ भन्ने नेपाली समाजमा धारणा पाइन्छ ।

धार्मिक स्थलमा जम्मा भई आर्जन गर्ने ज्ञान, विद्या, शिक्षाले पनि असल कुराको विस्तार र विकासमा नै ध्यान दिए पनि कहिँकतै प्रभुत्व जमाउनका लागि योजनाबद्ध र आक्रामक तरिकाले प्रस्तुत भएको पाउन सकिन्छ । ज्ञानको प्रचारप्रसारका लागि सर्वसाधारण, नागरिक, विद्यार्थीबीचमा सन्देश प्रवाहका लागि सक्षम नेतृत्व स्थापित गर्ने, ज्ञान तथा शिक्षा क्षेत्रका नयाँ सोचलाई समाचार प्रकाशन, प्रेस कथन, प्रेस लिखित रुपमा प्रेस विज्ञप्तिमार्फत क्रियाकलाप बढाउने गर्नुपर्दछ ।

पत्रकार भ्रमण तथा पत्रकार सम्मेलनमार्फत समेत अनविज्ञलाई जानकारी गराई शिक्षित गराउन सकिन्छ । सार्वजनिक स्थल विद्यालय, भवन, चोकहरुमा व्यवस्थित तरिकाले प्रवद्र्धन गरी पोष्टर निर्माण गर्ने क्रियाकलाप समुदाय स्तर र मानिसको भिडभाड हुने मेला, महोत्सव, सहरहरुमा ज्ञान बढाउन सकिन्छ ।

वैज्ञानिक प्रमाणिक तथ्यमा आधारित नोट, ब्रोसर, प्राविधिक नोटलाई ज्ञानसँग अन्तरसम्बन्धित गरी गहिरो अध्ययनमा लाग्नका लागि सहयोग पुरयाउँछ । सूचना पत्रलाई विशेष समूह तथा वर्गको रुचिलाई नियमित डिजिटल सूचना तथा समाचार प्रकाशन गरी सामाजिक सञ्जालहरुमा ज्ञान व्यवस्थापनको गतिविधि जोड्न सकिन्छ ।

रेडियो कार्यक्रममार्फत लक्षित वर्गसम्म ज्ञानको सार फैलाउनका लागि लगातार नित्य कर्मका साथ लागि पर्नुपर्दछ । ज्ञानका विविध पक्षलाई समेटी नयाँ ज्ञान अवलम्बन गर्नका लागि आकर्षित गर्न वृत्तचित्रले समेत अति सहयोग पुर्‍याएको हुन्छ । पछिल्लो समयमा इन्टरनेटको बढ्दो प्रयोगले गुगलमा सबथोक पाइन्छ भन्ने मान्यताको विकास हुँदै गएको छ ।

वेबसाइट निर्माण गरी खुला रुपमा विश्वव्यापी जगतमा प्रचारप्रसार गर्दै सामाजिक सञ्जालको प्रयोगले समेत ज्ञान व्यवस्थापनलाई लक्षित समुदायमा पुर्‍याउनका लागि सजिलो भएको छ ।अहिले हरेक व्यक्तिको वेबसाइट, इमेल, फेसबुक पेज, सामाजिक सञ्जालमा आबद्ध, टिकटक लगायत युटुब च्यानलहरुले मानिसलाई क्षमता विकास गर्न र ज्ञानको संग्रह गरी व्यवस्थापन गर्न सजिलो भएको छ ।

व्यक्तिगत पुस्तकालयको विकास गर्नुपर्र्ने र पुस्तकलाई मात्र स्थायी साथीको रुपमा अवलम्बन गर्नुपर्ने चिन्तन पुरातन हुँदै गएको छ । अब घरमा वाइफाइजडित कम्प्युटर र मोबाइल भएपछि सारा संसार कोठाभित्र हुन पुगेको छ । ती सूचना र प्रविधिका आधुनिक सामग्री ज्ञान सृजना र विकासमा कति उपयोग भई नेपाली समाज समुन्नत हुनमा उपयोग भएको छ भन्ने बारेमा समीक्षा हुन बाँकी छ । परनिर्भरतामा आधारित जनशक्तिको विकास भई सृजनात्मक क्षमतामा ह्रास भएको आलोचना खेप्न बाध्य भएकाले ज्ञान व्यवस्थापनमा समसायिक सवाल जल्दोबल्दो अवस्थामा उठेको छ ।

फेरि पुँजीवादी चिन्तनको राजनीतिक अर्थव्यवस्थाले विस्तारै प्रभाव पार्दै गएकाले हुने, खाने धनीमानी पुँजीपतिको प्रभुत्व ज्ञानको व्यवस्थापनमा रहेको पाउन सकिन्छ । माक्र्सवादी चिन्तनसहित कम्प्युनिस्टहरुले वकालत गर्ने साम्यवादी, समाजवादी अर्थराजनीतिले पीडित, शोषित, मजदूर र श्रमजीवीहरुको साहित्य लगायत ज्ञान व्यवस्थापनमा कम अभ्यास भएको पाउन सकिन्छ ।

तर विश्वमा अर्थतन्त्रलाई मजबुत बनाउँदै तछाडमछाड गर्दै ज्ञान व्यवस्थापनमा प्रभाव र रवाफ जमाउनमा दिनरात प्रतिस्पर्धीको शैलीमा विश्व जगतमा खुला रुपमा रहेका छन् । विश्व अर्थतन्त्रलाई बौद्धिक सम्पत्तिका आधारमा र कोरा अदक्ष जनशक्तिको श्रम शोषणका आधारमा कम विकसित र विकासोन्मुख राष्ट्रहरुको ज्ञान व्यवस्थापन शैलीमा ह्रास हुँदै गएको पाउन सकिन्छ । अल्प विकसित देशका नागरिकको ज्ञानको क्षमता र पहुँच पनि अल्प नै हुने गरेको पाइन्छ । विश्वमा प्रतिश्पर्धाको गुणात्मक बजारमा कमजोर साबित हुने गरेको देखिन्छ ।

ज्ञान व्यवस्थापनलाई हरेक नेपालीमा सही तरिकाले अवलम्बन गरी पूर्वीय दर्शनको अथाह भण्डारलाई विश्वव्यापी बनाउनमा पहल गरी बौद्धिक सम्पत्तिको विकास र विस्तार गरी आर्थिक लाभ प्राप्त गर्ने योजना बुन्नमा ढिला गर्न हुँदैन । हरेक नेपालीको चाहना देशभक्ति र राष्ट्र प्रेमका साथमा स्वाभिमानीका साथै सबल अर्थतन्त्र विकास गर्नमा बाह्य ऋण र प्रभावलाई न्यूनीकरण गर्नमा लाग्नुको विकल्प नै छैन ।

पराधीन अर्थतन्त्र निर्माणका विरुद्धमा लागि स्वाधीन अर्थतन्त्र निर्माणमा लागिपर्न ज्ञान व्यवस्थापनको सृजना र विकाससहित विस्तारमा लाग्नु पहिलो प्राथमिकता हुनेछ । नेपाली राजनीतिशास्त्रको राजनीतिक संस्कार र संस्कृतिलाई सकारात्मक सोचसहित जनजीविका, जनसवाललाई सम्मानसहित इज्जत गर्ने अमूल्य मतदाताको सम्मान गर्ने परिपाटीको विकास गर्नमा ढिला भएको छ । ज्ञान रुपी प्रवचन, भाषण, घोषणापत्र र राजनीतिक दस्तावेजहरुले परिवर्तित विश्व जगतको सवालमा अब्बल दर्जाको नागरिक निर्माणमा टेवा दिने नीति नभएको भन्न लायक हुनु हुँदैन ।

तपाईको प्रतिक्रिया