नियन्त्रित अस्थिरताकै क्रमिकताः रवि प्रकरण

मदन भण्डारी २०७९ माघ १८ गते १२:१९

मदन भण्डारी ।

नालापानी युद्ध नेपाली इतिहासको सबैभन्दा स्मरणीय घटना हो । अंग्रेज शक्तिको भेललाई छेक्न नेपाली नरनारीले देखाएको वीरता विश्व इतिहासमै उल्लेख्य मानिन्छ । यहाँ त्यो भयावहताको वर्णन अभीष्ट होइन, वीरांगनाका नामसम्म नपाइनुको पीडाको उद्वोध हो ।

मुटु त्यतिखेर चसक्क भयो, जतिखेर रवि लामिछाने प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि आन्दोलन सडकमा पोखिन थाल्यो । वीर–वीरांगनाहरु देखिए । रविकै जस्तो अरुको पनि नागरिकता मुद्दाको फैसला तुरुन्त हुनुपर्ने माग उठे ।

Advertisement

अनुराधा कोइराला, सुजाता जोस्ट, राजेन्द्र महतो आदि नाम उच्चारित भए । ५ हजारको हत्या स्वीकार्ने प्रधानमन्त्री प्रचण्ड आरोपित भए । आन्दोलनकारीका शब्द शब्दले मुटु छोयो । आँखा रसाए । रविको माया होइन, टीठ हो; उनीमाथिको अन्याय नदेखिनु अन्धता हो । केही गर्छ कि भन्ने भएपछि उनीमाथि अन्याय थोपरियो ।

प्रधानमन्त्री प्रचण्डले संघीयता विरोधीमाथि कारवाही गरिने भन्नासाथ सर्वोच्चको फैसला आयो । रविले चुनाव क्षेत्र रोजेपछि प्रचण्डले त्यहाँबाट लखेटिनु परेको थियो । रवि वलशाली हुँदा क्यान्टोन्मेन्ट समेतका अनेक फाइल खोलिने कुराले पुराना सत्ताका मालिकहरु पीपलका पातझैँ हल्लिए ।

Advertisement

प्रधानमन्त्रीमा ५ वर्ष टिक्ने प्रचण्डको दाउले ढोक्सो रित्तै हुने, जालमा माछा नपर्ने छाँट देखिँदै छ

घाँटीभन्दा ठूलो हाड निल्ने जमर्कोमै प्रधानमन्त्री प्रचण्डले ‘राष्ट्रिय सरकार’ को वकालत गरेका छन् । माओवादी नेताले राष्ट्रपति निर्वाचनमा एमालेसितको मितेरी तोडिने सम्भावना व्यक्त गरेपछि छिट्टै केही गरिहाल्नुपर्ने हालतमा पुराना सत्ताका ठालूहरु पुगे ।

नानीका बा, केपीबा र देउवा सबैमाथि खनिँदै आएका रवि लामिछाने उपप्रधान र गृहमन्त्री भएपछि त्यो खतराको घण्टी थन्क्याइहाल्नु पर्ने विदेशी प्रभुको आदेश आएको अनुमान गर्न सकिन्छ । रवि चडेको रुख ढालिहाल्नुपर्ने अवस्थाबारे कोत पर्वको कथालाई सम्झिनैपर्ने हुन्छ ।

कोतको रातिको भेलामा जंगबहादुर ठूलै रक्तपात मच्चाइहाल्न दच्किरहेका थिए तर अभिमानसिंह ३ सय जवान फौजी लिएर आए । फत्तेजंग र अभिमानसिंहबीच केही वार्ता भयो । अभिमानसिंह आफ्नो फौजसँग मिसिन हिँडे, पालेले छेक्यो । क्रोधले अभिमानसिंह गर्जिए । जंगबहादुरले मौका छोपे ।

उनको संकेतमा नायक युद्धवीर अधिकारीले एक सिपाइँको बन्दुक खोसेर अभिमानसिंहको छातीमा संगीन रोपिदिए, छातीबाट रगतको फोहोरा छुट्यो । ढल्दाढल्दै रगतको पञ्जाछाप भित्तामा लाउँदै अभिमानसिंह चिच्याए, ‘गगसिंहलाई मार्ने जंगे नै हो !’

जंगबहादुरले अभिमानलाई तत्काल ठेगान लगाउन हतार गरेजस्तै सर्वोच्चको संगीन रविको छातीमा रोपियो, प्राणपखेरु बाँकी छ; स्वास्थ्यलाभ गर्न सक्छन् । मिलिजुली बस्ने, बाँडीचँुडी खाने हुन सक्छ । अझै आँट देखाए उनलाई अरु कसुर उक्काएर सत्ताका पुराना खेलाडीले जेल पनि कोच्न सक्छन् । सम्भावना बराबर छ, भव्य चुनाव जितेर छिट्टै प्रधानमन्त्री हुन पनि सक्छन् ।

विदेशी शक्ति नेपालमा नियन्त्रित अस्थिरता कायम राख्न खोज्छ । प्रकाश दाहाल र सुशील कोइरालाको भूत छ । नेताको टाउकोमा हेगको तरवार घुमिरहेकै छ । सधैँ संक्रमणको अवस्था, सधैँको नियन्त्रित अस्थिरता । जनयुद्ध, जनआन्दोलन, सँविधानसभा, वाम एकता, गठबन्धन । अब राष्ट्रिय सरकार रे ।

रविको पार्टीले १२ लाख भोट पाएको हो । एक हप्तामात्रै ५० हजार मान्छे काठमाण्डूमा थुप्रिएर आन्दोलन मच्चाए कति सत्तासीनहरुले विदेश पलायन गर्लान् ? जल्ने होइन, अब जलाउने बेला आइसकेको छ । बाबुको हत्यापछि खड्गविक्रम शाहले, ‘भाइ हो, ज्यानै फाल्नु छ भने बहादुरीका साथ फालौँ !’ भनेका थिए । जनतामा त्यस्तो स्वस्फूर्तता बढदैछ । श्रीलंकालीभन्दा नेपाली कम्ती नहोलान् ।

वैदेशिक हस्तक्षेपकै डरले सचेत भई ०३३ सालमा बिपी कोइराला राजासँग घाँटी जोड्दै भारत प्रवासबाट नेपाल फर्केका हुन् । ०३७ सालमा निर्दल–बहुदलको फाटो नदेखाउन उनले जनमत संग्रहको परिणामलाई स्वीकार गरेका थिए । पछि, नेपाली कांग्रेस ठ्याक्कै उल्टो बाटोमा हिँड्यो ।

कम्युनिस्ट नामधारी घूस खान अति सिपालु भए, सिकाउने गुरु कांग्रेस हो । ०१५ सालमा जनतालाई ‘तेरो घरमा काङ्ग्रेस पसोस् !’ भन्न बाध्य पार्ने काङ्ग्रेसले ०४७ पछि राजा महेन्द्रद्वारा निर्मित सारा उद्योगधन्दा बेचेर खायो ।

टनकपुर बेचिँदा मदन भण्डारीले सम्झाए, उनैको हत्या भयो । हत्याकै राजनीतिले सत्तामा पुगेर बाघ बनेको माओवादी ‘पुनः मुषिको भवः’ को अवस्थामा छ । प्रचण्ड स्वयं भिजेको मूसोझैँ घरि देउवाको, घरि ओलीको जुत्ताभित्र छिरेर आफूलाई सुरक्षित ठानिरहेका छन् । उनको भक्तिगानमा बाँचेकाहरु मरिचझैँ चाउरिँदै छन् ।

प्रधानमन्त्रीमा ५ जर्ष टिक्ने प्रचण्डको दाउले ढोक्सो रित्तै हुने, जालमा माछा नपर्ने छाँट देखिँदै छ । प्रचण्डपथको अवलम्बनका कारण भूकम्पले चर्केको घरमा गगन–विश्वहरु छट्पटाइृरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई उपसभामुखमा भोट मागिँदा तोसिमा कार्कीले धेरैलाई भावविह्वल बनाइन् ।

नेताका भाषणले मन थाकेको, कान पाकेको बेला तोसिमाको बोली चिनीभन्दा गुलियो थियो तर कुराले च्यूरा भिज्दैन । अब जनताको भागको चिउरा भिजाउन दूधदही, खुदो वा मोही नभए पनि शुद्ध पानी उपलब्ध हुनुपर्छ । नियन्त्रित अस्थिरता चिर्ने उपाय सत्तामा होइन, सडकमै भटिएला ।

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया