अक्षर अक्षरमा देशलाई लेखक कृति पुरस्कार

समाधान संवाददाता २०७९ माघ २२ गते १०:४६

पोखरा ।
मुक्तककार दीपक समीपको कृति अक्षर अक्षरमा देशलाई यस वर्षको नेपाली लेखक कृति पुरस्कार प्रदान गरिएको छ । नेपाली लेखक संघका केन्द्रीय अध्यक्षसमेत रहेका कवि तीर्थ श्रेष्ठले कृति लेखक समीपलाई शनिबार उक्त पुरस्कार अर्पण गरे ।

नेपाली लेखक संघ कास्कीद्वारा स्थापित उक्त पुरस्कारका लागि डा. ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित छनोट समितिले समीपको कृति छनोट गरेको थियो । २०७८ सालमा गण्डकी प्रदेशभित्रका लेखकबाट प्रकाशित कृतिमध्येबाट उक्त कृतिलाई समितिले पुरस्कारका निम्ति छनोट गरेको हो ।

४० को दशकको उत्तरार्धबाट नेपाली साहित्य साधनामा निरन्तर क्रियाशील समीपको यो दोस्रो प्रकाशित कृति हो । यसअघि उनको ‘भूगोलभित्र नकोरिएको देश’ गजलसंग्रह २०६२ सालमा प्रकाशित भएको थियो ।

Advertisement

उक्त कृतिले पनि सुदूर पश्चिमाञ्चल गजल मञ्चले प्रदान गर्ने गजल साधना सम्मान २०६३ पाएको थियो । गीत, गजल, मुक्तक, कविता र आख्यान लेखनमा सक्रिय समीप पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्षसमेत हुन् ।

डा. ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिका सदस्यमा डा. भूमिराज बस्ताकोटी, ईशा शाह, संस्थाका अध्यक्ष सञ्जीव पौडेल र सचिव कमल पौडेल ‘अथक’ थिए ।

Advertisement

२०७८ सालमा प्रकाशित कृति संकलन गरी कात्तिक २७ गते बसेको कार्यसमिति बैठकले उत्कृष्ट ७ कृति छनोट गरी अन्तिम निर्णयका लागि पुरस्कार छनोट समितिसमक्ष सिफारिस गरेको थियो । पुरस्कार छनोट समितिले कृतिहरूको विस्तृत अध्ययन गरी मंसिर २९ गते बसेको बैठकबाट समीपको कृतिलाई पुरस्कारका लागि छनोट गर्ने निर्णय गरिएको थियो ।

गणेश शर्माको अध्यक्षतामा रहेको कार्यसमितिले २०७५ सालमा स्थापना गरेको सो पुरस्कारको राशि २५ हजार छ । यस पुरस्कारबाट हालसम्म सरोज अर्यालद्वारा लिखित उपन्यास ‘दिव्याञ्जलि’ (२०७५) र डा. मतिप्रसाद ढकालद्वारा लिखित कृति ‘महाभारतमा के छ ?’ (२०७७) पुरस्कृत भइसकेका छन् । संघ कास्की अध्यक्ष सञ्जीव पौडेलका अनुसार २०७६ सालको पुरस्कार भने कोभिड १९ का कारण प्रदान गर्न सकिएको थिएन ।

पुरस्कार अर्पण समारोहमा शनिबार डा. अधिकारीले मुक्तक विधा पुरस्कृत हुँदा मुक्तकप्रेमी सबै पुरस्कृत भएको महसुस गरिएको सुनाए । उनले मुक्तक विधा हेपिएको तर निकै चोटिलो विधा भएको धारणा राखे । उनले मुक्तककार समीपको कलमबाट अब आख्यान लेखिने अपेक्षा पनि गरे ।

कवि तीर्थ श्रेष्ठले लेखक हुनु भनेको कुनै अमूक पार्टीको छहारीमा बस्नु नभएको विचार राखे । उनले नेपाली लेखक संघ प्रजातन्त्रमा आस्था राख्ने लेखकको साझा चौतारी भए पनि पार्टीका अमर्यादित, अशिष्टताबारे लेख्न स्वतन्त्र हुने बताए ।

‘जुनसुकै राज्यको चरित्रमा निरंकुशताको रङ कतै न कतै हुन्छ,’ उनले भने, ‘लोक कल्याणकारी भनिने राज्यको चरित्र पनि जलप लगाएजस्तो मात्रै हुन्छ, सत्ताको स्थायी प्रतिपक्ष भनेको लेखक हो, लेखकले सत्ताको आड भरोसा लिन खोज्यो भने लेखकीय धर्मबाट विचलित हुन्छ ।’

पुरस्कृत व्यक्तित्व समीपले आफूलाई पोखराले नै मुक्तककार, गीतकार, गजलकार र लेखकका रुपमा हुर्काएको र त्यसको जस पोखरेली युवा सांस्कृतिक परिवार लगायत संस्थाका साहित्यिक गतिविधिलाई जाने बताए ।

उनले भने, ‘युवा मञ्चले मेरो मुक्तक नछापिदिएको भए मुक्तक लेखिरहने थिइनँ होला, दिदी सरस्वती श्रेष्ठ सरुले कविता लेख्न नघच्घच्याएको भए कविता लेखिरहने थिइनँ होला ।’

सोही अवसरमा प्राडा भूपति ढकाल कमललाई पनि सम्मान गरिएको थियो । प्रजातान्त्रिक आन्दोलनमा लेखनका माध्यमबाट पुर्‍याएको योगदानको कदर गर्दै संघले ढकाललाई सम्मान गरेको हो ।

उनले आफू बिरामी भएको हुँदा नेपाली राजनीतिक र सीमाको इतिहास तथा नेपाली कांग्रेसको उज्यालो इतिहास लेख्न असमर्थ भइरहेको सुनाए । संघ कास्कीका अध्यक्ष सञ्जीव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष गणेश शर्मा, सचिव कमल पौडेल अथक लगायतले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया