घर जलिरह्यो, मान्छे मूकदर्शक

मुस्ताङमा एउटा पनि दमकल छैन । आगलागी हुँदा मानवीय प्रयत्नले ननिभे हेरिबस्नुको विकल्प छैन ।

रिखिराम जिसी २०७९ माघ २५ गते १०:४१

रिखिराम जिसी, पोखरा ।
मुस्ताङको थासाङ गाउँपालिका ३ कालोपानी, लेतेमा गत माघ २२ गते अचानक विद्युत सर्ट हुँदा घरमा आगलागी भयो । आगलागीबाट ढकबहादुर तुलाचनको २ तले घर पूर्ण रुपमा क्षति भयो । दिउँसोमा लागेको आगो निभाउन स्थानीयले बाल्टी तथा पाइपबाट पानी हाले । तर आगो निभेन । २ घर खरानी भए ।

लेते मुस्ताङको विकट गाउँ होइन । मुस्ताङको चल्तीकै बजार हो । जिल्लाको प्रमुख सडक किनारको घरमा लागेको आगो निभाउन अग्रसरता नभएको होइन, जिल्लामा दमकलै नभएको हो । मुस्ताङका ५ वटै पालिकाममध्ये कसैसँग पनि दमकल छैन ।

मुस्ताङबाट निर्वाचित प्रदेश सभा सांसद विकल शेरचन आगो नियन्त्रण गर्न दमकल नहुँदा समस्या परेको बताउँछन् । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकको शून्य समयमा शेरचनले मुस्ताङ जिल्लाभर एउटा पनि दमकल नभएको जानकारी दिए । सांसद शेरचन भने, ‘विपद न्यूनीकरण गर्न आवश्यक काम हामीले गर्न सकिरहेका छैनौं ।’

Advertisement

जिल्ला विपद व्यवस्थापन समिति अध्यक्षसमेत रहेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी आगो लागेको १० मिनेटमा उक्त स्थलमा पुगिसकेका थिए । तर, यति बेलासम्म आगो ‘आउट अफ कन्ट्रोल’ भइसकेको थियो । सुरक्षाकर्मी र स्थानीयबाट आगो निभाउन नसकिने अवस्थामा पुगिसकेको थियो ।

उनीहरुले हेरेर बस्नेबाहेक केही गर्न सकेनन् । ‘म आगो लागेको १० मिनेटमै त्यहाँ पुगेको थिएँ । तर, दमकल थिएन । जसले गर्दा आगो नियन्त्रणमा आउन सकेन । बजार क्षेत्रमै आगलागी भएकाले दमकल भएको भए कम क्षति हुन्थ्यो, दमकल नै चाहिने रहेछ भन्ने महसुस भयो,’ केसीले सुनाए ।

Advertisement

मुस्ताङमा ५ गाउँपालिका छन् । सबै पालिकामा दमकलको व्यवस्था गर्ने उद्देश्यले प्रदेश नम्बर १ ले ‘एक पालिका, एक दमकल’ नीति नै लिएको छ । तर, गण्डकी प्रदेशले यसबारे कुनै निर्णय गरेको छैन । ५ स्थानीय तह रहेको मुस्ताङ जिल्ला नै दमकलविहीन छ ।

मुस्ताङमा दमकलका लागि गाउँपालिका अध्यक्ष र सांसदलाई कुरा उठाएको प्रजिअ केसीले सुनाए । ‘आगो लागेको बेला गाउँपालिका अध्यक्ष पनि आउनुभएको थियो, मैले भनेको थिएँ, हेर्नु न अध्यक्षज्यू एउटा दमकलचाहिँ चाहिने रहेछ, कोसँग के गर्नुपरे गरौंला भनेर कुरा उठाएको थिएँ । सबै माननीयज्यूलाई दमकलचाहिँ एकदमै आवश्यक छ मुस्ताङ जिल्ला भनेर आवाज उठाएको छु,’ उनले भने ।

सरोकारवालासँग बैठक बसी दमकलको व्यवस्था गर्ने प्रस्ताव गर्ने प्रजिअ केसीले बताए । उनले भने, ‘५ वटा पालिका छन, सबैले किन्न सकिँदैन भने मिलेर किनौं न भनेर कुरा उठाएको छु । केही दिनमा अध्यक्ष तथा सरोकारवालासँग बैठक बस्ने प्लान बनाएको छु, त्यसमा प्रस्ताव राख्ने विचार गरेको छु ।’

थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन गाउँपालिकाले दमकलको सट्टा पावरफुल पम्पहरु राख्न सहज हुने बताउँछन् । ‘गाउँपालिकाले दमकल लिएर राखेर पनि काम छैन, कतिपय अफरोड छ, जान नै समय लाग्छ । त्यो भन्दा त पावरफुल पम्पहरु राखेर धेरै अग्ला घर हुँदैनन् । गाउँपालिकाले ट्याक्टर राख्न सक्छ ।

त्यो हिसाबले सोच्ने हो कि भन्ने लागिरहेको छ किनभने ठाउँ अनुसारका सामान खरिद गर्नुपर्‍यो । वडामा ट्याक्टर राखेर पम्प राख्न सकिन्छ । त्यसको मूल्य पनि कम पर्छ । त्यसले अर्को काम पनि गर्छ । पानी सप्लाई गर्ने पनि काम लाग्छ,’ अध्यक्ष गौचनले भने, ‘दमकल किने पनि राखेरै बिग्रिने अवस्था हुन्छ ।’

तार सर्ट हुँदा आगलागी
तार सर्ट हुँदा आगलागी भएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । ‘तार सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रजिअ केसीले भने । गण्डकी प्रदेश सभा सदस्य शेरचनले प्रदेश सभा बैठकमा पुरानो वाइरिङका कारण भएको भन्दै वाइरिङ परिवर्तन गर्न निर्देशन दिन माग गरे ।

‘मुस्ताङमा जुन पुराना वाइरिङ छ, त्यसलाई विस्थापित गरी नयाँ वाइरिङ गर्न गराउन नेपाल विद्युत प्राधिकरण गण्डकी प्रदेश कार्यालयलाई निर्देशन दिनुहुन पनि हार्दिक अनुरोध गर्दछु,’ उनले भने ।

अधिकांश आगलागीमा विद्युट सर्ट नै कारण देखिएको सांसद शेरचनले बताए । उनले भने, ‘केही समयअघि फर्निचरमा आगलागी भएको थियो ।

मेरै छिमेकमा दुकानमा आगलागी भएको थियो, प्राय हेर्दाखेरि विद्युत सर्ट भएर आगलागी भएको देखिन्छ । प्रदेश सभामा पनि कुरा उठाएको छु । उहाँहरुले कसरी हेर्नुपर्छ, त्यसमा भर पर्छ ।’

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया