जानीनजानी घिसार्दै जिन्दगी !

मदन भण्डारी २०७९ माघ २३ गते १२:०८

को भन्छ दाँतले हाँस्छ
हाँस्ने त आँतले हो !
जरोटुप्पोले ३ सय १ औँ एकता दिवसको भेटघाटकै बेला १२१ औँ सम जयन्तीबारे छलफल चलायो । ‘ईन्द्र–हुमा पुरस्कार पनि वितरण गर्नुपर्ने !’ असफल गौतमको प्रस्तावमा प्राज्ञ कृष्ण पौडेलले माघ २४ सम जयन्तीकै सन्दर्भ पारिँदा ठीक होला कि भने । ‘छुट्टीको दिन परेन, मान्छे जम्मा गर्नै गाह्राे…!’ गौतमजी अलि विरक्तिए । म नपढेको कुरा फिटिक्कै जान्दिनँ, कमनसेन्स साह्रै कमजोर छ । पढेकै कुरा भट्याएँ :

गौरी शंकरको नजिक चुचुरा उठ्छन् अरु वामन !
मैले स्वर उचालेरै भनेँ, ‘आ–आफ्नो गच्छे अनुसार गर्ने हो । जति जम्मा हुन सकिन्छ, त्यतिले गरौँ । बर्खामा भ्यागुता टर्टराउनु प्रकृतिको पापीपना होइन !’
माघ २४ का लागि मोटामोटी कुरा टुंगियो ।

‘मेरी हजुरआमा–हजुरबा नियमित रामायण वाचन गर्थे । झारफुक बाटै हजुरबाले अलिकति सामाजिक मर्यादा हासिल गरेका थिए । घोडताप्रे, निरमसी, पाँचऔँले घोटेर बिरामी बच्चालाई खान दिन्थे । मलाई पनि रामराज्यको चस्को पर्‍यो ।

Advertisement

साम्यवादीको सँगतमा पुगेँ तर….!’ लामाचौरका सविन जिसीले थोरै बोलेर धेरै भनेका थिए । उनले जरोटुप्पोलाई पत्याए । एउटा सभामा संस्थालाई १ लाख ११ हजार रुपैयाँ प्रदान गरे । ‘इन्द्र–हुमा पुरस्कार’ र अक्षयकोष स्थापना गरियो ।

प्रेमप्रसादहरुलाई आत्मदाह गर्न वाध्य पारिन्छ, तैपनि नेपालमा सहृदयी मान्छे निमिट्यान्न भइसकेका छैनन् ।

Advertisement

सानो धन राशिको पहिलो पुरस्कार कहाँ चढाउने ? पात्रको छनौट गर्न ०७९ माघ ०७ गते बैठक बसी प्राज्ञ कृष्णप्रसाद पौडेलको संयोजकत्वमा समिति गठनका लागि प्राज्ञ हरिदेवी कोइराला र प्राडा कुसुमाकर न्यौपानेलाई अनुरोध गर्ने निर्णय भयो ।

१०/१२ दिनको सल्लाहपछि, कृष्ण सरका अनुसार डा. पुष्पा केसी भण्डारीलाई छनोट गरिएको सूचना पाइयो । पङ्तिकारको परिचय थिएन । ‘केही सुसेली, केही सुस्केरा’ कविता र ‘सँगम’ मुक्तक सञ्चयन प्रकाशित भन्ने जानकारी थियो । ‘जिन्दगीको दोसाँधमा’ मुक्तक सङ्ग्रह पढिएको हो । केही पाना फेरि पल्टाएँ :

नेपाली समय भनेर ढिलो गर्न छोड्नुपर्छ अब
समयभन्दा पहिल्यै पुगी रुढीलाई तोड्नुपर्छ अब
आफ्नो श्रम र सीपलाई खर्चेर यही देशमा
विकासको मूलधारमा देशलाई जोड्नुपर्छ अब

योग गुरु रामदेव ‘इङ्लिस टाइम् इज प्रोपर टाइम्, इण्डियन टाइम् इज बिफोर टाइम्’ भन्दै कार्यक्रममा ५ मिनटअगाडि नै पुग्छन् । सरल शब्दका छरितो मुक्तक छ्याङ्ङ बुझिन्छ । बुझ्दाबुझ्दै अलि नबुझिएझैँ लाग्छ । कवित्वको मर्म त्यही हो । मूलधार केलाई भनिएको होला ? डा. पुष्पा केसी भण्डारीले आफ्नो राजनीतिक आस्था लुकाएकी छैनन् । आफ्नो आस्था बँचाएरै गण्डकी प्रदेश सांसद भएकी हुन् । यसैले यहाँ ‘मूलधार’ ले मन कुत्कुतिन्छ ।

पाठकले आ–आफ्नै दृष्टिकोणले अर्थ ग्रहण गर्ने हो, यद्यपि मैत्रीपूर्ण छलफल उचित हुन्छ । नेपालमा राजनीतिको मूलधार कहिल्यै खुट्टिएन । कम्युनिष्टहरुले कुन बाटो ? मूल बाटो ! का अनेक लफ्फाजी फैल्याए । वाम एकता र कम्युनिष्ट एकताका उट्पट्याङ् गफ प्रशस्त हाँकिए, हाँकिदैछ । आफूलाई नेपाली राजनीतिको मूलधार बताउने काङ्ग्रेस बिपीधार छाडेर प्रचण्डपथ अवलम्बन गर्दै बिचल्लीमा फँसेको छ । मुलुक बिल्लिबाठमा छ ।

लहलहैमा लागेर विदेश जानेका अनेक दुर्गति हामीले बुझेका छौँ । उता बोटमा पैसा टिप्न पाइने सपना, यता विपनाको ध्वँस । प्रेमप्रसादहरुलाई आत्मदाह गर्न वाध्य पारिन्छ, तैपनि नेपालमा सहृदयी मान्छे निमिट्यान्न भइसकेका छैनन् । वयोवृद्ध श्याम बस्नेतले राम्ररी सुत्नै नसकेको उल्लेख गरे । संसदको कुर्शीमा बस्ने अन्धाका उल्लेख गरे । आत्मदाहको आगोको उज्यालोको उल्लेख गरे । डा. पुष्पा केसी उज्यालोकै उपासनामा लेख्छिन् :

पैसा फल्ने बोट भए ल्याई यतै सार भन्छु
कामै गरी खाने भए पसिना यतै झार भन्छु
लहलहैमा लागि तिमी बिदेश जाने भए
जानुभन्दा पहिले नै हामीलाई मार भन्छु !

नारीपुरुष बराबरी भनिए पनि नारी शक्ति अब्बल हुन्छ । शिव गोरु चढ्दा पार्वती बाघ चड्छिन् । पुरुषले नसकेको युद्ध महिषसुर वधिनीले लड्छीन्। अपशोच, आज नारी शक्तिको चरम दुरुपयोग छ । श्रीमान्को सिन्दूर बहिष्कार गरेर परपुरुषको चरणधूली स्वीकार्नेको सङ्ख्या बढ्दो छ । ‘इक चिम्टी सिन्दूरकी कीमत तू क्या जाने… !’ हिन्दी फिल्मी डाइलग छ । पुष्पा लेख्छिन् :

केही फूल र केही पाती सजाएकी छु
दियोमा तेल थपेर बाती सजाएकी छु
देउता त पत्थरलाई हुन देऊ प्रिय
तिमीलाई त मैले सिउँदोमाथि सजाएकी छु !

बुझिन्छ, डा. पुष्पाले सीतारामको आदर्श बुझकी छन् । उर्मीला र यशोधराका कर्तव्य परायणता बुझेकी छन् । एैँगेल्सको एकनिष्ठ पतिपत्नीको दर्शन बुझेकी छन् । फूलपाती र दियोबातीको महत्व बुझेकी छन् । नेपाली समाज बुझेकी छन् । हेमजा साहित्य प्रतिष्ठानको सभामा डा. पुष्पाले भनेकी थिइन्, ‘जानीनजानी जिन्दगीलाई घिसार्दै मैले यहाँसम्म ल्याएँ !’ यही सच्चाई मान्छेको महानता हो । जीवन र जगतका कैयौँ रहस्य जान्दानजान्दै हामी अस्ताउँछौँ । अस्ताउनु अगाडि कति ईमानमा बाँच्न सकिन्छ, त्यसैलाई जिन्दगी भनिन्छ ।

डा. तोसिमा कार्कीले भोलि के गर्छन्, त्यतिखेरै हिसाब हुन्छ, डा. पुष्पा केसीले आज के गर्दैछन्; त्यहीँ न्याय गर्नु निसाफ हुन्छ । निसाफप्रियता मानव आत्माको स्वभाव हो । पुष्पाजी माथि कुनै अन्याय भइराखेको भन्न खोजिएको होइन, योग्यताको कदर गर्ने संस्कार निर्माणको ध्येय हो । संस्थाले गौरीशँकरको छेउमै वामन ठडिन खोजेको हो ।

जरोटुप्पो विशुद्ध जनस्तरको संस्था, सरकारी पैसोको छेलाखेलो गर्नेहरुसँग कुनै प्रतिस्पर्धा छैन । हरिदेवी समेतको समितिको छनोटलाई पुष्पाजीले इन्कार नगर्नु होला भन्ने हाम्रो आशामा तुषारापात भएन । व्यक्ति होइन, संस्था पुरस्कृत भएकोमा हामी पुलकित छौँ ।

‘ग्रामीण विकासमा सामुदायिक वनको भूमिका: लैँगिक दृष्टिकोणबाट विश्लेषण’ विषयमा विद्यावारिधि गरेकी भण्डारी पढालेखा मान्छे मात्रै होइनन्, साँस्कृतिक मान्छे हुन् । साँचो अर्थको सामाजिक काममा दत्तचित्त छन् । ‘ओम् शिवशक्ति कल्याणी केन्द्र’ स्थापना गरेर वालवालिकालाई सहयोग र मार्गदर्शन गरिरहेकी भण्डारी समले भनेजस्तै दाँतले होइन, आँतले हाँस्छिन् ।

सुखद दाम्पत्यमा रमाइरहेकी भण्डारी असल आमाको भूमिकालाई महिमा मण्डित गरिरहेकी छन् । जिन्दगी नामको बोझ होइन, मायाले जीवन बोकेर हिँडिरहेकी डा. पुष्पा केसी भण्डारीको खुसी बाँडेर खुसी बटुल्ने सीप प्रशंसनीय लाग्छ ।

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया