व्यवसायीकाे बदमासी: रि–लेबलिङ गरी मूल्य बढाएर बिक्री

समाधान संवाददाता २०७९ माघ १७ गते १०:५२

काठमाडौं ।
पछिल्लो समय बजारमा रिलेबलिङ गरी सामाग्री बेच्ने क्रम बढ्दै गएको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको दैनिक अनुगमनबाट रिलेबलिङ गरेको वा गुणस्तर, परिणाम, मूल्य र नापतौलमा हेरफेर गरी सामाग्री बिक्री गरिरहेको पाइएको हो ।

कोभिड–१९ र रुस–युक्रेनबीचको द्वन्द्वले विश्वव्यापीरुपमा महंगी बढाएको छ । त्यस्तै, नेपालमा पछिल्ला २ वर्षको अवधिमा अधिकांश वस्तुको मूल्य दोब्बरले बढेको छ । त्यसमाथि पनि सरकारले बजार अनुगमनमा हस्तक्षेप गर्न नसक्दा व्यवसायीहरुले एउटै वस्तु थरीथरी मूल्यमा बिक्री गरिरहेका छन् ।

बढ्दो महंगीको समयमा व्यवसायीहरुले तोकेको मूल्यभन्दा बढीमा बिक्री गर्दा झनै उपभोक्ताहरु मारमा छन् । त्यस्तै, विभागको तथ्यांक अनुसार पनि बजारमा व्यवसायीहरुले मनपरी मूल्य राखेर बिक्री गरिरहेको उल्लेख गर्छ ।

Advertisement

चालु आर्थिक वर्षको माघ १५ गतेसम्म गरेको अनुगमनबाट पनि व्यवसायीहरुले वस्तुहरुको मूल्य अत्याधिक बढाएर बिक्री वितरण गरिरहेको पाइएको विभागले जनाएको छ ।

गत साउनदेखि माघ १५ गतेसम्म विभागले गरेको अनुगमनबाट करिब दुई दर्जन व्यवसायीले रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरी बिक्री गरेको पाइएको हो ।

Advertisement

विभागअनुसार उक्त कम्पनी तथा व्यवसायीहरुलाई २ लाखदेखि ३ लाखसम्म जरिवाना गरेको छ । विभागले करिब ७ महिनामा गरेको अनुगमनबाट २२ वटा फर्म तथा कम्पनीहरुले विभिन्न क्रियाकलापमा संलग्न भई नियमविपरित कारोबार गरेको विभागको ठहर छ । त्यसमा डिपार्टमेन्ट स्टोरदेखि औषधी पसलसमेत समावेश छन् ।

विभागले गरेको अनुगमनबाट नियम विपरित कारोबार गर्ने २२ वटा कम्पनीलाई ४८ लाख जरिवाना गरेको छ । विभागका निर्देशक एवं प्रवक्ता होनाथ भट्टराईले बजारमा व्यवसायीले रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेकाले प्रत्येक कम्पनीलाई २ लाखदेखि ३ लाखसम्म जरिवाना गरेको बताए ।

उनका अनुसार उक्त विभिन्न कसुरमा व्यवसायीलाई जरिवाना गरेपनि अधिकांश व्यवसायीले मूल्य फरक गरेर बेचेको पाइएको हो ।

विभागले दैनिक १० वटासम्म कम्पनी तथा फर्म अनुगमन गर्दै आएको छ । सोही क्रममा नियम विपरीत कारोबार गर्ने कारबाही तथा जरिवाना गर्दै आएको छ ।

विभागले गत साउनमा मात्रै ४ वटा कम्पनी तथा व्यवसायीले रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको कसुरमा ४ वटा व्यवसायीलाई ९ लाख जरिवाना गरेको थियो ।

जरिवाना गरेकोमा बनेपाको खाद्य वस्तु बिक्री गर्ने व्यवसायी, कागेश्वरी मनोहरा नगरपालिकामा पानी बिक्री गर्ने व्यवसायी र गोकर्णेश्वर नगरपालिकाकै पानी बिक्री गर्ने व्यवसायीलाई २/२ लाख रुपैयाँ जरिवाना गरेको थियो ।

त्यस्तै, सोही महिनामा गोकर्णेश्वर ६ मा कस्मे बिक्री गर्ने व्यवसायीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको थियो ।
त्यसैगरी, भदौमा भने २ वटा कम्पनीलाई सोही प्रकारको कसुरमा २/२ लाख रुपैयाँ जरिवाना गरेको तथ्यांकले उल्लेख गर्छ । भदौमा इमाडोलको खाद्य स्टोर र मध्यपुर थिमिमा रहेको डिपार्टमेन्ट स्टोरलाई जरिवाना गरेको हो ।

असोजमा लाजिम्पाटको होटल तथा रेष्टुरेन्टलाई २ लाख जरिवाना गरेको थियो । साथै, विभागले सतुंगलस्थित गोदार बालकुमारी केन्द्रिय फिससँगै रहेको गोदाममा प्रिमियर ग्लोस इनामेल ४ लिटर, स्टोक ग्रे १ लिटर, सेतो प्रमियरइनामेल आदि लगायतका रङहरुमा पुरानो मूल्य मेटाइ नयाँ मूल्य राखेको पाइएकाले कारोबार रोक्का वा शिलबन्दी गरिएको विभागको भनाइ छ ।

त्यस्तै, सोही महिनामा सतुंगलस्थित एसियन पेन्टको गो उपभोग्य म्याद गुज्रेको र रिलेबलिङ गरेको पाइएको र बालकुमारीमा पनि म्याद गुज्रेको करिब ५ हजार थान पेन्ट ८२ लाख ५५ हजार ५४५ बराबरको र रिलेबलिङ गरेको २ हजार ६०९ थान अर्थात् २६ लाख २४ हजार ९३७ रुपैयाँ बराबरको रङ जफल गरी व्यवसायीलाई नियन्त्रणमा लिएको थियो ।

कात्तिकमा टोखा र बालकुमारीमा रहेको दुई व्यवसायीलाई ३/३ लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त कम्पनीहरुले अनुचित व्यापारिक क्रियाकलापमा गरेकाले ३ लाखसम्म जरिवाना गरेको विभागको भनाइ छ ।

त्यस्तै, शंखमुलको होटल तथा रेस्टुरेन्टलाई ३ लाख रुपैयाँ र हात्तिसारको खाद्य स्टोरलाई रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको कसुरमा २ लाख जरिवाना गरेको छ ।

सोह्रखुट्टेको होटल तथा रेष्टुरेन्टलाई र सानेपामा विविध सामग्री बेच्ने व्यवसायीलाई २/२ लाख रुपैयाँ र बानेश्वरमा रहेको रेडिमेड तथा थान कपडालाई ३ लाख रुपैयाँ र लगनखेलमा रहेको खाद्य स्टोरलाई ३/३ लाख रुपैयाँ जरिवाना गरेको छन् ।

नेपालटारको खाद्य वस्तु बिक्री गर्ने स्टोर, भैसीपाटीको हार्डवेयर, सानेपाको निर्माण सामग्री, बागबजार आयुर्वेदिक स्टोर र महाराजगञ्जमा विविध सामग्री बेच्ने व्यवसायीलाई रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेका २/२ लाख रुपैयाँ जरिवाना गरेका छन् ।

तपाईको प्रतिक्रिया